विश्व शान्ति स्थापनार्थ खटिने शान्ति सैनिकहरुले पुर्‍याएको योगदान स्मरण
2022-05-28 16:14:56CRI
Share with:

विश्व शान्ति स्थापनार्थ खटिने शान्ति सैनिकहरुले पुर्‍याएको योगदानको स्मरण र कदर स्वरुप मनाइने ‘इन्टरनेशनल डे अफ यूएन पिसकिपिङ–२०२२’ नेपाली सेनाले शुक्रबार मनाएको छ । पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा गृहमन्त्री बालकृष्ण खाँणसहित संयुक्त राष्ट्रसंघीय शान्ति कार्यमा संलग्न हुने सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरुको सहभागितामा विशेष कार्यक्रमको आयोजना गरिएको थियो । 

उक्त कार्यक्रममा विश्व शान्ति स्थापनाको सिलसिलामा ज्यान गुमाएका शान्ति सैनिकहरुको सम्मानमा शान्ति स्मारकमा माल्यार्पण गरिएको थियो । प्रधान सेनापति प्रभुराम शर्माले संयुक्त राष्ट्रसंघको झण्डोत्तोलन गरेका थिए । यस क्रममा गृहमन्त्री खाँणले यस वर्ष शान्ति स्थापना कार्यमा निःस्वार्थ भावनाले बहादुरीपूर्वक कार्य गरी विशेष योगदान पुर्‍याएका दुई जनालाई प्रशंसापत्रसहित सम्मान गर्नुभयो। साथै ज्यान गुमाउनेका परिवारलाई पनि सम्मानित गरियो। 

कार्यक्रममा गृहमन्त्री खाँणले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले विश्व शान्ति स्थापनामा खटिएदेखि नै प्रदर्शन गरेको पेशागत दक्षता एवं समर्पणको प्रशंसा गर्नुभयो। उहाँले तीनवटै सुरक्षा निकायका शान्ति सैनिकहरुले शान्ति स्थापनामा पुर्‍याएको योगदानका लागि विगत र हालका नेतृत्वहरुलाई बधाइ दिनुभयो। प्रधान सेनापति शर्माले हालका दिनमा यूएन मिसनहरुमा बढ्दो सुरक्षा जटिलतालाई दृष्टिगत गरी शान्ति सैनिकहरुको पेशागत क्षमता अभिवृद्धि गर्नु अहिलेको आवश्यकता रहेको धारणा व्यक्त गर्नुभयो।