चिनियाँ हाइड्रोद्वारा निर्माणाधीन मध्यभोटेकोसी आयोजनाको काममा तीव्रता
2022-07-06 15:36:39CRI
Share with:

भोटेकोसी नदी क्षेत्रमा निर्माणाधीन बहुप्रतिक्षित १०२ मेगावाट क्षमताको लक्ष्य बोकेको मध्यभोटेकोसी जलविद्युत् आयोजनाको बाँधस्थल, सुरुङ र विद्युत् गृहको कामले तीव्रता पाएको छ। कान्तिपुर अनलाइनका अनुसार यसअघि टेप प्रकरण, कमसल काम, स्थानीय विवाद र विपद्ले अवरुद्ध बन्दै आएको बाह्रबिसे नगरपालिका-५ गाती जम्बुस्थित बनिरहेको यो आयोजना केही समय ठप्प पनि भयो। 

निर्धारित अवधिभन्दा बढी समय थपिए पनि आयोजनाको अधिकांश संरचनाको २० प्रतिशत काम मात्रै बाँकी भएको आयोजनाले जनाएको छ। भोटेकोसी गाउँपालिकाको मार्मिङस्थित चाकु बजारमा भोटेकोसी नदी थुनेर १० मिटर अग्लो बाँधस्थलसँगै करिब ७ दशमलव १ किलोमिटर सुरुङ बनाउने लक्ष्य राखिएको थियो । 

अडिट एक, दुई र तीनमध्ये अधिकांश संरचनाको काम भएको छ, विद्युत् गृहको पर्खाल संरचनाको काम धमाधम भइरहेको छ । मध्यभोटेकोसीको चिनियाँ ग्वान्सी हाइड्रोले झन्डै ८ अर्बमा सुरुङ र पावरहाउस निर्माणको ठेक्का लिएको थियो। १ जनवरी २०१४ बाट सुरु भएको मध्यभोटेकोसी जलविद्युत् आयोजनाको काम वर्षैपिच्छे प्राकृतिक विपत्तिका कारण रोकिँदै आएको छ।