पर्यटन क्षेत्रको उत्थान पहिलो प्राथमिकतामा रहेको पर्यटनमन्त्रीको भनाइ
2022-07-06 15:41:32CRI
Share with:

संस्कृति, पर्यटन तथा नागरिक उडड्डयन मन्त्री जीवनराम श्रेष्ठले पर्यटन क्षेत्रको उत्थान पहिलो प्राथमिकता भएको बताउनुभएको छ। नेपाल पर्यटन बोर्डले नवनियुक्त पर्यटन मन्त्री श्रेष्ठको स्वागतमा मंगलबार बोर्डमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले कोभिड-१९ का कारण पर्यटन क्षेत्र मारमा परेकोले यसको उत्थानलाई पहिलो प्रथमिकतामा राख्नुपर्ने अनलाइनखबरले लेखेको छ। 

पर्यटन नेपालको आर्थिक विकासको महत्वपूर्ण क्षेत्र रहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले बोर्डलाई नयाँ बजेट निर्माण गर्दा रोजगारी सिर्जना हुने गरी बजेट निर्माण गर्न समेत आग्रह गर्नुभयो। मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष महेश्वर न्यौपानेले कोभिडले थलिएको पर्यटनलाई प्रर्वद्धन गर्ने हिसावले बोर्ड नयाँ बजेट तर्जुमामा लागेको बताउनुभयो। बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले कोभिडको समयदेखि नै बोर्डले आन्तरिक तथा बाह्य पर्यटन प्रर्वद्धन गर्ने तथा रोजगारी सिर्जना गर्ने गरी विभिन्न कामहरु गरिरहेको जानकारी दिनुभयो। 

यसैबीच पर्यटकीय जनशक्ति उत्पादनमा काम गरिरहेको नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) ले अब प्रदेशस्तरमा शाखा विस्तार गर्ने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार आगामी आर्थिक वर्ष २०७९/८० मा यस्तो योजना रहेको छ।योजनामा भनिएको छ, ‘सबै प्रदेशमा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानका शाखा विस्तार गरी सञ्चालनमा ल्याउने ।’ यसबाट होटल तथा ट्राभल, ट्रेकिङ विषयमा मध्यम तथा उच्च गुणस्तरको जनशक्ति विकास हुने मन्त्रालयको भनाइ छ।