चिनियाँ नेता लिउद्वारा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता
2022-07-11 16:31:50cri
Share with:

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को विदेश विभागका प्रमुख लिउ च्यानछाओले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्नु भएको छ। प्रधानमन्त्री देउवासँग भेटेर उहाँले नेपालमा जुन पार्टीको सरकार भए पनि चीनले मिलेर काम गर्न चाहेको स्पष्ट पार्नु भएको छ। नेपाली कांग्रेसका सभापति समेत रहनु भएका प्रधानमन्त्री देउवासँग भएको भेटमा लिउले पार्टीको हिसाबमा नेपालमा सबभन्दा पहिले कांग्रेससँग सम्बन्ध स्थापित गरेको स्मरण गर्दै यस सम्बन्धलाई थप बलियो बनाउन चाहेको बताउनु भएको नेपाल भ्युज अनलाइनले लेखेको छ।

उहाँले देउवासँग नेपाल वा कुनै पनि देशसँगको चीनको सबन्ध विचारधाराद्वारा निर्देशित नहुने समेत स्पष्ट पार्नुभयो। ‘‘नेपालमा जुनसुकै पार्टीको सरकार भए पनि चीन मिलेर काम गर्छ। हाम्रो कुनै पनि मुलुकसँगको सम्बन्ध विचारद्वारा निर्देशित हुँदैन,’’ लिउको भनाइ उद्धृत गर्दै देउवाका प्रेस संयोजक गोविन्द परियारले भन्नुभयो, ‘‘चीन हाम्रो सुरक्षा चासो र एक चीन नीतिमा नेपालको समर्थन रहन्छ भन्ने विश्वास गर्छ भन्नुभयो।’’

जवाफमा प्रधानमन्त्री देउवाले नेपालले सबै छिमेकीसँग मिलेर काम गर्न चाहेको र एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनु भएको छ। गत महिना मात्रै पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुखको जिम्मेवारी पाउनु भएका लिउलाई बधाई दिँदै देउवाले नेपाली भूमि आफ्नो छिमेकीविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रधानमन्त्री देउवाले चिनियाँ नेता लिउलाई आफू एक चीन नीतिमा प्रतिबद्ध रहेकै कारण नेपालमा रहेको दलाइ लामाको सम्पर्क कार्यालय हटाएको भन्दै विश्वस्त तुल्याउनुभयो। भेटका क्रममा सन् २०१९ मा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले नेपाल भ्रमणका क्रममा घोषणा गर्नु भएको ५६ अर्ब १७ करोडभन्दा बढी अनुदान सहयोग कार्यान्वयनमा लैजाने सहमति भएको छ। सीले भ्रमणका क्रममा समकक्षी विद्यादेवी भण्डारीसँगको दिपक्षीय भेटमा उक्त रकम सहयोग गर्ने घोषणा गर्नु भएको थियो।

सन् २०२० देखि लागू हुने गरी सन् २०२२ भित्रमा उक्त रकम दिइसक्ने गरी सीले घोषणा गर्नु भए पनि नेपालले थप पहल नलिएका कारण सहयोग कार्यन्वयनमा जान सकेको थिएन।