इजरायल र कोरियाको रोजगारीले रेमिट्यान्स बढ्ने
2022-07-14 16:12:20cri
Share with:

नेपाली कामदारका लागि आम्दानीका हिसाबले आर्कषक श्रम गन्तव्य इजरायल र कोरियाको रोजगारी पुनः सुरु भएसँगै रेमिट्यान्स थप बढ्ने देखिएको छ। विगत दुई वर्ष रोकिएर पुनः सुरु भएको कोरिया र हालै सुरु भएको इजरायल जाने नेपालीले मासिक औसत २ लाख रुपैयाँ पारिश्रमिक पाउने भएका कारण पनि आगामी दिनमा नेपाल आउने रेमिट्यान्स वृद्धि हुने देखिएको कारोबार अनलाइनले लेखेको छ।
चालू आर्थिक वर्षको ११ महिनामा रेमिट्यान्समा सामान्य वृद्धि भएको देखिए पनि इजरायलको रोजगारी सुरु भएको र कोरियाको भाषा परीक्षा भइरहेका कारण आगामी वर्ष रेमिट्यान्स वृद्धि हुने भएको छ। इजरायलको रोजगारी ६ महिनापछि पुनः सुरु भएसँगै थप ९०० नेपाली साउनको दोस्रो साताबाट इजरायल जाने वैदेशिक रोजगार विभागमा निर्देशक श्रीचन्द्र साहले बताउनुभयो। “हामी इजरायल जाने युवाको सबै प्रक्रिया पूरा गरेर भिसा प्राप्त भएलगत्तै सातामा २ वटा उडानमार्पmत छनोट भएका सबै युवालाई इजरायल पठाउने तयारीमा छौं,” निर्देशक साहले भन्नुभयो, “जतिसक्दो चाँडो श्रमिक इजरायल पठाउने तयारीमा छौं।”
रोजगारीका लागि इजरायल जान छनोट भएर रोकिएका श्रमिकलाई शीघ्र पठाउने सम्बन्धमा वैदेशिक रोजगार विभागले प्रक्रिया अघि बढाएको छ। विभागले प्रक्रिया अगाडि बढाउन कोभिड खोपको पछिल्लो मात्रा पूरा गरेका र पूर्व प्रस्थान अभिमुखीकरणमा सहभागी हुन छनोट भएका युवासँग आग्रह गरेको छ। यसअघि छनोट भएर इजरायल गएका २९७ बाहेकको पुनः स्वास्थ्य परीक्षणको काम भने सकिएको छ।
नेपाल राष्ट्र बैँकले पछिल्लो समय सार्वजनिक गरेको रेमिट्यान्स सम्बन्धी अध्ययनमा खाडी मुलुकहरु र मलेसिया बाहेक रेमिट्यान्स प्राप्त हुने अन्य मुलुकहरुमा संयुक्त राज्य अमेरिका, जापान, दक्षिण कोरिया र इजरायल महत्वपूर्ण गन्तव्य रहेका छन्। कोरियाबाट कोरोना संक्रमणअघि ६ अर्ब २० अर्थात् सम्पूर्ण रेमिट्यान्सको २ प्रतिशत भित्रिने गरेकोमा इजरायलबाट १ प्रतिशतभन्दा कम रहेको देखिन्छ।
यसैगरी राष्ट्र बैंकले हालै सार्वजनिक गरेको आर्थिक तथा वित्तीय प्रतिवेदनमा ११ महिनामा रेमिट्यान्स आप्रवाह ३.८ प्रतिशतले वृद्धि भई ९०४ अर्ब १८ करोड पुगेको उल्लेख छ। अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह १२.६ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १.५ प्रतिशतले वृद्धि भई ७ अर्ब ५१ करोड पुगेको उल्लेख छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १०.५ प्रतिशतले बढेको थियो। बैंकले समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई ३ लाख १३ हजार ३६७ पुगेको जनाएको थियो। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६८ प्रतिशतले घटेको थियो। त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या सो अवधिमा २०८.३ प्रतिशतले वृद्धि भई २ लाख ५९ हजार ९१ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५२.१ प्रतिशतले घटेको थियो। धेरै रेमिट्यान्स आउने खाडी बाहेक प्रमुख श्रम गन्तव्य मलेसियामा कामदार जाने क्रम बन्द भएका कारण विगत केही वर्षयता मलेसियाबाट प्राप्त विप्रषेण पनि घटेको छ। मलेसियासँग द्विपक्षीय सम्झौतापश्चात् आगामी दिनमा मलेसिया जानेको संख्याका साथै त्यहाँबाट प्राप्त रेमिट्यान्समा वृद्धि हुने अनुमान रहेको छ।