दुई विदेशी पर्यटक २४ दिनदेखि बेपत्ता
2022-06-14 15:58:37cri
Share with:

सोलुखुम्बुको खुम्बु क्षेत्रको पदयात्रामा आएका दुई जना विदेशी पर्यटक २४ दिनदेखि सम्पर्कविहीन भएका छन्। सम्पर्कविहीन हुनेमा भारतीय नागरिक ३१ वर्षीय पुरुष सिरनाथ चन्द्र मोहोन र कोरियाली नागरिक ५० वर्षीया योहन रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको गोरखापत्र अनलाइनले लेखेको छ।

गएको जेठ ५ गते मञ्जो जोरसल्ले चेकपोष्टमा इन्ट्री भएर आधारशिविरतर्फ लागेका दुवै पर्यटक त्यसयता सम्पर्कमा आउन नसकेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक सुनिलजंग शाहले जानकारी दिनुभयो। पर्यटकहरुको जोरसल्ले प्रवेशद्वारमा अनिवार्य दर्ता गर्नुपर्ने प्रावधान रहेको छ। सोही कार्यालयमा पर्यटक सूचना केन्द्रसमेत छ। 

भारतीय नागरिक सम्पर्कविहीन भएको भन्दै खोजीमा सहयोग गरिदिन भारतीय दूतावासबाट टेलिफोन आएको र कोरियाली नागरिक परिवारको सम्पर्कमा नभएको खबर प्राप्त भएको प्रहरीले जनाएको छ।

गाइड विना (एफआइटी) खुम्बु घुम्न आएका उनीहरुको खोजीका लागि खुम्बुक्षेत्रका लुक्ला, नाम्चे, खुम्जुङस्थित सबै प्रहरी एकाइलाई सक्रिय बनाइएकाे प्रनाउ शाहले बताउनुभयो। विना गाइड नेपाल आएका पर्यटकले घुम्न कानुनी रुपमा अवैध मानिन्छ।