नेपालमा महँगी गतवर्ष भन्दा दोब्बर
2022-07-12 16:25:37cri
Share with:

चालु आर्थिक वर्षको सुरुदेखि नै बाह्य क्षेत्रका कारण नेपालको अर्थतन्त्रमा समस्या आएको बेला जेठको तथ्यांक भने केही सकारात्मक देखिएको छ। नेपाल राष्ट्र बैंकले सोमबार प्रकाशित गरेको चालु आर्थिक वर्षको ११ महिनाको आर्थिक तथा वित्तीय तथ्यांकले महँगी र चालु खाता घाटा बाहेक अन्य सूचकमा सामान्य सुधार देखिएको नागरिक अनलाइनले लेखेको छ। रेमिटेन्स आय ३.८ प्रतिशतले बढेको छ भने विदेशी मुद्राको सञ्चिति पनि वैशाखको तुलनामा जेठमा १७ करोड अमेरिकी डलर बढेको छ। यस्तै शोधनान्तर घाटा पनि वैशाख भन्दा जेठमा १९ अर्ब रूपैयाँले कम भएको छ। आयात बढेकाले व्यापार घाटा भने कम भएको छैन।  

राष्ट्र बैंकका अनुसार जेठमा उपभोक्ता मूल्य वृद्धि ८.५६ प्रतिशत पुगेको हो। अघिल्लो वर्षको जेठमा महँगी ४.१९ प्रतिशत मात्र थियो। यो गतवर्षको तुलनामा दोब्बर हो।  

जेठमा खाद्य तथा पेय पदार्थ समूहको महँगी ७.४३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको महँगी ९.४४ प्रतिशत छ। राष्ट्र बैंकका अनुसार गत वर्ष जेठको तुलनामा यो जेठमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेल, दुग्ध पदार्थ तथा अण्डा, सुर्तीजन्य पदार्थ, मदिराजन्य पेय पदार्थ र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि क्रमशः २२.६०, ११.२२ , ९.७० , ९.६८ र ९.१३ प्रतिशत पुगेकोे छ।  

यस्तै गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात, शिक्षा, फर्निसिङ तथा घरायसी उपकरणहरू, मनोरञ्जन तथा संस्कृति र घरायसी उपयोगका वस्तुहरू उपसमूहको महँगी क्रमशः २५.७९ , ११.६४, ८.३० , ८.२१ र ७.८४ प्रतिशत पुगेको छ।

जेठमा काठमाडौं उपत्यकामा ८.३२ प्रतिशत, तराईमा ८.२९ प्रतिशत, पहाडमा ९.२८ प्रतिशत र हिमालमा ८.९२ प्रतिशतले महँगी बढेको छ। गत वर्ष जेठमा यी क्षेत्रमा क्रमशः ३.८७ , ४.४७, ४.३२ र १.७२ प्रतिशत महँगी पुगेको थियो। राष्ट्र बैंकका अनुसार जेठसम्म कुल वस्तु निर्यात ५३.३ प्रतिशतले बढेर १ खर्ब ८५ अर्ब ८४ करोड पुगेको छ। यो अघिल्लो वर्षको तुलनामा ३७.८ प्रतिशतले बढी हो। भारत तथा अन्य मुलुकतर्फको निर्यात क्रमशः ६१.८ प्रतिशत र ३०.१ प्रतिशतले बढेको छ भने चीनतर्फको निर्यात २१.४ प्रतिशतले घटेको छ।  

वस्तुगत आधारमा पाम तेल, सोयाविन तेल, धागो (पोलिष्टर तथा अन्य), ऊनी गलंैचा, जिंक सिट लगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, चिया, औषधी (आयुर्वेदिक), दन्त मञ्जन, तार लगायतका वस्तुको निर्यात घटेको छ। कञ्चनपुर र मेची भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ।  

यस्तै कुल वस्तु आयात २७.५ प्रतिशतले बढेर १७ खर्ब ६३ अर्ब २२ करोड पुगेको छ। अघिल्लो वर्ष आयात २५.७ प्रतिशतले बढेको थियो। भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २४.२ प्रतिशत, १६.० प्रतिशत र ४६.१ प्रतिशतले बढेको छ। वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधी, कच्चा पाम तेल, सुन, अन्य मेसिनरी तथा पार्ट्सलगायतका वस्तुको आयात बढेको छ भने एम एस विलेट, रासायनिक मल, सिमेन्ट, धान तथा चामल, दाल लगायतका वस्तुको आयात घटेको छ।

