मोदीको भ्रमणपछि लुम्बिनीमा भारतीय आउने क्रम बढ्यो
2022-07-05 16:04:13CRI
Share with:

विगतका जुन महिनाको तुलनामा २०२२ को जुनमा बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गर्ने भारतीय पर्यटकको संख्या हालसम्मकै उच्च देखिएको छ। यो वर्ष जुन महिनामा मात्र २५ हजार ६५ भारतीय पर्यटक लुम्बिनी आएका छन्। सन २०२० र २०२१ मा पर्यटन क्षेत्र ठप्पजस्तै थियो। कोरोना महामारी सुरु हुनुअघिको जुन महिनामा यस वर्षभन्दा ६ हजार कम भारतीय पर्यटक लुम्बिनी आएका थिए। 

लुम्बिनी विकास कोषका अनुसार सन् २०१८ जुनमा १९ हजार ८०८ र २०१९ जुनमा १९ हजार १६६ भारतीय लुम्बिनी आएका थिए। त्यसभन्दा अघिका वर्ष भारतीय पर्यटकहरूको आगमन निकै कम थियो। कोरोनाको प्रभाव कम हुँदै गएपछि केही महिनायता लुम्बिनीमा भारतीय पर्यटकको चहलपहल देखिन थालेको हो। डेढ महिनायता भने लुम्बिनी आउने भारतीय पर्यटकको संख्या ह्वात्तै बढेको नेपालखबर अनलाइनले जनाएको छ। 

गत जेठ २ गते बुद्ध जयन्तीका दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनी भ्रमण गरेका थिए। उनी मे १६ तारिखका दिन लुम्बिनी आएका थिए। जुनअघि र मे १६ तारिखपछिको आधा महिनामा ११ हजार २३३ भारतीय लुम्बिनी आएको कोषले जनाएको छ। यसरी हेर्दा मोदीको भ्रमणपछिका डेढ महिनामा ३६ हजार भारतीय पर्यटक लुम्बिनी आएको देखिन्छ। भारतीय प्रधानमन्त्रीको भ्रमणपछि लुम्बिनीमा भारतीय पयर्टकको आगमन झन् बढेको कोषका सूचना अधिकारी राजन बस्नेतले जानकारी दिनुभयो।

‘भारतीय प्रधानमन्त्रीको भ्रमण लुम्बिनीका लागि बडो उपलब्धिपूर्ण रहयो। नेपालसँग सिमाना जोडिएका भारतीय सहरका मान्छेहरूले भ्रमणलाई चासोका साथ, उहाले भन्नुभयो, ‘आफ्नो राष्ट्रिय नेताको भ्रमण भएपछि उनीहरूलाई पनि आकर्षित गर्यो।’ 

वैदेशिक भ्रमण गर्न चाहनेहरूले कोरोना महामारीका कारण अझै पनि एक देशबाट अर्को देशमा भ्रमण गर्न जाने आँट गर्न सकेका छैनन्। विदेश भ्रमणको विकल्पमा नजिकको लुम्बिनी रोज्दा पनि भारतीय पर्यटक आउने क्रम बढेको हुन सक्ने कोषका सूचना अधिकारी बस्नेतले बताउनुभयो। कोरोना महामारीपछि लुम्बिनीमा केही भए पनि पर्यटकको चहलपहल देख्दा यहाँका होटल तथा पर्यटन व्यवसायी उत्साहित छन्। तर भारतीय पर्यटक देखिए पनि अपेक्षाअनुसार व्यापार नभएको उनीहरूको भनाइ छ। घुम्नका लागि मात्र भारतीयहरू लुम्बिनी आए पनि रात भने निकै कमले बिताउने गरेको होटल संघ लुम्बिनीका अध्यक्ष गोविन्द ज्ञवालीले बताउनुभयो। 

गर्मी र त्यसमाथि वर्षायाम भएकाले यो समय लुम्बिनीमा पर्यटक लागि ‘अफसिजन’ हो ।विगतका तथ्यांक हेर्दा सबैभन्दा बढी भारतीय पर्यटक आउने सिजन भनेको नोभेम्बर र डिसेम्बरमा हो। जाडो मौसम भएकाले यी महिनामा धेरै भारतीय पर्यटक बास बस्नेगरी नै आउने लुम्बिनी आउने गर्छन्।

अहिलेसम्म लुम्बिनीमा सबैभन्दा बढी भारतीय पर्यटक आएको महिना सन् २०१८ को डिसेम्बर हो। यो महिनामा साढे ३१ हजार भारतीय लुम्बिनी आएको तथ्यांक छ।