“संयुक्त राष्ट्र संघअन्तर्गत चिनियाँ भाषा दिवस”कार्यक्रम काइरोमा आयोजित
2022-06-13 21:22:05cri
Share with:

 

संयुक्त राष्ट्र संघले विश्वका केही मुलुकका भाषालाई लिएर दिवस मनाउँदैआएको छ। यसै परिप्रेक्ष्यमा अप्रिल २१ तारिख संयुक्त राष्ट्र संघले चिनियाँ भाषा दिवस मनाउने गरेको छ। यसै चिनियाँ भाषा दिवसको अवसरमा इजिप्टको राजधानी काइरोमा एक कार्यक्रमको आयोजना गरिएको छ।

 

यस पटकको कार्यक्रमको मुख्य विषय“चिनियाँ भाषा: उज्यालो भविष्यको सिर्जना गरौँ”रहेको छ। काइरो चिनियाँ संस्कृति केन्द्र, चिनियाँ भाषा ब्रिज क्लब र काइरो विश्वविद्यालयको कन्फ्युसियस इन्स्टिच्युटले यस कार्यक्रमको आयोजना गरेको हो। आयोजक पक्षका अनुसार, यस पटकको कार्यक्रममा चीनका १७३ प्रकारका पुस्तक तथा श्रव्यदृश्य रचनाहरु अनुदानस्वरूप प्रदान गरिएको छ, तीमध्ये“सी चिन फिङको सुशासन गर्ने अवधारणा”, “चीनको ज्ञान भण्डार”, “सांस्कृतिक दूत मै लान फाङ”लगायत अरबेली तथा अंग्रेजी भाषा संस्करणका चिनियाँ पुस्तकहरु समावेश छन्। यसका साथै इजिप्टका चिनियाँ भाषा शौखिनहरुलाई पनि चिनियाँ भाषाको पाठ्य पुस्तकहरु प्रदान गरिएको छ। चीनले इजिप्टको राष्ट्रिय पुस्तकालयलाई पुस्तक अनुदान गरेको यो पहिलो पटक हो।

 

इजिप्टको राष्ट्रिय पुस्तकालयका जिम्मेवार व्यक्ति रियाद चिनियाँ भाषा प्रशिक्षणको लोकप्रियता इजिप्टमा बढ्दै आएको भन्दै इजिप्ट चीन सम्बन्धलाई गहन पार्न उपयोगी हुने बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ,

 

संयुक्त राष्ट्र संघको चिनियाँ भाषा दिवसको उपलक्ष्यमा यस कार्यक्रमको आयोजनाले घनिष्ठ इजिप्ट-चीन सम्बन्ध रहेको प्रदर्शन गरेको छ। भविष्यमा इजिप्ट र चीनले अरु बढी सांस्कृतिक सहकार्य गर्नसक्ने अपेक्षा हामीले राखेका छौँ।

 

काइरो चिनियाँ संस्कृति केन्द्रका उप-प्रमुख शाउ पिन यस कार्यक्रमलाई सम्बोधन गर्दै संयुक्त राष्ट्र संघको तेह्रौँ चिनियाँ भाषा दिवसको अवसरमा पुस्तकहरुको अनुदान कार्यक्रमले चीन-इजिप्ट सम्बन्धमा सांस्कृतिक आदान-प्रदान गरी दुई देशका सभ्यता बीचको आदान-प्रदानलाई सबल पारेको औँल्याउनु हुन्छ,

 

चिनियाँ भाषा बोल्नसक्ने अरु बढी इजिप्टका साथीहरुले चीन र इजिप्टका विभिन्न क्षेत्रमा रहेको सहयोगमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन्। यस्तो पृष्ठभूमिमा चिनियाँ भाषा ब्रिज क्लबको गठन भएको छ र त्यो चिनियाँ भाषाका शौखिनहरुका लागि एउटा परिवार बनेको छ। संयुक्त राष्ट्र संघको चिनियाँ भाषा दिवसको कार्यक्रमलाई चीन र इजिप्ट बीचको सांस्कृतिक सहकार्यको एउटा शुरुवात बनाउनसक्ने आशा मैले राखेको छु।

 

चिनियाँ भाषा ब्रिज क्लबकी कार्यकारी अध्यक्ष श्वी यान हले पुस्तक चीन र इजिप्ट बीचको सांस्कृतिक सहयोगको एउटा महत्वपूर्ण माध्यम भएको बताउनुभयो। पुस्तक अनुदानले चिनियाँ भाषाका शौखिनहरुलाई चिनियाँ भाषा सिक्न तथा चीनबारे जानकारी लिन एउटा नयाँ मञ्चको स्थापना गरेको पनि उहाँ बताउनुहुन्छ।

 

विश्वमा करिब पाँच भागको एक भाग जनसंख्याले चिनियाँ भाषा बोल्छन्। चिनियाँ भाषामा “जनतालाई प्राथमिकता” दिने चिनियाँ परम्परागत संस्कृतिको अवधारणा समावेश छ। चिनियाँ भाषा सिक्ने अनुभवको उपभोग गर्ने, चिनियाँ गीत सुन्ने, चीनको परम्परागत कुङ फु प्रदर्शनको अवलोकन गर्ने लगायत तरिकामार्फत इजिप्टका विद्यार्थीहरुले चिनियाँ भाषाबाट चीनबारे अरु बढी जानकारी लिन पाएका छन्। हामीले विश्वका विभिन्न मुलुकहरु, विभिन्न जातिहरु र विभिन्न संस्कृति बीचको आदान-प्रदानलाई सबल पार्नुपर्छ, जसबाट चीन-इजिप्ट साझा भाग्य समूदायको स्थापना गर्नसकियोस् र विश्वको शान्तिपूर्ण विकास कार्यका लागि अरु ठूलो योगदान पुर्‍याउनसकियोस्।

 

“संयुक्त राष्ट्र संघको चिनियाँ भाषा दिवस”कार्यक्रमको उपलक्ष्यमा त्यहाँ चिनियाँ संस्कृतिको रोचक प्रदर्शन गरिएको छ। विद्यार्थीहरुले चिनियाँ भाषा सिकाइको अनुभव बाँडेका छन् भने चिनियाँ भाषा ब्रिज क्लबका विद्यार्थीहरुले चिनियाँ कुङ फु प्रदर्शन गरेका छन्।