नेपालमा ६० हजार १ सय ८५ वटा औद्योगिक प्रतिष्ठान रहेको तथ्यांक
2022-07-09 16:10:51CRI
Share with:

नेपालमा ६० हजार १ सय ८५ वटा औद्योगिक प्रतिष्ठान रहेको तथ्यांक सार्वजनिक भएको छ । केन्द्रीय तथ्यांक विभागले ‘राष्ट्रिय औद्योगिक सर्वेक्षण–०७६’ मार्फत शुक्रबार यस्तो तथ्यांक सार्वजनिक गरेको हो । विभागले ०७५ साउन १ देखि ०७६ असार अर्थात् आर्थिक वर्ष २०७५/७६ को सर्वेक्षणमा आधारित विवरण सार्वजनिक गरेको जनाएको छ । सर्वेक्षणअनुसार उत्पादन क्षेत्रमा सबैभन्दा बढी ५६ हजार ६ सय ११ वटा उद्योग सञ्चालनमा छन् । त्यस्तै खानी तथा उत्खनन क्षेत्रमा ३ सय ५६ वटा, विद्युत् तथा ग्यास उत्पादन क्षेत्रमा ९ सय ९४ वटा पानी आपूर्ति, ढल निकास र फोहोरमैला व्यवस्थापन क्षेत्रमा २ हजार २ सय २४ वटा प्रतिष्ठान सञ्चालनमा रहेको देखिन्छ । यस्ता उद्योग प्रतिष्ठानमा संलग्न व्यक्तिको संख्या ४ लाख ९१ हजार २ सय २७ छ भने ३ लाख ८१ हजार ६ सय ८७ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । यसमध्ये उत्पादन क्षेत्रमा संलग्न व्यक्तिको संख्या मात्र ४ लाख ४४ हजार ९ सय ६४ छ । 

नयाँ तथ्यांकअनुसार हाल सञ्चालित उद्योगको कुल सम्पत्ति ६ खर्ब १९ अर्ब ५१ करोड रुपैयाँ बराबर देखिन्छ । त्यसैगरी उद्योग सञ्चालनको अवस्थाबारेको विवरण पनि सर्वेक्षणले समेटेको छ । ‘७६ प्रतिशत उद्योग प्रतिष्ठान वर्षमा २ सय ७० दिन सञ्चालन हुने गरेको देखिएको छ । त्यस्तै १९ प्रतिशत उद्योग प्रतिष्ठान १ सय ८० देखि २ सय ६९ दिन, ४ प्रतिशत उद्योग ९० देखि १ सय ७९ दिन र बाँकी १ प्रतिशत उद्योग वार्षिक ९० भन्दा कम दिन मात्रै सञ्चालनमा रहेको देखिएको छ,’ प्रतिवेदनमा भनिएको छ ।

तथ्यांक विभागको विवरणअनुसार पूर्ण क्षमतामा उत्पादन गरिरहेका उद्योगको संख्या ३९.९ प्रतिशत छ । १८.७ प्रतिशत उद्योग ७५ देखि ९९, २९.१ प्रतिशत उद्योग ५० देखि ७४, १०.३ प्रतिशत उद्योग २५ देखि ४९ र बाँकी २५ प्रतिशतभन्दा कम उत्पादन क्षमतामा सञ्चालन भइरहेको देखिएको छ । सर्वेक्षण सन्दर्भ समय तोकिएको आर्थिक वर्ष ०७५/७६ मा १० जनाभन्दा कम व्यक्ति संलग्न रहेको साना उत्पादनशील उद्योगमध्ये ३४ प्रतिशतले मात्र बैंक तथा वित्तीय संस्थासँग ऋण लिएको देखिन्छ । 

कोभिड महामारी रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनका बेला ६३ प्रतिशत उद्योग पूर्ण रूपमा बन्द भएको पनि सर्वेक्षणमा उल्लेख छ । २४ प्रतिशत उद्योग प्रतिष्ठानहरू आंशिक रूपमा सञ्चालन रहेको र बाँकी १३ प्रतिशत प्रतिष्ठान पूर्ण रूपमा सञ्चालनमा रहेको उल्लेख छ । लकडाउनका समयमा करिब १७ प्रतिशत कामदारले बिनासुविधा स्थायी रूपमा आफूहरूले गरिरहेको काम छाड्नुपरेको सर्वेक्षणले देखाएको छ । ६० प्रतिशत कामदारले बिनातलब सुविधा अस्थायी रूपमा कामबाट अलग हुनुपरेको उल्लेख छ । त्यसैगरी ११ प्रतिशत कामदारको तलब सुविधा आंशिक रूपमा कटौती भएको र बाँकी १२ प्रतिशत कामदारले तलब सुविधा निर्धारित समयभन्दा ढिला पाएको सर्वेक्षणले देखाएको छ । कान्तिपुर।