बालबालिकाका लागि ८४ लाख मात्रा खोप आउने
2022-05-28 16:19:59CRI
Share with:

पाँच वर्षभन्दा माथिका बालबालिकालाई लगाउन मिल्ने कोरोनाविरुद्धको खोप आउने भएको छ। कोभ्याक्स सुविधाअन्र्तगत अमेरिका सरकारले ८४ लाख मात्रा खोप फाइजर अनुदानमा दिन लागेको हो। स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख डा. सुरेन्द्र चौरसियाले पाँच वर्षदेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई लगाउन मिल्ने खोप आउन लागेको जानकारी दिनुभयो । उहाँले जुन महिनाभित्र खोप आउने बताउनुभयो। 

डा. चौरसियाले ०.५ एमएल पेडियाट्रिक डोज निःशुल्क उपलव्ध गराउने निश्चित भइसकेको बताउनुभयो । सरकाले यसअघि ११ वर्षसम्मका बालबालिकालाई ८४ लाख मात्रा खोप खरिद गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्याएको थियो । सो खोप खरिदका लागि छ अर्बभन्दा बढी खर्च लाग्दथ्यो । बालबालिकाहरुलाई खोप खरीद गरेरै भए पनि लगाउने योजनामा सरकार लागि सकेको थियो तर अमेरिकी सरकारले नेपाली बालबालिकालाई निशुल्क खोप उपलव्ध गराउने भएपछि खरिद प्रक्रिया स्थगित गरिएको चौरसियाको भनाइ छ ।

उहाँले नेपालको भण्डारण क्षमता मिलाएर चरणवद्ध रुपमा पेडियाट्रिक डोज खोप प्राप्त हुने बताउनुभयो । चौरसियाले असारभित्रै बालबालिकालाई पहिलो मात्रा खोप लगाउन सुरु गर्ने जानकारी दिनुभयो । फाइजर खोप माइनस ७० डिग्री तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ। हाल नेपालमा १५-२० लाख डोज मात्रै भण्डारण क्षमता रहेको गोरखापत्र अनलाइनले जनाएको छ।