इजरायलको रोजगारी ६ महिनापछि पुनः सुरु
2022-07-23 15:36:56cri
Share with:

इजरायलको परराष्ट्र मन्त्रालय सम्बद्ध ट्रेड युनियन आन्दोलनका कारण रोकिएको इजरायलको रोजगारी ६ महिनापछि पुनः सुरु भएको छ । इजरायलको परराष्ट्र मन्त्रालय सम्बद्ध ट्रेड युनियनले आन्दोलनका कार्यक्रम कायम नै राखेर नेपाली श्रमिकको हकमा प्रवेश सहजीकरण गर्ने भएपछि रोकिएका युवा इजरायल जान पाउने भएका कारोबार अनलाइनले लेखेको छ।

 

वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले बुधबार इजरायली पक्षसँग अनलाइन बैठक गरी प्रवेश सहजीकरण गर्ने सम्बन्धमा छलफल गर्नुभएको थियो। नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौता बमोजिम इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहयोगी कामदारको रुपमा कार्य गर्न छनौट भएका १ हजार १७५ जना कामदारमध्ये करार सम्झौता (एसईसी) सम्पन्न भई २९७ जना कामदार भने यसअघि नै इजरायल प्रस्थान गरिसकेका छन् । नेपालस्थित इजरायली राजदूतावासले इजरायलको परराष्ट्र मन्त्रालय सम्बद्व कर्मचारीहरुको श्रम विवादका कारण छनौट भई इजरायल प्रस्थानको चरणमा रहेका नेपाली सहयोगी कामदारहरुको भिषा जारी गर्ने कार्यमा सहजीकरण गरेपछि प्रवेश खुला भएको हो । “अब जाने श्रमिकको पुनः स्वास्थ्य परीक्षण, पीसीआर र कोरोना खोप लगाउनु पर्ने छ । खोपको सम्बन्धमा भने यसअघि अतिरिक्त खोप लगाएको म्याद ६ महिना नाघेका व्यक्तिले मात्र लगाउर्नु पर्नेछ । इजरायल जान श्रमिकले गर्नुपर्ने प्रक्रियाका बारेमा बिहीबार सूचना सार्वजनिक हुनेछ,” महानिर्देशक पौडेलले भन्नुभयो, “यसैगरी कतिपय श्रमिकको पासपोर्ट म्याद ३ वर्षभन्दा कम भएको अवस्थामा आवेदन दिएको मिति अर्थात् ६ महिनाअघिसम्म ३ वर्षको भए मान्य हुने विषयमा इजरायल पक्षसँग सहमति भएको छ ।”

इजरायल पक्षले चाँडो भन्दा चाँडो छनोट भएका नेपाली श्रमिकलाई पठाउन अनुरोध गरेपछि नेपाल पक्षले गर्नुपर्ने थप प्रक्रियाको तयारी समेत शुरु गरेको विभागले जनाएको छ। पुनः गर्नुपर्ने स्वास्थ्य परीक्षणमा हेपाटाइटिस, सिफिलिस, गोनोरिया, एचआईभी/एड्स, टिबि लगायतका रोगको स्वास्थ्य परीक्षण गरिने विभागले जनाएको छ। इजरायलको श्रम विवाद समाधान भएपछि केही दिनभित्र भिषा तथा बाँकी रहेको सम्झौतापत्रका सम्बन्धमा काम गरिने छ । विभागका निर्देशक डम्बर सुनुवारले लामो समयसम्म पनि कामदार पठाउने कार्य सुचारु हुन नसकेपछि कामदार पठाउने वैकल्पिक उपायको खोजी गरिएकोमा हाल भने नियमित तरिकाबाटै नै बाँकी रहेका श्रमिक यथाशीघ्र पठाउने तयारी गरिएको बताउनुभयो।

इजरायलको पिवाले छनोट गरेका १ हजार १७५ मध्ये ८२१ महिला र ३५४ पुरुषको अन्तिम नामावली प्रकाशित गरेको थियो। यसरी प्रकाशित गरेका नाममध्ये ९५९ को रोजगार सम्झौता भएको र २९७ इजरायल प्रवेश गरिसकेको जनाइएको छ। विभागले इजरायल जाने नेपालीले मासिक १ हजार ६ सय अमेरिकी डलर अर्थात् हालको विनिमयदर अनुसार १ लाख ९० हजार रुपैयाँभन्दा बढी पारिश्रमिक पाउने जनाएको छ । एक पटक रोजगारीमा जाने नेपालीको करार अवधि १ वर्षको हुने भए पनि करार थपिएर ५ वर्षसम्म बस्न पाइने छ । यसका लागि जाने श्रमिकले हवाई भाडा, स्वास्थ्य बिमा, अभिमुखिकरण, पासपोर्ट, पिसिआर सहितको स्वास्थ्य परीक्षण, कल्याणकारी कोषमा सहित बढीमा ८५ हजार रुपैयाँ लाग्ने देखिएको छ।