नेपालबाट आधिकारिक रुपमा पहिलो पटक भारतमा सिमेन्ट निर्यात सुरु
2022-07-09 16:24:58CRI
Share with:

नेपालबाट आधिकारिक रुपमा पहिलो पटक भारतमा सिमेन्ट निर्यात सुरु भएको छ। पश्चिम नवलपरासीको सुनवल-७ मा रहेको पाल्पा सिमेन्टले स्थापनाको चार वर्षमै आफ्नो उत्पादन भारत निर्यात गरेको हो। शुक्रबार एक समारोहबीच पाल्पा सिमेन्ट इन्डष्ट्रीज लिमिटेडले तानसेन सिमेन्ट भारततर्फ निकासी शुभारम्भ गरेको हो। अहिलेको बजेटमार्फत् नेपाल सरकारले वनाएको वातावरणलाई सदुपयोग गर्दै सिमेन्ट भारततर्फ निकासी सुरु गरेको पाल्पा सिमेन्ट इन्डष्ट्रिज लिमिटेडका जनसम्पर्क प्रबन्धक जीवन निरौलाले जानकारी दिनुभयो।

नेपाल सिमेन्टमा आत्मनिर्भर बनेपछि सिमेन्ट भारत जान लागेपछि उद्योगी खुसी देखिएको गोरखापत्र अनलाइनले लेखेको छ। भारततर्फको निकासीले आर्थिक गतिविधिलाई थप चलायमान गराउने अनुमान गरिएको छ। त्यस्तै नेपाल आयत गर्ने देशको सूचीमा रहे पनि सिमेन्टमा आत्मनिर्भर भएर भारततर्फ पनि निर्यात गर्नु ठूलो उपलब्धि भएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको भनाइ छ। 

पाल्पा सिमेन्ट इन्डष्ट्रीजद्वारा उत्पादित तानसेन सिमेन्ट भारततर्फ निकासी गर्नु गर्वको विषय भएको सुनवल नगरपालिकाकी नगर प्रमुख विमला अर्यालको भनाइ छ। नेपालमा ५० भन्दा धेरै सिमेन्ट उद्योग संचालमा छन्। जसमध्ये पाल्पा सिमेन्ट इन्डष्ट्रीजसहित १५ ओटा सिमेन्ट उद्योगले सिमेन्ट र क्लिंकर दुवै उत्पादन गर्दै आएका छन्। नेपालमा सिमेन्ट उद्योगको वार्षिक उत्पादन क्षमता करिब दुई करोड २० लाख टन रहेको विभिन्न तथ्यांकले देखाएको छ।