नेपालको आर्थिक वृद्धिदर आउँदो आर्थिक वर्ष ४.१ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण
2022-06-09 16:06:29CRI
Share with:

विश्व बैंकले सन् २०२२/२३ का लागि नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत बराबर मात्रै रहने प्रक्षेपण सार्वजनिक गरेको छ । ग्लोबल इकोनोमिक प्रस्पेक्ट प्रतिवेदन सार्वजनिक गर्दै विश्व बैंकले यसअघिको प्रक्षेपणभन्दा ०.२ प्रतिशत बिन्दुले अनुमान घटाएको हो । त्यस्तै अर्को वर्ष २०२३/२४ का लागि नेपालले ५.८ प्रतिशतको वृद्धिदर हासिल गर्ने अनुमान गरिएको छ ।

 

नेपालले भने आर्थिक वर्ष २०७८/७९ का लागि ५.८४ र आर्थिक वर्ष २०७९/८० का लागि ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ । विश्व बैंकले सबै दक्षिण एसियाली मुलुकहरुको आर्थिक वृद्धिदर यसअघि गत जनवरीमा अनुमान गरेको भन्दा कम रहने जनाएको छ ।

 

सन् २०२२ का लागि दक्षिण एसियाली क्षेत्रमा ७.६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने यसअघिको प्रक्षेपणलाई ०.८ प्रतिशत बिन्दुले घटाएर ६.८ प्रतिशत कायम गरेको छ । आर्थिक वृद्धिदर घट्ने अनुमानका पछाडि बाह्य क्षेत्रलाई मुख्य कारण मानिएको छ । बढ्दै गएको चालु खाता घाटा, खाद्यान्न लगायत उपभोग्य सामग्रीको मूल्य वृद्धिजस्ता कारणहरुलाई चुनौतीका रुपमा हेरिएको छ । त्यस्तै कृषि क्षेत्रमा रासायनिक मलको अभाव, गहुँलगायत खाद्यान्न वस्तुहरुको आपूर्तिमा अवरोध, ऊर्जा संकटजस्ता कारणले आर्थिक वृद्धिदर कम हुने ठानिएको छ ।

 

सन् २०२३/२४ मा भारतले भने ७.१ प्रतिशत आर्थिक वृद्धि कायम गर्ने अनुमान गरिएको छ । त्यसैगरी बंगलादेशले ६.९, भुटानले ६.७ र पाकिस्तानले ४ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने विश्व बैंकको प्रक्षेपण छ । दक्षिण एसियामा सबैभन्दा राम्रो आर्थिक वृद्धिदर माल्दिभ्सको हुने अनुमान गरिएको छ । माल्दिभ्सले सन् २०२२ मा ७.७, २०२३ मा १०.२ र २०२४ मा ७.१ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने अनुमान गरिएको छ । नेपाल, पाकिस्तान र श्रीलंकाले भोगिरहेको विदेशी मुद्रा सञ्चितिको चापलाई पनि यस क्षेत्रको आर्थिक वृद्धिदर न्यून हुनुमा चुनौतीका रुपमा हेरिएको छ ।