दिल्लीबाट ऊर्जामा लगानीको आग्रह
2022-07-08 16:05:36CRI
Share with:

नेपालमा जलविद्युत्को प्रचुर सम्भावना तथा अवसर रहेकाले त्यसमा लगानी गर्न नेपालले भारतीय लगानीकर्ताहरूलाई आग्रह गरेको छ । दिल्लीस्थित नेपाली दूतावासले बिहीबार दी एसोसिएटेड चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्री अफ इन्डिया (एस्सोचाम) सँगको सहकार्यमा गरेको कार्यक्रममा राजदूत शंकरप्रसाद शर्माले विश्व बैंकको अध्ययनले नेपालले ३५ हजारदेखि ४० हजार मेगावाटसम्म बिजुली निर्यात गर्न सक्ने सम्भावना देखाएको जनाउनुभयो। 

ऊर्जा क्षेत्रमा भारतसँग साझा सहकार्यमा काम गर्न नेपाल सदैव तयार रहेको बताउँदै उहाँले सहकार्यका लागि आउन भारतीय ऊर्जा क्षेत्रका लगानीकर्तालाई आग्रह गर्नुभयो। नेपालमा जलविद्युत्को सम्भावना तथा अवसरहरूबारे जानकारी दिन भारतका ऊर्जा क्षेत्रका लगानीकर्ता तथा विषयविज्ञहरूसँग गरिएको अन्तरक्रियामा शर्माले नेपालले गत महिनादेखि भारतलाई ३ सय ६४ मेगावाट बिजुली पठाउन थालेको र यसबाट निर्यातको ढोका खुलेको उल्लेख गर्नुभयो। 

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालसँग जलविद्युत् उत्पादनको अवसर प्रशस्त रहे पनि खपतको क्षमता नरहेको बताउनुभयो। उत्पादन बढाएसँगै बजारको व्यवस्थापन र क्रस बोर्डर प्रसारण लाइन निर्माणमा समेत नेपालले ध्यान दिइरहेको उहाँको भनाइ छ । भारतमा थोरै बिजुली निर्यात थालिसकेको र बंगलादेश निर्यातको कोसिसमा आफूहरू लागिपरेको घिसिङले जानकारी दिनुभएको कान्तिपुर अनलाइनले लेखेको छ।

नेपालले गत महिनादेखि ३ सय ६४ मेगावाट बिजुली भारतलाई निर्यात गर्न थालेको छ । भारतमा बिजुली बेचेबापत प्राधिकरणले प्रतिदिन औसत ७ देखि १० करोड रुपैयाँ कमाउन थालेको छ ।

कार्यक्रममा ऊर्जा मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवालले नेपालमा ऊर्जा क्षेत्रमा लगानीको अवसर रहेकामा जोड दिनुभयो। सरकारले ऊर्जा क्षेत्रमा ल्याएका विभिन्न नीतिनियमबारे सरोकारवालालाई जानकारी गराउनुभयो।  नेपालले पिक सिजनमा २२ सय मेगावाट बिजुली उत्पादन गर्दै छ । र, उक्त सिजनको खपत १६–१७ सय मेगावाट मात्रै छ । बर्खायाममा नेपालले सरप्लस बिजुली भारतलाई निर्यात थालेको हो । भारतले आफूसँग ऊर्जा सहकार्य नगरेका छिमेकी मुलुकले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लगानी गरेका परियोजनाबाट बिजुली नलिने नीति लिएकाले चीनको लगानी रहेका परियोजनाबाट उत्पादित बिजुली नेपालले भारतलाई बेच्न पाएको छैन । 

आगामी ५ वर्षसम्म बर्सेनि एक हजार मेगावाट बिजुली उत्पादन नेपालमा थपिने सम्भावना छ । कार्यक्रममा भारतको ऊर्जा मन्त्रालयका सहसचिव राघुराज माधव राजेन्द्रमले नेपालसँग सहकार्य गर्न भारत सदैव आतुर रहने उल्लेख गर्नुभयो।

गत अप्रिलमा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका बेला दुई देशबीच ऊर्जा व्यापारका क्षेत्रमा सहकार्य गर्ने सहमति भएको थियो । दुई देशका प्रधानमन्त्री तहमा भएका ऊर्जा उत्पादन, प्रसारण र व्यापारका साझा प्रतिबद्धता र सहकार्यका विषयले धेरै सकारात्मक वातावरण निर्माण गरेको नेपाली वक्ताहरूको जोड थियो ।