चीनसँग जोडिएको किमाथाङ्का नाका खुल्ने प्रतीक्षामा स्थानीयवासी
2022-05-29 17:15:45CRI
Share with:

दुई वर्षअघि कोरोना सङ्क्रमण सुरु भएसँगै बन्द गरिएको किमाथाङ्का नाका अझै खुलेको छैन । चीनसँगको नेपालको नाका नखुल्दा भोटखोलाका नागरिकको दिनचर्यामा समस्या परेको छ । लामो समयसम्म नाका नखुल्दा मुख्यगरी भोटखोला गाउँपालिका–१ किमाथाङ्का, २ च्याम्ताङ र ३ हुङ्गुङका नागरिकलाई समस्या परेको हो । गोरखापत्र अनलाइनका अनुसार सङ्खुवासभा जिल्ला सदरमुकाम खाँदबारीसँग सडक सञ्जाल नजोडिएको त्यस क्षेत्रका बासिन्दा खाद्यान्न, लत्ताकपडालगायतका सामग्रीका लागि चीनको तिब्बतको भर पर्दै आएका थिए। 

किमाथाङ्का र तिब्बतको देन्दाङबीचको कामुखोलाको पुलमा नाका बन्द भएपछि सामान आयात गर्न समस्या भएको स्थानीयको भनाइ छ। भोटखोलाका नागरिक रोजगारीका लागि समेत तिब्बत जाने गरेका थिए । काम गर्न बिहान सीमापारि (तिब्बत) जाने र साँझ फर्किने गरेका भोटखोलावासीका लागि आम्दानीको स्रोतसमेत पनि अहिले बन्द भएको छ। यसरी आफूहरू अहिले कामविहीन र बेखर्ची भएको भोटखोला गाउँपालिका–१ किमाथाङ्काका थुदोक भोटेले बताउनुभयो। नाका बन्द भएपछि किमाथाङ्का र आसपासको व्यापार व्यवसाय पनि बन्द भएको छ। तिब्बतबाट सामान ल्याएर बिक्री गर्ने किमाथाङ्काका सबै पसल अहिले बन्द भएको भोटखोला गाउँपालिका–१ किमाथाङ्काका वडाध्यक्ष नुर्बु च्यावाले बताउनुभयो। नाका बन्द हुनुअघि चीन सरकारले नै तिब्बतको चाँगा बजारमा निर्माण गरिदिएको एक व्यापारिक भवनबाट खाद्यान्न सामग्री नेपाल पनि निर्यात गरिन्थ्यो।

सोही व्यापारिक भवनमा सञ्चालन गरिएको पसलबाट नेपाल सामान भिœयाएर किमाथाङ्का क्षेत्रमा बिक्री वितरण गरिँदै आएको थियो। नाका बन्द भएपछि ती पसल बन्द भएको वडाध्यक्ष च्यावाले जानकारी दिनुभयो। कोरोना महामारीपछि बन्द भएको नाका तत्काल खोलेर जीवनयापनमा सहजता ल्याउनुपर्ने भोटखोलावासीको माग छ । पछिल्लो समय कोरोना सङ्क्रमण दरसमेत न्यून हुँदै आएकाले नाका खोल्न नेपाल सरकारले पहल गर्नुपर्ने भोटखोला गाउँपालिका अध्यक्ष वाङ्छेदर भोटेको माग छ । किमाथाङ्का नाका खोल्न जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गरिए पनि हालसम्म कुनै प्रतिक्रिया नआएको अध्यक्ष भोटेको गुनासो छ । 

नाका खोल्न पाँच महिनाअघि नै गृह मन्त्रालयलाई पत्राचार गरिसकिएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले बताउनुभयो । नाका खोल्न परराष्ट्र, अर्थ र उद्योग तथा वाणिज्य मन्त्रालयको पनि भूमिका रहने भएकाले उक्त मन्त्रालयहरूको समेत ध्यानाकर्षण हुनेगरी पत्राचार गरिएको प्रजिअ खतिवडाले जानकारी दिनुभयो ।

जिल्ला सदरमुकाम खाँदबारीबाट किमाथाङ्का १६२ किलोमिटरको दूरीमा पर्छ। भोटखोलाको वरुण दोभानसम्म कच्ची सडकबाट यातायात सञ्चालन भए पनि वडा नम्बर २ च्याम्ताङदेखि घुङगाप्पासम्म सडकको ट्र्याक नखुल्दा ढुवानीमा समस्या परेको छ । उक्त खण्डको १०.५ किलोमिटरको सडक ट्र्याक खोल्न नेपाली सेनाले काम गरिरहेको छ ।