नेपालमा महँगी बढेपछि गरिबलाई झन्झन् सकस
2022-06-11 16:36:19CRI
Share with:

बजारमा अचाक्ली मूल्यवृद्धि भएको छ। महँगी बढ्दा उपभोक्ता मारमा परेका छन्। दैनिक उपभोग्य वस्तुको अचाक्ली मूल्य बढ्दा न्यून आम्दानी भएका परिवारलाई भान्सा चलाउन सकस भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार मूल्यवृद्धि ७.८७ प्रतिशत पुगेको छ।

 

यो पोहोरको भन्दा शतप्रतिशत बढी हो। गत वर्षको वैशाखमा ३.६५ प्रतिशत रहेको मुद्रास्फीति बढेर यो वर्षको वैशाखमा ७.८७ प्रतिशत पुगेको छ। युक्रेनरुस युद्ध, पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डलर सटही दरमा वृद्धिलगायत कारणले बजारमा महँगी बढेको हो। खाने तेल, चामल, दाल, मासु, डिजेल, पेट्रोल, निर्माण सामग्री लगायत सबै क्षेत्रमा मूल्य बढेको छ।

 

दैनिक उपभोग्य वस्तुमा भएको मूल्यवृद्धिको मारमा उपभोक्ता छन्। विशेषगरी विद्यार्थी, निम्न आय भएका परिवार र दैनिक ज्यालादारी गरेर खर्च चलाउनेलाई छाक टार्न कठिन भएको छ। मूल्यवृद्धिले गरिबलाई दैनिक व्यवहार चलाउन हम्मे परेको उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाले बताउनुभयो। बजारमा दैनिक उपभोग्य वस्तुको अचाक्ली मूल्य बढेको छ,’ हाँले भन्नुभयो, ‘महँगी बढ्दा विपन्न परिवार थप समस्यामा परेका छन्।

 

नागरिकन्यूज डटकमका अनुसार खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ७.१३ प्रतिशतले बढेको छ भने सेवा समूहको मुद्रास्फीति ८.४५ प्रतिशत पुगेको छ। राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार वैशाखमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घिउ, तेल, फलफूल, दुग्ध पदार्थ, अन्डा, दाल, गेडागुडी र सुर्तीजन्य पदार्थ उपसमूहको मूल्यवृद्धि क्रमशः २४.८६ प्रतिशत, १२.६१ प्रतिशत, ११.३० प्रतिशत, १०.५३ प्रतिशत र ९.७० प्रतिशत छ।

 

गैरखाद्य तथा सेवा समूहअन्तर्गत यातायात, शिक्षा र मनोरञ्जन तथा संस्कृति उपसमूहको मुद्रास्फीति क्रमशः २१.८१ प्रतिशत, ११.६४ प्रतिशत र ८.२१ प्रतिशत छ। वैशाखमा काठमाडौं उपत्यकामा मूल्यवृद्धि ७.३९ प्रतिशत, तराईमा ८.१५ प्रतिशत, पहाडमा ७.८९ प्रतिशत, हिमालमा ८.२१ प्रतिशत छ। गत वर्षको वैशाखमा उपत्यकामा ३.६२, तराईमा ३.५१, पहाडमा ४.१४ र हिमालमा १.३३ प्रतिशत मूल्यवृद्धि थियो।

 

चालु आर्थिक वर्ष २०७८/७९ को भदौमा मूल्यवृद्धि ३.४९ प्रतिशत रहेकोमा वैशाखसम्म आइपुग्दा शतप्रतिशत नाघेर ७.८७ प्रतिशत पुगेको छ। आन्तरिकभन्दा बाह्य कारणले मूल्यवृद्धि भएको सरकारी अधिकारी बताउँछन्। विश्वभर मूल्यवृद्धि, डलर बलियो र मुद्राको पर्चेजिङ पावर कमजोर भएको जस्ता कारणले नेपालमा पनि मूल्य बढेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक लीलाप्रसाद शर्माले बताए।

विश्वमै देखिएको जटिल आर्थिक अवस्थाको प्रभाव नेपालमा पनि परेको हो,’ शर्माले भने, ‘विश्वभरि नै मूल्यवृद्धि भएको छ। नेपालमा प्रयोग हुने अधिकांश वस्तु विदेशबाट आयात हुने भएकाले त्यसको प्रभाव परेको शर्माको दाबी छ।

विभागले अस्वाभाविक मूल्यवृद्धिबारे अनुगमन गर्ने जनाएको छ। कतिपय व्यापारीले बाह्य कारण देखाएर पनि भाउ बढाएका छन्।