कालीगण्डकीको बिजुली प्रतियुनिट १९ रुपियाँले भारतमा विक्री सुरु
2022-06-05 17:02:05cri
Share with:

नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको १४४ मेगावाट जडित क्षमताको कालीगण्डकी ए विद्युतगृहबाट उत्पादित विद्युत शनिबार राती १२ बजेदेखि भारत निर्यात सुरु भएको छ। नेपाल विद्युत प्राधिकरणले कालीगण्डकी विद्युतगृहबाट उत्पादित विद्युत निर्यात सुरु गरेको हो।

प्राधिकरणले विद्युत भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)मा बिहीबारबाट त्रिशूली र देवीघाट जलविद्युगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा करिब ३९ मेगावाट विद्युत निर्यात गरिरहेको छ। कालीगण्डकीको पनि सुरु भएसँगै प्राधिकरणले १७७.७ मेगावाट विद्युत भारत निर्यात गर्न सुरु गरेको छ। कालीगण्डकी ए को १४० मेगावाट, त्रिशूलीको २३.२ मेगावाट र देवीघाटको १४.५ मेगावाट विद्युत भारत निर्यात थालिएको गोरखापत्र अनलाइनले लेखेको छ।

वर्षातसँगै नदीनालामा पानीको वहाव बढेर विद्युतगृहहरु पूर्ण क्षमतामा चल्न थालेपछि आन्तरिक रुपमा खपत गरी अतिरिक्त भएको ऊर्जालाई प्राधिकरणले भारत निर्यात गरेको हो। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार रातिबाट निर्यात हुने विद्युतको औसत विक्री मूल्य प्रतियुनिट ११.२ रुपियाँ (७ भारु) रहेको बताउनुभयो। ‘अधिकतम दर प्रतियुनिट १९ रुपियाँ(१२ भारु), न्यूनतम २.३८ रुपियाँ (१.४९ भारु) र औसत दर ११.२ रुपियाँ (७ भारु) छ’, घिसिङले भन्नुभयो।

आइएक्समा २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ। त्यसैले हरेक ब्ल्कको मूल्य फरक फरक हुने गरेको छ।

प्रधिकरणले अधिकतक प्रतियुनिट मूल्य १९.२ रुपियाँ (१२ भारु) र न्यूनतम ४.०८ रुपियाँ (२.५५ भारु)मा विद्युत विक्री गरेको छ। औसतम मूल्य ११.४८ रुपियाँ (७.१८ भारु) रहेको छ। 

नेपालले भारतीय भारतीय ऊर्जा एक्सचेन्ज मार्केटमा प्रतिस्पर्धी दरमा ३६४ मेगावाटसम्म विद्युत विक्री गर्न अनुमति पाएको छ।