नेपालमा चिनियाँ पर्यटक बढ्दै, औसतमा दैनिक पर्यटक आगमन साढे १३ सय
2022-08-05 17:20:30cri
Share with:

नेपालमा पर्यटक आगमन औसतमा दैनिक साढे १३ सय बढी पुगेको छ । कोभिड–१९ महामारीका कारण लगातार दुई वर्ष (सन् २०२० र २०२१ ) झन्डै शून्यमा झरेको पर्यटक आगमन सन् २०२२ पछि भने सुधारोन्मुख रहेको छ। नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेकाअनुसार जुलाई २०२२ मा ४४ हजार ४६२ जना पर्यटक नेपाल आएका छन् । यससहित सन् २०२२ को ७ महिनाको अवधिमा कुल २ लाख ८५ हजार ३६३ जना पर्यटक नेपाल आएका छन् । यो तथ्यांक अनुसार दैनिक पर्यटक आगमन औसतमा १,३५९ जना पुगेको हो ।

कोरोना महामारी आउनु अगाडि सन् २०१९ को ७ महिनाको अवधिमा ६ लाख १२ हजार ७६४ जना पर्यटक आएका थिए । सो तथ्यांक अनुसार उक्त वर्ष दैनिक पर्यटक आगमन औसतमा २,९१८ थियो । यसले कोभिडबाट प्रभावित पर्यटन क्रमशः सुधारको बाटोमा देखिएको छ ।

 

अनलाइनखबरका अनुसार वर्षायामको समयलाई नेपालमा पर्यटनको अफसिजन मानिन्छ । तर भारतीय पर्यटकको आगमनले यस सिजनमै पर्यटनमा उत्साह थपेको छ । नेपालले हवाईमार्गबाट आएका भारतीयहरुलाई मात्र पर्यटक मान्छ । सन् २०१९ को जुलाईमा कुल ५८ हजार ८११ जना पर्यटक आएका थिए।

 

यसैगरी कोभिड-१९ महामारीपछि चीन सरकारले आफ्ना नागरिकलाई समेत विदेश भ्रमणमा कडाइ गरेको थियो । तर, पछिल्लो समय यस्तो कडाइ खुकुलो बन्दै गएपछि चिनियाँ पर्यटकको समेत आगमन बढ्न थालेको छ ।जुलाईमा मात्र चीनबाट १५ सय ९३ जना पर्यटक आएका छन् । यो कोभिड-१९ यता एक महिनामा आएका चिनियाँ नागरिकको सबैभन्दा ठूलो संख्या हो । यद्दपि यो संख्या साविकको जत्ति भने होइन।