चिनियाँ कम्पनीद्वारा ३ सातापछि सुरुङ निर्माण पुन: सुरु
2022-06-25 17:16:16cri
Share with:

काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) को सुरुङ निर्माणमा निलम्बन गरिएका दुई कम्पनीलाई कारबाही फुकुवा गरेर २२ दिनपछि काम पुन: सुरु गरिएको छ । निर्माणको ठेक्का लिएका दुई चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन र पोली चङ्दा इन्जिनियरिङ कर्पोरेसनलाई छिटो र गुणस्तरीय काम नगरेको भन्दै गत जेठ ९ मा निलम्बन गरिएको थियो ।

यी कम्पनीले निर्माण गरिरहेको सुरुङको गुणस्तर, कामको गति सबै हेरेर गत जेठ ३१ मा पुन: काम सुरु गर्न भनिएको सैनिक प्रवक्ता सहायक रथी नारायण सिलवालले जानकारी दिनुभयो । ‘केही समय रोकिएको दुवै प्याकेजमा काम सुरु भएको छ,’ उहाँले भन्नुभयो, ‘निर्माणको स्थलगत निरीक्षण गर्दै कामको कार्य प्रगति समीक्षा गरेपछि काम सुरु गर्ने आदेश भएको हो ।’

 

परामर्शदाता, निर्माण कम्पनी र आयोजना प्रमुखबीच कामको प्रगति, गुणस्तर र गतिबारे छलफल पनि गरिएको थियो । ‘जहाँ नराम्रो काम भएको छ, त्यहाँ सुधार गर्न भनियो,’ उहाँले भन्नुभयो। परामर्शदाता र निर्माण कम्पनीको बुझाइमा कहिलेकाहीं फरक हुन सक्ने भन्दै बेलाबेलामा काम रोकेर निर्माणबारे छलफल गर्ने गरिएको प्रवक्ता सिलवालको दाबी छ ।

फास्ट ट्रयाकको परामर्शदाता योसिन इन्जिनियरिङ करर्पोरेसन–कोरिया एक्सप्रेस वे कर्पोरेसन एन्ड पियोङ्वा इन्जिनियरिङ कन्सल्टेन्ट जेभीले दुवै कम्पनीलाई पत्र पठाउँदै निलम्बनबारे सूचित गरेको थियो।पत्र पठाउँदा कहिलेसम्मका लागि निलम्बन गरिएको भन्नेबारे खुलाइएको थिएन। कान्तिपुर