विदेश भ्रमणमा जानेले विमानस्थलबाट २ सय डलरसम्म सटही सुविधा पाउने
2022-07-21 17:54:23cri
Share with:

विदेश भ्रमणमा जाने नेपाली नागरिकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ सय अमेरिकी डलरसम्मको सटही सुविधा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै विदेशी मुद्रा बिक्री गर्न इजाजतप्राप्त मनी चेन्जरले यो सुविधा दिन सक्ने व्यवस्था गरिएको कान्तिपुर अनलाइनले लेखेको छ।

 

हाललाई त्रिभुवन विमानस्थलमा रहेको विदेशी मुद्रा बिक्रीका लागि इजाजतप्राप्त मनी चेन्जरले मात्रै यो सुविधा दिनेछ । केही वर्षयता यो व्यवस्था थिएन । राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक रामु पौडेलले यो व्यवस्थाले भ्रमणमा जानेलाई सहज हुने बताउनुभयो। ‘नगद विदेशी मुद्रा नपुग्नेजस्तो लागेमा अधिकतम सीमाभित्र रही इजाजतप्राप्त अन्तर्राष्ट्रिय विमानस्थलका मनी चेन्जरबाट नागरिकले पासपोर्टका आधारमा यो सुविधा लिन सक्नेछन्’ उहाँले भन्नुभयो '२ सय डलरभन्दा धेरै चाहिनेले त बैंकबाटै सटही सुविधा लिन्छन् ।'

 

विदेश भ्रमणमा जानेले बैंकबाट अधिकतम १५ सय डलरसम्मको सटही सुविधा पाउने व्यवस्था छ। यदि बैंकबाट १५ सय डलरको सटही सुविधा लिइसकेकाले भने मनी चेन्जरबाट थप सटही सुविधा पाउने छैनन् । बैंकबाट १३ सय डलर वा सोभन्दा कमको सटही सुविधा लिइसकेकाले विमानस्थलबाट थप २ सय डलरसम्मको सटही सुविधा पाउने भएका हुन् । कामको सिलसिलामा विदेश जानेका लागि भने अधिकतम २ सय डलरसम्मको सटही सुविधा छ । उनीहरुले भने बैंकबाटै सटही सुविधा लिनुपर्नेछ।