त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ टर्मिनल भवन बनाइने
2022-07-03 16:38:31cri
Share with:

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ४० अर्ब रुपियाँको लागतमा नयाँ टर्मिनल भवन निर्माण हुने भएको छ।२००६ सालमा पहिलो पटक विमान अवतरण भएको यस विमानस्थल प्रयोग गर्ने हवाई यात्रु र विदेशी जहाज सङ्ख्यासमेत बर्सेनि थपिँदै गएपछि आगामी आर्थिक वर्ष २०७९/८० बाट नयाँ अन्तर्राष्ट्रिय टर्मिनल भवन निर्माणको तयारी गरिने भएको गोरखापत्र अनलाइनले लेखेको छ। विमानस्थल पूर्वाधार विस्तार गुरुयोजना (सन् २०१०–२०२८) अन्तर्गत विमानस्थलको क्षमता अभिवृद्वि गर्न नेपाल सरकार र नेपाल नागरिक उड्डयन प्राधिकरणको संयुक्त लगानीमा निर्माण गरिने नयाँ टर्मिनल भवन निर्माण कार्य सुरु भएको पाँच वर्षमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ।

अन्तर्राष्ट्रिय हवाई सङ्गठन (आईसीएओ) को मापदण्डअनुसारका हवाई यातायात सुविधाको भौतिक सुधारअन्तर्गत निर्माण गरिने नयाँ टर्मिनल भवनले करिब एक लाख वर्गमिटर क्षेत्रफल ओगट्नेछ। नेपाल नागरिक उड्डयन प्राधिकरण, हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका निर्देशक इन्जिनियर दीपेन्द्र श्रेष्ठले विमानस्थलको उत्तरतर्फको जग्गामा निर्माण हुने नयाँ टर्मिनल भवनबाट अहिलेको भन्दा तीन गुणा बढी हवाई यात्रुले उड्डयन सुविधा लिनसक्ने बताउनुभयो। हाल प्रयोगमा रहेको टर्मिनल भवनबाट क्षमताभन्दा बढी अर्थात् वार्षिक ४० लाखभन्दा बढी यात्रुले सेवा लिँदैआएका छन् भने निर्माण हुने नयाँ टर्मिनल भवनबाट वार्षिक एक करोड यात्रुले सेवा लिनसक्ने छन्।

उहाँले भन्नुभयो, “विमानस्थलमा बर्सेनि हवाई यात्रु बढ्दै गएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजनाअनुसार नयाँ टर्मिनल भवन निर्माणमा प्राधिकरण अघि बढेको छ। सन् २०१६ मै फ्रेन्च कम्पनी एडीपीआईएलले नयाँ टर्मिनल भवनको डिजाइन प्राधिकरणलाई बुझाएको छ। बजेटको सुनिश्चितता भएपछि आगामी आर्थिक वर्षदेखि निर्माणको चरणमा जाने तयारी छ।” निर्माण सुरु भएको पाँच वर्षभित्रै निर्माण सक्नेगरी काम थाल्ने योजनाअनुसार हाल निर्माणस्थलमा रहेका नेपाली सेनाले हेलिकप्टर पार्किङका लागि प्रयोग गर्दै आएको क्षेत्र र नेपाल वायुसेवा निगमको  ह्याङ्गर रहेको क्षेत्रलाई धावनमार्गको पूर्वतर्फ सार्ने तयारी भइरहेको उहाँले बताउनुभयो।

प्राधिकरणका अनुसार ह्याङ्गर स्थानान्तरणका लागि चिनियाँ कम्पनी सीसीईसीसी केडीएन एयरपोर्ट इन्जिनियरिङ जेभीले ठेक्का पाइसकेको छ। नेपालमा आगामी २० वर्षमा हवाई यातायातको वार्षिक स्थिर वृद्धि (३–५ प्रतिशतसम्म) हुने अनुमानसहित निर्माण गर्न लागिएको नयाँ अन्तर्राष्ट्रिय टर्मिनल भवनमा एप्रोन एरिया विस्तार गरेर बोइङ–७७७, एयरबस–३३० तथा न्यारोबडी गरेर २४ वटा जहाज पार्किङ गर्न मिल्नेछ। साथै यसमा ड्युटी फ्री सप, व्यापारिक प्रयोजनका लागि कन्फेक्सनरी सप, बिजनेस लाउन्ज लगायतको सुविधा रहनेछन्। नयाँ टर्मिनल भवनमा छवटा एरोब्रिजको समेत सुविधा रहनेछ। हाल निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा मात्रै दुईवटा एरोब्रिज रहेका छन्।

नयाँ टर्मिनल भवन बनेपछि अहिले सञ्चालनमा रहेको टर्मिनल भवन आन्तरिक उडानतर्फ प्रयोगमा ल्याइनेछ। महामारीपूर्व नेपालका तीनसहित ३० देशका एयरलाइन्सले यो विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भर्दै आएका थिए। हाल नेपालसहित १९ देशका २४ एयरलाइन्सले दैनिक सरदर दुईतर्फी ६० भन्दा बढी अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन्।

नेपालले हाल ४० मुलुकसँग हवाई सेवा सम्झौता गरिसकेको छ।यसैबीच शुक्रबारबाट थाई स्माइल एयरवेजले  बैङ्कक–काठमाडौँको नियमित दुईतर्फी हवाई सेवा सुरु गरेको छ। यसको यात्रु सिट क्षमता १६२ रहेको छ। काठमाडौँ–बैङ्कक सन् १९६८ बाट हवाई सेवा सुरु भएको हो।