अनलाइनमा आधारित स्वास्थ्य सेवा सुरु
2022-07-05 16:08:46CRI
Share with:

योगदानमा आधारित सामाजिक सुरक्षा कोषका योगदानकर्ताका लागि स्वचालित विद्युतीय प्रणालीमा आधारित स्वास्थ्यसेवा प्रवाहको शुभारम्भ भएको छ। सो सेवा सुरु भएसँगै योगदानकर्ताले उपत्यकाका त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, पाटन र काठमाडौँ मेडिकल कलेजलगायत देशभरका २६ वटा अस्पतालमा स्वास्थ्यसेवा लिन सक्नेछन्। यी अस्पतालमा सेवा लिन योगदानकर्ताले कोषमा योगदान गरेको नम्बरसहितको परिचयपत्र देखाए पुग्ने गोरखापत्र अनलाइनले जनाएको छ।

यसअघि योगदानकर्ताले अस्पतालमा लाग्ने रकम आफैँ तिर्नुपर्थ्यो र बिल कोषमा पेस गरेपछि भुक्तानी प्राप्त हुन्थ्यो। अब भने परिचयपत्र देखाएपछि उपचार खर्चको २० प्रतिशत रकम मात्रै बिरामीले तिर्नुपर्छ। दुर्घटनाबापतको सुविधामा शतप्रतिशत उपचार खर्च कोषबाट सम्बन्धित स्वास्थ्य संस्थालाई भुक्तानी गर्ने व्यवस्था छ। सो प्रणाली कार्यान्वयन हुँदा योगदानकर्ताले स्वास्थ्य उपचारका लागि ठूलो रकमको जोहो गरी स्वास्थ्य संस्था जानुपर्ने र रकम शोधभर्नाका निम्ति कागजातसहित कोषको कार्यालयमा जानुपर्ने झन्झटको अन्त्य हुने कोषले जनाएको छ। योगदानकर्ताको सुविधालाई ध्यानमा राखी परीक्षणका रूपमा यो स्वचालित विद्युतीय प्रणाली सञ्चालनमा ल्याइएको र यसमार्फत औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षालगायतका सेवा लिन सकिने बताइएको छ। कोषका अनुसार योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका तीन लाख ४४ हजार ५३१ योगदानकर्ताले कोषले उपलब्ध गराएको सामाजिक सुरक्षा नम्बरसहितको परिचयपत्र देखाएर ती अस्पतालबाट वार्षिक एक लाख रुपियाँको स्वास्थ्य उपचार सेवा लिन सक्नेछन्।