एक वर्षमा ७२८ मेगावाट बिजुली राष्ट्रिय प्रसारणमा
2022-07-21 17:52:38cri
Share with:

मुलुकका विभिन्न भागमा उत्पादित बिजुलीमध्ये गत आर्थिक वर्षमा ७ सय २८ मेगावाट राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। गत आव २०७८-७९ मा ४५६ मेगावाटको माथिल्लो तामाकोसी सहित विभिन्न जलविद्युत् आयोजनाले उत्पादन गरेको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको नागरिकन्यूज डटकमले जनाएको छ। आर्थिक वर्ष २०७७/७८ सम्म राष्ट्रिय प्रसारण लाइनमा जडित क्षमता १४ सय ६२ मेगावाट रहेको थियो। त्यसमा नेपाल विद्युत् प्राधिकरण मातहतका आयोजनाबाट ६ सय ४७ मेगावाट जडित क्षमता पुगेको थियो। त्यसैगरी प्राधिकरणको सहायक कम्पनी मार्फत २२.१ मेगावाट र निजी क्षेत्रका जलविद्युत् प्रवर्द्धक कम्पनीबाट ७ सय ९३ मेगावाट जडित क्षमता पुगेको थियो।

आर्थिक वर्ष २०७८/८९ मा प्राधिकरण मातहतको आयोजनाबाट ११ मेगावाट, प्राधिकरणको सहायक कम्पनी मार्फत ४५६ मेगावाट, निजी क्षेत्रका २६१ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपिएको छ। नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले गत आर्थिक वर्षमा माथिल्लो तामाकोसी सहितका आयोजनाबाट राष्ट्रिय प्रसारण लाइनमा करिब ७ सय २८ मेगावाट बिजुली थप भएको बताउनुभयो।

प्राधिकरणले गत आर्थिक वर्षमा १६ सयभन्दा धेरै मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जडान हुने लक्ष्य राखेको थियो। गत आवमा प्राधिकरणले लक्ष्य अनुसारको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जडान गर्न सफल भएको छ। गत आर्थिक वर्षको असार मसान्तसम्मको अवधिमा राष्ट्रिय प्रसारण लाइनमा जडित क्षमता २१९० मेगावाट पुगेको छ।

गत आर्थिक वर्षमा माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट ४५६ मेगावाट, सिंगटी खोलाबाट २५ मेगावाट, रिचेत खोलाबाट ५ मेगावाट, माइबेनी खोला जलविद्युत् आयोजनाबाट ९.५१ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपिएको छ। त्यसैगरी तल्लोमोदी जलविद्युत् आयोजनाबाट २० मेगावाट, तल्लो जोगमाई जलविद्युत् आयोजनाबाट ६.२ मेगावाट, लिखु ४ जलविद्युत् आयोजनाबाट ५२.४ मेगावाट, माथिल्लो छन्दी खोला जलविद्युत् आयोजबाट ४ मेगावाट, तल्लो खारे खोला जलविद्युत् आयोजनाबाट ११ मेगावाट, साप्सु खोला जलविद्युत् आयोजनाबाट ६.६ मेगावाट, लिखु खोला ए जलविद्युत् आयोजनाबाट २९.४ मेगावाट बिजुली राष्ट्रिय लाइनमा जोडिएको थियो।

प्राधिकरणका अनुसार गत आवमै माथिल्लो स्याङ्गे जलविद्युत् आयोजनाबाट २.४ मेगावाट, तल्लो तादी जलविद्युत् आयोजनाबाट ४.९९ मेगावाट, काबेली बि १ क्यासकेड जलविद्युत् आयोजनाबाट ९.९४ मेगावाट, माथिल्लो हेवा खोला जलविद्युत् आयोजनाबाट ८.५ मेगावाट, सुरी खोला जलविद्युत् आयोजनाबाट ६.४ मेगावाट, न्यादी खोला जलविद्युत् आयोजनाबाट ३० मेगावाट, माथिल्लो खिम्ती जलविद्युत् आयोजनाबाट १२ मेगावाट, उपल्लो खिम्ती आयोजनाबाट ७ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जडान भएको छ।

गत आवमा सोलार प्लान्टबाट १४ मेगावाट र चिनी उद्योगबाट थप ३ मेगावाट सोलार बिजुली थप भएको छ। प्राधिकरणले चालु आर्थिक वर्षमा ८११ मेगावाट बिजुली राष्ट्रिय ग्रिडमा थप हुने प्रक्षेपण गरेको छ।

प्राधिकरणका अनुसार गत आर्थिक वर्षमा १० अर्ब ४३ करोड युनिट बिजुली नेपालमा खपत भएको छ।