चीनमा क्यासलेस सोसाइटीले सजिलो र दुक्क बनाएको छ - शिक्षक नीलम श्रेष्ठ
2022-08-12 18:13:17cri
Share with:

सिन्धुली कमलामाई वडा न. २ स्थायी घर भएका नीलम श्रेष्ठ हाल चीनमा गणित शिक्षकको रूपमा कार्यरत् छन्। लामो समयदेखि शिक्षण पेशा अङ्गाल्दै आएका उनले सन् २०१२ देखि ईन्टरनेशनल ब्याचलरेट (आईबी) फेक्ल्टीमा अध्यापन गराउँदैआएका हुन्।

हाल उनी चीनको सुचौ सहरमा अवस्थित चाइना वल्ड एकेडेमीमा आईबी एजुकेटर तथा आईबीडिपी म्याथ टिचरको रूपमा आबद्ध छन्।

उनी अध्यापनको अवसर मिलेपछि चीन आएको केही समयपछि नै कोभिड-१९ महामारी फैलिएको थियो। चीनको ऊहानलगायत विभिन्न सहरहरूमा महामारी फैलिए तापनि त्यस अवधिमा आफू निकै सुरक्षित महसुस गरेको उनको अनुभव छ। उनले भने, ‘कोभिड-१९ देखिएको बेला म चीन आएको मात्र ५/६ महिना भएको थियो, त्यस बेला म बेइजिङमा कार्यरत् थिएँ। त्यो समयमा संसारको सबैभन्दा सुरक्षित ठाउँ बेइजिङ लागेको थियो। यहाँको सतर्कता, सजगता साथै व्यवस्थापन देखेर मलाई कुनै चिन्ता थिएन।’

उनले थपे, ‘नेपालबाट परिवारजनले भने सशंकित हुँदै फोन गर्दथे, तर हामी यहाँ निकै सुरक्षित थियौँ। चीन सरकाले ठूला ठूला योजना र पहलहरू चालेबाट धेरै मानिस सङ्क्रमित पनि भएको देखिएन साथै विश्वमा नै चीनमा कोभिडबाट मृत्यु हुनेको दर पनि एकदम कम छ। त्यो बेलाका चालेका कदमहरू अझै पनि जारी छन् र यस्ता प्रविधियुक्त जाँच तथा तत्कालै सूचना सम्प्रेषण, न्युक्लिक एसिड परीक्षण, खोप यी सबै कुराले महामहारीको अवधि र आजको दिनसम्म पनि चीन बसाइ सुरक्षित बनेको छ।’

यसै गरी, उनले आफ्नो चीन बसाइमा गरेको अर्को अनुभव भनेको क्यासलेस सोसाइटी हो। उनले चीन आएको दुई तीन महिनपछि नै पैसा बोक्न छोडेका थिए। उनी भन्छन्, ‘मलाई केही समय लाग्यो, त्यसपछि त म विच्याट या अलिपे मात्रै चलाउँथे, एकदम सुरक्षित पनि छ।’

चीनमा कुनै पनि सेवा र वस्तुको किनमेल गर्दा विच्याट र अलिपेबाट पैसा तिर्ने चलन व्यापक छ। यसले आममानिसको जीवनमा सुविधा थपेको छ साथै पैसा लुट्ने तथा नक्कली पैसा भिडाउनेबाट पनि जोगाएको छ।

उनी भन्छन्, ‘मलाई त चीनको यो क्यासलेस सोसाइटी एकदम मनपर्यो, ढुक्क पनि सहज पनि छ, चोर्ने, लुट्ने डर पनि भएन।’ यसै क्यासलेस सोसाइटीको अनुभवसँगै चिनियाँ समाजले ठूलो फड्को मारेको उनको ठम्याइ छ।

‘चिनियाँ समाज समग्र रूपमा धेरै अगाडि पुगेको छ। यहाँको प्रविधि र विकासको तीव्रताले जो कोहीलाई आश्चर्यचकित् पार्छ। चिनियाँ विकास पद्धतिलाई नेपालले पनि पछ्याउनु पर्छ, यहाँको शैली, यहाँको तरिका अवलम्बन गर्ने हो भने नेपालले पनि बीस तीस वर्षमा नै प्रगति गर्न सक्छ भन्ने लाग्छ।’ उनले भने।

यसै गरी, उनले चीन बसाइ क्रममा चिनियाँहरू असाध्यै सहयोगी हुने र चिनियाँ भाषाबिना पनि गुजारा गर्नसकिने अर्को अनुभव सुनाए। ‘चिनियाँ भाषा नजाने पनि चीनमा मजाले सरभाइभ गर्न सकिन्छ। मलाई हेर्नुस् न। रमाइलो छ। त्यसबाहेक, आफूले काम गरेको संस्था र चिनियाँ साथीले पनि परेको बेला सहयोग गरेकै छन्।’

शिक्षक नीलम श्रेष्ठ चीनलाई एउटा फाइनान्सियल हब र अवसरको ढोकाको रूपमा व्याख्या गर्छन्। साथै चीनमा अध्यापन गराउनपाउँदा र सो क्रममा विशाल चीनको विभिन्न भागको भ्रमण गर्दै सम्पन्न संस्कृतिको अनुभव गर्नपाउँदा आफूलाई भाग्यमानी पनि ठान्छन्।

उनी हालसालै ग्रीष्म विदा सकाएर चीन फर्केका छन्। यसअघि चीन नेपाल हवाई रूट सुचारू भएलगत्तै विदा मनाउन नेपाल गएका थिए।

(चाइना मिडिया ग्रुप (सीएमजी) नेपाली सेवाकालागि अजय अलौकिकले गरेको कुराकानीमा आधारित)