राष्ट्र बैंकका अनुसार यो जेठसम्ममा कुल वस्तु व्यापार घाटा २५.० प्रतिशतले बढेको छ। अहिलेसम्म १५ खर्ब ७७ अर्ब ३९ करोड कुल व्यापार घाटा पुगेको हो। अघिल्लो वर्ष जेठसम्म यस्तो घाटा २४.६ प्रतिशतले बढेको थियो। अहिले निर्यात–आयात अनुपात १०.५ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यस्तो अनुपात ८.८ प्रतिशत थियो।  

आर्थिक वर्गीकरण अनुसार जेठसम्मको कुल निर्यातमा मध्यवर्ती र अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ४७.४ प्रतिशत र ५२.६ प्रतिशत छ भने पुँजीगत वस्तुको अनुपात ०.०२ प्रतिशत मात्र रहेको छ।

जेठसम्ममा खुद सेवा आय ९९ अर्ब ९३ करोडले घाटामा पुगेको छ। अघिल्लो वर्ष यो .६३ अर्ब ८९ करोडले घाटामा थियो। सेवा खाता अन्तर्गत भ्रमण आय २८१.३ प्रतिशतले बढेर २५ अर्ब ५२ करोड पुगेको छ। अघिल्लो वर्ष यो ६ अर्ब ६९ करोड थियो। सेवा खाता अन्तर्गत भ्रमण व्यय १७०.८ प्रतिशतले बढेर ८३ अर्ब ३७ करोड पुगेको छ। यसमध्ये शिक्षातर्फको व्यय ५९ अर्ब ९९ करोड छ। अघिल्लो वर्षको भ्रमण खर्च ३० अर्ब ७९ करोड रहेकामा शिक्षातर्फको व्यय २३ अर्ब ४५ करोड थियो  

राष्ट्र बैंकका अनुसार जेठसम्म आइपुग्दा विप्रेषण आय ३.८ प्रतिशतले बढेको छ। जेठसम्म ९ खर्ब ४ अर्ब १८ करोड रेमिटेन्स आएको हो। अघिल्लो वर्ष जेठसम्म रेमिटेन्स १२.६ प्रतिशतले बढेको थियो।  

अर्कोतर्फ वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ३ लाख १३ हजार पुगेको छ। वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या २ सय ८.३ प्रतिशतले बढेर भई २ लाख ५९ हजार ९१ पुगेको छ। राष्ट बैंकका अनुसार चालु खाता ५९५ अर्ब ७३ करोडले घाटामा पुगेको छ। अघिल्लो वर्ष यो २९८ अर्ब ११ करोडले घाटामा थियो। यो अवधिमा खुद प्रत्यक्ष वैदेशिक लगानी ७.१ प्रतिशतले बढेर १७ अर्ब ३५ करोड पुगेको छ।

अघिल्लो वर्ष प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब २० करोड थियो। यस्तै जेठसम्म शोधनान्तर स्थिति २६९ अर्ब ८१ करोडले घाटामा पुगेको छ। अघिल्लो वर्ष जेठमा शोधनान्तर स्थिति १५ अर्ब १५ करोडले मात्र घाटामा थियो। असार मसान्तमा १३९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चितिमा जेठसम्म १५.९ प्रतिशतले कमी आएर ११७६ अर्ब ८४ करोडमा झरेको छ।  

अमेरिकी डलरमा यस्तो सञ्चिति गत असारको ११ अर्ब ७५ करोड रहेकोमा जेठसम्म ९ अर्ब ४५ करोड कायम भएको हो। अहिलेसम्मको आयातलाई आधार मान्दा विदेशी विनिमय सञ्चितिले ७.५३ महिनाको वस्तु आयात र ६.७३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ।  

जेठसम्ममा बैंकहरूमा रहेको निक्षेप ५.७ प्रतिशतले बढेको छ भने कुल आन्तरिक कर्जा १२.४ प्रतिशतले बढेको छ। बैंकहरूले निजी क्षेत्रलाई दिने कर्जा भने १३.५ प्रतिशतले बढेको छ।