स्थानीय तह सदस्य निर्वाचन ऐतिहासिक रुपमा सफल
2022-06-30 16:32:12cri
Share with:

नेपालको निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तह निर्वाचन २०७९ ऐतिहासिक रुपले सफल भएको बताउनुभएको छ। सबैको अथक प्रयास र सहयोगले निर्वाचन सफल भएको उहाँको भनाई रहेको गोरखापत्र अनलाइनले लेखेको छ। 

स्थानीय तह सदस्य निर्वाचन २०७९ केन्द्रीय निर्वाचन समीक्षा कार्यशाला गोष्ठीमा विहीबार यहाँ सम्बोधन गर्नुहुँदै प्रमुख आयुक्त थपलियाले सो कुरा बताउनुभयो। निर्वाचन हुने नहुने राजनीतिक दलबीच र जनताबीच अनेक आशंका रहँदारहँदै पनि आयोगले निश्पक्ष, स्वतन्त्र, भयरहित र शान्तिपूर्ण रुपले निर्वाचन गर्न सफल भएको बताउनुभयो। 

स्थानीय तह सदस्य निर्वाचन सफल भएलगत्तै आउने कात्तिक वा मंसिरसम्म प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन गर्नुपर्ने जिम्मेवारी भएपनि अहिलेसम्म सो निर्वाचनको मिति घोषणा हुन बाँकी रहेको उहाँले बताउनुभयो। प्रमुख निर्वाचन आयुक्त थपलियाले भन्नुभयो, “अहिलेसम्म मितिबारे कुनै निर्णय भएको छैन, कसले के मिति सार्वजनिक गर्दैछन् त्यसमा नपर्नुहोला, आयोगले सरकारलाई अहिलेसम्म निर्वाचनको मिति सिफारिस गरेको छैन।”

निर्वाचनमा केही ठाउँमा सामान्य समस्या आएपनि तुलनात्मक रुपमा निर्वाचन सफल रहेको उहाँले बताउनुभयो। रौतहटमा निर्वाचनताका केही समस्या भएपनि दोसीको पहिचान हुँदाहुँदै पनि कारवाही गर्न नसक्नु विडम्बना भएको बताउनुभयो। गल्ती गर्नेलाई कारवाही नगरिए आउने निर्वाचनमा पनि छिटपुट समस्या आउनसक्ने उहाँले प्रष्ट पार्नुभयो। 

निर्वाचनमा बढीभन्दा बढी मतदाता सहभागी होऊ्न भन्ने आयोगको चाहना र इच्छा भएपनि अझै चाहेकोजस्तो सहभागीता गराउन नसकेको र आगामी दिनमा त्यसका निम्ति आयोग प्रयासरत रहने उहाँले बताउनुभयो। निर्वाचन सफल बनाउन सबै पक्षबाट अथक सहयोग प्राप्त भएकाले उहाँले सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो। 

आयोगले यसअघि सातवटै प्रदेशमा निर्वाचन समीक्षा कार्यक्रम सम्पन्न गरिसकेको र केन्द्र तहमा आज समीक्षा गर्न लागिएको उहाँले जानकारी दिनुभयो। यसअघि बुधबार राजनीतिक दलका प्रतिनिधिहरुसँग छलफल गरी समीक्षा गरिएको उहाँले बताउनुभयो। 

निर्वाचन सम्पन्न गराउन सरकारले ऐन, नियम र विनयिमावलीहरु बनाएको भएपनि अझै पर्याप्त हुन नसकेको बताउनुहुँदै प्रमुख निर्वाचन आयुक्त थपलियाले समीक्षा बैठकमा त्यसबारे मिहिन ढंगले सुझाव दिन सहभागी सबैमा आग्रह गर्नुभयो। “निर्वाचनताका भएका चुनौति, समस्या र जटिलता के के आए, त्यसलाई सुझावकोरुपमा राखिदिनुहोला” उहाँले भन्नुभयो।

समीक्षा कार्यक्रममा आयोगका प्रवक्ता तथा सहसचिव शालीग्राम शर्मा पौडेलले आगामी निर्वाचनका लागि असार १ गतेदेखि पुनः मतदाता सूची दर्ताको काम शुरु गरिएको जानकारी दिनुभयो। स्थानीय तह सदस्य निर्वाचनका लागि बाजुराको बुढीगंगा नगरपालिकाबाहेक सबै ठाउँको परिणाम आइसकेको उहाँले बताउनुभयो। बाजुरामा असार २३ गते निर्वाचन गर्ने मिति तोकिएको उहाँले बताउनुभयो। 

निर्वाचन आयोगमा निर्वाचन प्रयोजनका लागि ७९ दल दर्ता भएपनि निर्वाचनमा ६५ दल निर्वाचनमा सहभागी हुनुभयो। निर्वाचनमा २४ दलले कुनै न कुनै रुपमा प्रतिनिधित्व गरेको उहाँले बताउनुभयो। गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा १ लाख ४५ हजार १३ जनाले मनोनयन दर्ता गरेको उहाँले बताउनुभयो।

 सो अवसरमा प्रवक्ता पौडेलले स्थानीय तह सदस्य निर्वाचनमा करिब ४१ प्रतिशत महिलाको सहभागिता भएको बताउनुभयो। देशभर एकै चरणमा निर्वाचन गर्न आयोग सफल भएको र यो अहिलेसम्मको निर्वाचनभन्दा फरक र सफल रहेको उहाँले चर्चागर्नुभयो। 

समीक्षा कार्यक्रममा आयोगका आयुक्त ईश्वरी पौड्याल, रामप्रसाद भण्डारी, डा. जानकीकुमारी तुलाधर र सगुन शमशेर राणासहित सरकारी प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि, सञ्चार माध्यमका प्रतिनिधिहरुको सहभागिता रहेको छ। 

आयोगले नागरिकको गुनासो सुन्नका लागि कल सेन्टरको व्यवस्था गरेको र गुनासोलाई सम्बोधन गर्ने अधिक्तम प्रयास आयोगले गरेको प्रवक्ता पौडेलले बताउनुभयो। त्यस्तै, सञ्चार माध्यमसँग हरेक हप्ता पत्रकार सम्मेलन र विशेष अवस्थामा पत्रकार सम्मेलन पनि गरिएको उहाँले बताउनुभयो। 

मतगणनाको काममा केही ढिलाई भएको गुनासो आएको र मतदाता शिक्षा कमजोर भएको पनि गुनासाहरु आएको प्रवक्ता पौडेलले बताउनुभयो। सातवटै प्रदेशमा गरिएको समीक्षा र केन्दीय कार्यक्रममा आएको समीक्षालाई ध्यानमा राखी आयोगले आगामी दिनमा अगाडि बढ्ने उहाँले बताउनुभयो।