आरोही र पदयात्रीले नाम्चे गुल्जार
2022-06-05 17:03:05cri
Share with:

कोरोना कहर कम भएसँगै मुलुकको प्रमुख पर्यटकीय स्थल नाम्चे बजार विस्तारै गुल्जार भएको छ । कोरोना महामारीका कारण दुई वर्ष ठप्प रहेको पर्यटन क्षेत्रमा चहलपहल बढेसँगै नाम्चे बजार पनि पुरानै लयमा फर्किन लागेको हो । अहिले जताततै पर्यटक देखिन्छन् । कोरोनाले दुई वर्षदेखि सुस्ताएको पर्यटन व्यवसायले गति लिएपछि व्यवसायी पनि खुसी छन् । समुद्र सतहदेखि ३ हजार ४ सय ४० मिटरको उचाइमा पर्ने नाम्चे सगरमाथा जाने प्रवेशद्वार हो । यस वर्षको पर्यटकीय मौसममा विदेशी पर्यटकको संख्या उल्लेख्य बढेको छ ।

दुई वर्षदेखि बर्सेनि मुस्किलले ३ हजार पर्यटक आएको नाम्चेमा यस वर्ष चैतमा मात्रै ८ सय ११ नेपाली, सार्क मुलुकका ३ सय ४ र तेस्रो मुलुकका ४ हजार ५१ पर्यटक आएको सगरमाथा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी विष्णु रोकायाले बताउनुभएको छ । वैशाखमा नेपाली ८ सय ९०, सार्क मुलुकका १ हजार १ सय ७१ र तेस्रो मुलुकका ६ हजार पर्यटक आएका थिए । जेठ १५ गतेसम्म ७ सय नेपाली र ३ हजार बढी विदेशी पर्यटक नाम्चे आएको उहाँले बताउनुभयो ।

चालु आवको १० महिनामा नेपाली ४ हजार ७ सय ६८, सार्क मुलुकका ३ हजार १ सय ४ र विदेशी १४ हजार ९ सय ३२ पर्यटक आएको रोकायाले बताउनुभयो । ‘पर्यटक वृद्धिले यहाँ सबैलाई ऊर्जा थपेको छ,’ महामारीले गर्दा लगभग दुई वर्ष पसल बन्द गरेर काठमाडौं गएका नाम्चेका व्यवसायीले पनि फर्किएर अहिले पुनः व्यवसाय सुरु गरिरहेका छन् ।

वसन्तयामको सुरुआतसँगै खुम्बु क्षेत्रमा आरोही र पदयात्रीको चहलपहल बढेको नाम्चे होटलकी सञ्चालक आङमाया शेर्पाले बताउनुभयो । ‘गएको दुई वर्ष दिन काट्नै गाह्रो भयो,’ अहिले विदेशी पर्यटकको भीड देख्दा खुसीको सीमै छैन।

प्रायः सगरमाथा क्षेत्रमा पुग्ने आरोही र पदयात्रीका लागि आराम गर्ने स्थल नाम्चे बजार हो । केही आरोही खुम्बु आइसफलतिर लागिसकेका छन् भने केही आउने क्रम जारी छ । ‘अहिले पर्यटक आगमनले लय समातेको छ,’ व्यवसायी राजु पुलामी मगरले भन्नुभयो । हेलिकोप्टरलाई पर्यटक ओसार्न भ्याइनभ्याइ भएको तेन्जिङ हिलारी विमानस्थल नागरिक उड्डयन कार्यालय लुक्लाका प्रमुख द्वारिकानारायण अछामीले बताउनुभयो ।

सगरमाथा र गोक्यो आरोहणमा जानेका लागि नाम्चे मुख्य बिसौनी हो । त्यस्तै रेन्जो र छो भन्ज्याङ हुँदै पदयात्रामा निस्कनेका लागि पनि नाम्चे पुग्नुपर्छ ।

अहिले नाम्चे सगरमाथा आरोही तथा सगरमाथा बेस क्यापसम्म जाने पर्यटकको किनमेलको थलोका रूपमा समेत परिचित हुँदै गएको छ। अग्ला हिमालले घेरिएर फेदीमा चिटिक्क परेर रहेको सुन्दर बस्ती नाम्चे आउने पदयात्री र आरोहीलाई शेर्पा जातिको संस्कृतिले पनि उस्तै आकर्षित गरिरहेको कान्तिपुर दैनिकले लेखेको छ। नाम्चेमा खुलेका ७० भन्दा बढी होटल एवं लजले पर्यटकलाई छनोटको सुविधा दिएका छन् ।