नेपालमा बकर इद मनाइँदै, राष्ट्रपति, प्रधानमन्त्री लगायतको शुभकामना
2022-07-10 16:01:21CRI
Share with:

मुस्लिम समुदायको ठूलो चाडको रुपमा रहेको बकर इद नेपालमा मनाइँदैछ। राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीहरुको महान् पर्व इद उल अज्हा (बकर इद) संयमता, धैर्यता, विश्व शान्ति र भाइचाराको सन्देश दिने चाड भएको बताउनुभएको छ। इदको शुभकामना सन्देश दिनुहुँदै राष्ट्रपति भण्डारीले यो पर्व एक आपसमा खुसी, सद्भाव तथा शुभकामना आदानप्रदान गरी मनाउने पर्व भएको बताउनुभएको हो। राष्ट्रपति भण्डारीले नेपाली समाज विविध जातजाति, भाषभाषी र संस्कृतिहरुको सुन्दर फूलबारी रहेको बताउनुभयो। 

‘नेपाली समाज विविध जातजाति, भाषाभाषी र संस्कृतिहरूको सुन्दर फूलबारीको रूपमा रहेको छ । यही विविधता बीचको एकता नै हाम्रो राष्ट्रिय पहिचान र सामर्थ्य हो, उहाँले भन्नुभयो, ‘यस्ता चाडपर्वहरूको माध्यमबाट फरक भूगोल‚ संस्कृति र भाषाभाषीका समुदायहरू बीच आपसी एकता‚ सद्‍भाव‚ सहिष्णुताको भावना अभिवृद्धि भई नेपालीहरूको वृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने मैले विश्‍वास लिएको छु।’

त्यस्तै, राष्ट्रपति भण्डारीले बकर इदले सबै नेपालीलाई आ–आफ्नो मौलिक परम्परा र संस्कृतिको संरक्षण‚ संवर्द्धन र विकास गर्दै प्रगतिशील‚ सभ्य एवम् सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा मिल्ने विश्वास लिनुभएको छ।

गोरखापत्र अनलाइनका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इद उल अज्हा (बकर इद) को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली मुस्लिम दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ। 

उहाँले शुभकामना सन्देशमार्फत यस पर्वले सबै नेपालीलाई आफ्नो मौलिक परम्परा र संस्कृतिको संरक्षण, सम्बद्र्धन र विकास गर्दै सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भनी शुभकामना दिनुभएको छ । बकर इद धैर्यता, विश्व शान्ति र भाइचाराको सन्देश दिने पर्व भएको उल्लेख गर्दै प्रधामन्त्री देउवाले यस पर्वले एकआपसमा खुसी र सद्भाव बढाउने विश्वास व्यक्त गर्नुभएको छ । 

यस्ता चाडपर्वहरूले सबै समुदायबीच आपसी सद्भाव, भाइचारा र  सहिष्णुता अभिवृद्धि भई राष्ट्रिय एकतालाई थप मजबुत बनाउने विश्वास लिनुभएको छ। नेपाली समाज विविध जातजाति, भाषाभाषी र संस्कृतिको साझा फूलबारीको रूपमा रहेको उल्लेख गर्र्दै प्रधानमन्त्री देउवाले यहीँ विविधताबीचको एकता नै हाम्रो राष्ट्रिय पहिचान भएको बताउनुभएको छ ।