सिरियाका पूरातात्विक वस्तुहरु पहिलो पटक पैचिङमा प्रदर्शन
2022-07-25 10:01:53cri
Share with:

जुन २५ तारिखबाट चिनियाँ पूरातात्विक वस्तु आदान प्रदान केन्द्र र राष्ट्रिय पुस्तकालयद्वारा संयुक्त रुपमा आयोजित “मेसोपोटामियालाई भेटौँ——सिरियाको प्राचीनकालका पूरातात्विक वस्तुहरुको प्रदर्शनी” चीनको राष्ट्रिय प्राचीन ग्रन्थ सङ्ग्रहालयमा सर्वसाधारणका लागि खुला गरिएको छ। सिरियाका ९ वटा सङ्ग्रहालय र चीनका ३ वटा सङ्ग्रहालयका १९६ वटा पूरातात्विक वस्तुहरुले प्राचीनकालको सिरियाको इतिहासको व्याख्या तथा वर्णन गरेका छन्। ठूलो परिमाणको सिरियाका पूरातात्विक वस्तुहरुको प्रदर्शन पैचिङमा पहिलो हो।

 

एसिया, युरोप तथा अफ्रिका तीन महादेशको चौबाटोमा अवस्थित प्राचीनकालको सिरियासँग विभिन्न किसिमको विशेष संस्कृति थियो। यस पटकको पुरातात्विक वस्तुहरुको प्रदर्शनीलाई “उषाकाल” “सुधार” “प्रभुत्व खोजी” “विलय” र “संवाद” पाँच भागमा विभाजन गरिएको छ। प्रदर्शनमा सिरियाको ढुंगे युग, काँस्य युग, फलाम युग र ग्रीस, रोम तथा इस्लाम युगको इतिहासबारे जानकारी दिइएको छ। चिनियाँ राष्ट्रिय पुस्तकालयका उप-प्रमुख चाङ च छिङ यसबारे जानकारी दिँदै भन्नुहुन्छ,

प्राचीनकालको ग्रीसमा टिगरिस खोला र युफाराटस खोला बगेर जाने क्षेत्रलाई मेसोपोटामिया भनिन्थ्यो। त्यहाँ र त्यस वरिपरिका क्षेत्रले विभिन्न मानव जातिलाई आकर्षण गरेको थियो र विभिन्न जाति बसाइँ सरेको थियो जसबाट विभिन्न किसिमको संस्कृतिको आदान प्रदानका साथै व्यापारको विकास हुँदै गएर त्यो क्षेत्र समृद्ध भएको थियो। साथसाथै विशेष मानव सभ्यताको निर्माण भएको थियो। यस पटकको प्रदर्शनले मानव जातिको यस पूरानो सभ्यताको उद्गम स्थानलाई केन्द्रित गरी चीनका दर्शकहरुलाई प्राचीनकालको सिरियाका कला, राजवंश, प्रविधिको आविष्कार तथा व्यापारको विकास देखाएको छ।

 

सिरियाको प्राचीनकालका पूरातात्विक वस्तुहरुको प्रदर्शनीमा डमास्कस राष्ट्रिय सङ्ग्रहालय लगायत सिरियाका ९ वटा सङ्ग्रहालय र चीनका ३ वटा सङ्ग्रहालयका १९६ वटा पूरातात्विक वस्तुहरुले प्राचीनकालको सिरियाको इतिहासबारे जानकारी दिनुका साथै इतिहासमा चीन र सिरिया बीचको सांस्कृतिक आदान-प्रदान तथा व्यापारिक आवत-जावत र चीन  तथा “बेल्ट एण्ड रोड” वरिपरिका मुलुकहरु बीचको परम्परागत मित्रता देखाएको छ।

 

चीनका लागि सिरियाको राजदूतावासका तृतीय सचिव फादी वासौफ यसरी भन्नुहुन्छ,

हजारौँ वर्षदेखि सिरिया र चीन बीच आदान-प्रदान रहँदै आएको छ। मानवीय मूल्य सम्बन्धी समान धारणा, व्यापारिक आवत-जावत र आर्थिक हितमार्फत दुई देश बीचको घनिष्ठ सम्बन्ध छ। दुई हजार वर्षअघि सिरिया पनि चीनको रेशममार्गको एउटा गन्तव्य स्थल थियो। रेशममार्ग व्यापार ढुवानीको एक किसिमको तरिका मात्र होइन, सिरिया र चीन दुई ठूला राष्ट्रले सभ्यता र संस्कृति क्षेत्रमा आदान-प्रदान गर्ने पूल पनि हो।  यो पूलले दुई देश बीचको सम्बन्धलाई अझ गहन बनाउका लागि भूमिका निर्वाह गर्दै आएको छ। “बेल्ट एण्ड रोड” को संयुक्त निर्माण कार्यमा सिरियाले महत्वपूर्ण भूमिका खेलिरहेको म खुसीका साथ तपाईँहरुलाई सुनाउन चाहन्छु।

 

चीनको पूरातात्विक वस्तुको आदान-प्रदान केन्द्रका प्रमुख थान फिङका अनुसार, विभिन्न किसिमका संस्कृतिहरू मिसिएर सिरियामा पूरानो अक्षर, महान ग्रन्थ, कलाको विविध शैली बनेको छ। चीन र सिरिया बीचको आदान-प्रदानको लामो इतिहास रहेको कुरा यस पटकको प्रदर्शनीबाट पनि स्पष्ट देखिन्छ।

रेशममार्गले हजारौँ किलोमिटर टाढा रहेका चीन र सिरियालाई जोडेको छ। दुई देश बीचको आदान-प्रदान र व्यापार निरन्तर जारी छ। जसले दुई देशको सभ्यताको विकासमा महत्त्वपूर्ण प्रभाव पारेको छ।