विद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन कुर्दै जाइका
2022-06-26 19:51:06cri
Share with:

साढे दुई वर्षमा सक्ने गरी सम्झौता भएको नलगाड जलाशययुक्त जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणको काम ६ वर्षभन्दा बढी समय बितिसक्दा पनि टुंगिएको छैन । परामर्शदाता कम्पनीको अटेरी र विकासकर्ता कम्पनीको हेलचेक्य्राइँका कारण तोकिएको भन्दा दोब्बर समय बित्दा पनि डीपीआर बन्न नसकेको हो ।

जाजरकोटमा प्रस्तावित ४ सय १७ मेगावाट उत्पादन क्षमताको यो आयोजनाको विस्तृत परियोजना प्रतिवेदन बनाउन २०१६ मे मा तत्कालीन नलसिङगाड जलविद्युत् विकास समिति र स्मेक–एमडब्ल्यूएच–उदय कन्सल्ट जेभीबीच सम्झौता भएको थियो । सम्झौताअनुसार ३० महिनाभित्रमा डीपीआर सकिसक्नुपर्ने हो । तर पटक–पटक म्याद थप र पछिल्लोपटक परामर्शदातालाई जरिवाना तिराउँदासमेत डीपीआर टुंगिएको छैन । परामर्शदाता छनोट गर्दा भ्रष्टाचार भएको भन्दै तत्कालीन नलसिङगाड जलविद्युत् विकास समितिका कार्यकारी निर्देशकसहित ६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको थियो । तर उनीहरू सबैले सफाइ पाए ।

तोकिएको समयमा डीपीआर नटुंगिएकै कारण आयोजना विकासको ढाँचा र लगानीको मोडल स्पष्ट हुन सकेको छैन । विद्युत् उत्पादन कम्पनी लिमिटेडको सहायक कम्पनी नलगाड हाइड्रोपावर कम्पनी लिमिटेडमार्फत अघि बढिरहेको यो आयोजनामा लामो समयदेखि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले लगानी गर्ने भन्दै चासो देखाइरहेको छ । तर डीपीआर नटुंगिएकै कारण जाइकाले कुनै प्रक्रिया अगाडि बढाएको छैन । कान्तिपुर।