युवा पुस्तालाई दुर्व्यसनबाट बचाउने हामी सबैको दायित्व : गृहमन्त्री खाँण
2022-06-26 19:50:36cri
Share with:

गृहमन्त्री बालकृष्ण खाँणले नेपालमा लागूपदार्थ दुर्व्यसनी चुनौतीको रुपमा अघि बढिरहेको बताउनुभएको छ। आइतबार काठमाडौंमा आयोजित लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसरारविरुद्धको दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले यस्तो बताउनुभएको हो। उहाँले लागूपदार्थको दुर्व्यसनको कारणले समाजलाई गम्भीर असर पारेको पनि बताउनुभयो।

मन्त्री खाँणले लागूऔषधको गम्भीर असर सबैभन्दा बढी युवा पुस्तामा परिरहेको बताउनुभयो। युवा पुस्तालाई दुर्व्यसनबाट कसरी बचाउने भन्ने कुरा सरकार र समाज सबैको दायित्व भएको बताउँदै उहाले युवा पुस्ताको भविष्य सुन्दर बनाउन सरकारले आगामी दिनमा जन जागरुकताका कार्यक्रम ल्याउनुपर्ने, पाठ्यपस्तकमा पनि यसलाई समावेश गरेर विद्यार्थीलाई बेलैमा जानकारी गराउनुपर्ने र दुर्व्यसनीमा फसेका युवाहरुलाई सुधार्न अभियान थाल्नुपर्ने आवश्यकता रहेको पनि बताउनुभयो।

उहाँले भन्नुभयो, ‘लागूपदार्थ चुनौतीको रुपमा अघि बढेको छ । लागूपदार्थको दुर्व्यसनको कारणले समाजलाई गम्भीर असर पारेको छ । आज सबैभन्दा बढी प्रभाव युवा पुस्तामा परिरहेको छ। सरकार यो संवेदनशील विषयमा आफ्ना नागरिकको रक्षा र युवा पुस्ताको सुन्दर भविष्य बचाउन प्रतिवद्ध छ । आउने दिनमा सरकारले अझै बढी ध्यान दिन, जनजागरुकताका कार्यक्रम ल्याउनुपर्ने, पाठ्यपस्तकमा पनि यसलाई समावेश गरेर विद्यार्थीलाई बेलैमा जानकारी दिने,दुर्व्यसनीमा फसेका युवाहरुलाई सुधार्न अभियान थाल्नुपर्नेछ। आजैबाट लागूपदार्थबाट मुक्त हुनुहोस्।’