नेपाल चीन सांस्कृतिक सम्पदाको आपसी सिकाइमा साझा हुर्काइ #समाचारसन्दर्भ
2022-07-19 15:58:51cri
Share with:

लगभग पाँच वर्षको प्रयासपछि हालै चिनियाँ सांस्कृतिक सम्पदा अनुसन्धान परिषदको कार्य टोलीले काठमाडौँ दरबार चोक वसन्तपुरमा रहेको नौ तले मन्दिरको वास्तु अवशेष समूहको मूल भागको मर्मत सफलतापूर्वक सम्पन्न गरेको छ। नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले उक्त मर्मत परियोजनाको प्रशंसा गर्दै भवन समूहको "मौलिक प्रामाणिकता, अखण्डता र विश्वकोलागि उत्कृष्ट मूल्य" लाई राम्रोसँग कायम राखिदिएको जनाएका छन्। साथै महानिर्देशक दामोदरले परियोजनामा सहभागी चिनियाँ विज्ञहरुलाई धन्यवाद पनि व्यक्त गरेका छन्। नेपाली राष्ट्रपति विद्यादेवी भण्डारीले सन् २०२०को फेब्रुअरीमा सो परियोजनाको निरीक्षण गर्दा यसो भन्नुभएको थियो: "यस परियोजनाले प्राचीन नेपाली धार्मिक कलालाई आधुनिक चिनियाँ जिर्णोद्धार प्रविधिसँग जोडेको छ र सांस्कृतिक सम्पदाको संरक्षणात्मक जिर्णोद्धार गरेको छ। यो सिक्न लायक कुरा हो।"

वसन्तपुरमा अवस्थित नौ तले मन्दिरले ५,६०० वर्ग मिटर क्षेत्रफल ओगटेको छ। प्यागोडा शैलीमा निर्मित यो मन्दिर नेपालमा बसोबास गर्न प्रयोग गरिएको एउटै मात्र दरबार भवन पनि हो जसको उच्च कलात्मक र ऐतिहासिक महत्व छ। सन् २०१५ को अप्रिल तथा मे महिनामा नेपालमा गएको विनाशकारी भूकम्पले नौ तले मन्दिर भवन समूह गम्भीर रूपमा क्षतिग्रस्त भएको थियो साथै केही भाग भत्किनुका साथै समग्र रूपमा गम्भीर क्षति पुगेको थियो।

उक्त विनाशकारी भूकम्पपछि नेपाल चीन दुवै सरकारको परामर्शमा चिनियाँ टोलीले नौ तले मन्दिरको मर्मत गर्ने निर्णय गरेको थियो। सन् २०१७ अगस्टमा औपचारिक रूपमा जिर्णोद्धार कार्य शुरू गरिएको थियो। यो चीनले नेपालमा जिर्णोद्धार थालेको पहिलो पूरातात्विक वस्तु जिर्णोद्धार परियोजना हो। नौ तले मन्दिर अवस्थित दरबार चोक क्षेत्रलाई नेपालीमा वसन्तपुर भनिन्छ, उक्त अर्थ सदा वसन्त ऋतुको भूमि हो। वास्तवमा, नेपाल चीन पूरातात्विक वस्तु जिर्णोद्धार टोलीको संयुक्त सहयोगमा यस पुरानो मन्दिरमा पनि फेरि वसन्त फर्केको छ।

यस चिनियाँ विदेशी पूरातात्विक वस्तु जिर्णोद्धार टोलीले नेपालमा मात्र नभई उज्वेकिस्तानको खिवा प्राचीन सहर, कम्बोडियाको अङ्गोर वाटमा पनि जिर्णोद्धारको काम गरेका थिए। उनीहरूले “न्यूनतम हस्तक्षेप” तथा“पुरानो जस्तै”मर्मत उपाय अपनाएबाट विभिन्न मुलुकका जनताबाट उचित मान्यता र प्रशंसा प्राप्त गरेका छन्।

सन् २०२० सम्म ऐतिहासिक सम्पदाको संरक्षण र पुनर्स्थापनाका लागि चीनको वैदेशिक सहायता तथा सहयोग परियोजना ६ देशका ११ ठाउँमा फैलिएको छ। जसबाट सरकार सरकारबीच सांस्कृतिक सम्पदा संरक्षणमा स्थिर र बहुआयामिक सहयोग सञ्जाल स्थापना भएको छ। विश्व सांस्कृतिक सम्पदाको संरक्षण गर्ने अन्तर्राष्ट्रिय सहयोग मञ्चमा चीनले आफ्नो जिम्मेवारी, चिनियाँ बुद्धि र चिनियाँ प्रविधिको प्रदर्शन गर्नुका साथै विभिन्न सभ्यताको आदानप्रदान र आपसी सिकाइमा योगदान दिएको छ।

सन् २०१९ मेमा एसियाली सभ्यताको संवाद सम्मेलनको उद्घाटन समारोहमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङको मुख्य सम्बोधनजस्तै, “चीन विभिन्न देशहरूसँग एसियाली सांस्कृतिक सम्पदाको संरक्षण गतिविधि गर्न र सभ्यताको अझै उचित रूपमा हस्तान्तरण गर्न आवश्यक सहयोग उपलब्ध गराउन इच्छा राखेको छ।"

मेलमिलाप, सहयोग र सहअस्तित्वबाट सुन्दर संसारलाई उज्यालो बनाउनु, यो चीनलगायत विश्वका सबै देशको आवाज र दृष्टिकोण हो। सभ्यताको आदान-प्रदान र आपसी सिकाइलाई विभिन्न देशका जनताबीच मित्रता अभिवृद्धि गर्ने पुल, मानव समाजको प्रगति गर्ने शक्ति, विश्व शान्ति कायम राख्ने बन्धन बनाएर सुन्दर विश्व निर्माणमा गहिरो र दिगो शक्ति थप्नुपर्छ।