पूर्वी नेपालको ताप्लेजुङमा औद्योगिक तथा पर्यटन मेला सुरु
2022-06-10 18:26:55CRI
Share with:

ताप्लेजुङमा पाँचदिने औद्योगिक तथा पर्यटन मेला बिहीबार सुरु भएको छ। स्थानीय उत्पादनको प्रवर्धन, वृद्धि विकास र बजारीकरण गर्ने मुख्य उद्देश्यले आयोजना गरिएको मेला बिहीबारदेखि सुरु भएको हो ।

 

प्रदेश १ का उद्योग, श्रम तथा रोजगारमन्त्री प्रतापप्रकाश हाङ्गामले मेलाको उद्घाटन गर्नुभएको छ। मेलाको उद्घाटन गर्नुहुँदै मन्त्री हाङ्गामले स्थानीय उद्यम विकास तथा रोजगारी सृजना गर्नमा मेलाले सघाउ  पु¥याउने बताउनुभएको छ । स्थानीय स्तरमा पाइने कच्चा पदार्थको प्रयोग गरेर सीपलाई श्रममा बदल्ने र श्रममार्फत रोजगारी सृजना गर्ने कार्यका लागि मेलाबाट प्रेरणा मिल्ने मन्त्री हाङ्गामले विश्वास लिनुभएको छ ।

 

स्थानीय उत्पादनको प्रवद्र्धनले उद्यमी बन्न र रोजगारी सृजना गरी प्रत्येक व्यक्ति आफैँ आत्मनिर्भर बन्न सकिने अवस्था रहेको हाङ्गामको भनाइ छ। आफूले प्राप्त गरेको सीपलाई सदुपयोग गरी उद्यमी बन्नका लागि अग्रसर हुन सबै किसान तथा उद्यमीलाई उहाँले सुझावसमेत दिनुभएको छ । उद्यमीका लागि थप सीप विकास, सीप तथा प्रविधि हस्तान्तरणमा प्रदेश सरकारले सम्बन्धित जिल्लाका घरेलु तथा साना उद्योग कार्यालयमार्फत सहजीकरण गर्ने बताउनुभएको छ ।

 

आउँदो सोमबारसम्म सञ्चालन हुने मेलामा ताप्लेजुङबाहेक पाँचथर, इलाम र तेह्रथुमका उद्यमीले सहभागिता जनाएको गोरखापत्र अनलाइनले जनाएको छ।

भेडाको ऊनबाट उत्पादन हुने राडीपाखी, अलैँचीको रेसाबाट उत्पादित विभिन्न सामग्री, अल्लो र खाँडीका कपडा, ठेकी, तोङ्बा, हर्पेजस्ता काठका सामग्री प्रदर्शनमा राखिएका छन् । यस्तै बाँसजन्य उत्पादनका सामग्री, तेह्रथुमे ढाका कपडा, प्रशोधित मह, स्थानीय उत्पादनका फलफूल लगायत विभिन्न ३५ वटा घरेलु उत्पादनका स्टल राखिएक आयोजकले जनाएको छ ।

 

यसरी जिल्लाको पर्यटन, लघुघरेलु उत्पादनको प्रवर्धन साथै बजारीकरण गर्ने उद्देश्यले पहिलो पटक औद्योगिक तथा पर्यटन मेला२०७९ को आयोजना गरिएको हो । जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयको आर्थिक सहयोगमा मेला आयोजना गरिएको आयोजक संस्था नेपाल घरेलु तथा साना उद्योग महासङ्घ ताप्लेजुङका अध्यक्ष राजेन्द्र भारतीले जानकारी दिनुभयो ।