चीनको ऐतिहासिक पुनर्मिलनमा अमेरिकी अवरोध!
2022-08-12 17:11:23cri
Share with:


——अजय अलौकिक

चीनको अभिन्न अंगका रूपमा रहेको थाइवान (ताइवान) मा अमेरिकी सभामुख न्यान्सी पेलोसीको भ्रमण यति बेला विश्वभर चासोको विषय बनेको छ। भ्रमणको विरोध गर्दै चीनले निन्दा गरेपछि यसबारे सबैतिर चासो व्यक्त गरिएको हो।  विगतमा ताइवानलाई चीनकै अभिन्न अंग मान्दै आएको अमेरिकाले अहिले आएर चीनको सार्वभौमिकता र प्रादेशिक अक्षुण्णतामा हस्तक्षेप गरेको चिनियाँ आरोप छ।

यो प्रकरणले चीन र अमेरिकाबीचको सम्बन्धमा थप तिक्तता बढेको चिनियाँ अधिकारीहरू बताउँछन्। चीन र अमेरिकाबीच व्यापारिक सम्बन्ध बिग्रँदै गएका बेला पेलिसीको भ्रमणले सम्बन्ध थप जटिल बन्न पुगेको विश्लेषण गर्न थालिएको छ। अमेरिकाले पेलोसीको भ्रमण गराएर  ताइवानलाई उक्साएको आरोप चिनियाँ पक्षको छ।

सन् १९७१ मा संयुक्त राष्ट्रसंघको महाधिवेशनबाट पारित २७५८औँ निर्णय प्रस्तावमा ताइवानलाई चीनको अविच्छिन्न अंग स्वीकार गरिएको छ। साथै त्यसमा जनवादी गणतन्त्र चीनको सरकार सम्पूर्ण चीनको प्रतिनिधित्व गर्ने एउटै मात्र वैधानिक सरकार हो भन्ने स्पष्ट छ। यो निर्णयलाई संसारले मान्यता दिएको छ।

सन् १९७९ मा चीन र अमेरिकाबीच दौत्य सम्बन्ध स्थापनापछि जारी विज्ञप्तिमा अमेरिकाले यसलाई स्वीकारेको थियो। चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गरेका सबै मुलुकले ताइवानलाई चीनकै एक अभिन्न अंगका रूपमा स्वीकारेका छन्।

चीनसँग संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा अमेरिकाले विश्वमा एक मात्र चीन छ, ताइवान चीनको एउटा भाग हो र जनवादी गणतन्त्र चीनको सरकार एउटै मात्र वैधानिक सरकार हो भन्ने स्वीकारेको छ। ताइवान चीनको केन्द्रीय हितसँग सम्बन्धित छ भन्ने विषयमा अमेरिका जानकार छ।

तथापि अमेरिकाले यी सबै नीति र हस्ताक्षर स्वीकार्दास्वीकार्दै चीनको सार्वभौमिकता र प्रादेशिक अक्षुण्णतामाथि हस्तक्षेप र उल्लंघन गरेको आरोप चिनियाँ पक्षको छ। अन्तर्राष्ट्रिय ऐन र अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत मापदण्डविपरीत अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेको भन्दै चीनले असन्तुष्टि जनाएको हो।

पेलिसीको भ्रमणको तयारी भइरहँदा चीनले कडा विरोध गरेको थियो। साथै भ्रमण नगर्न चेतावनी पनि दिएको थियो। तर अमेरिकी सभामुख पेलोसी मंगलबार ताइवान पुगिन्। यसले एक चीन नीतिको उल्लंघन तथा चीन र अमेरिकाको तीनवटा संयुक्त विज्ञप्तिलाई लत्याउनुका साथै चीनको सार्वभौमिकता तथा प्रादेशिक अक्षुण्णतामाथि गम्भीर क्षति पुर्‍याएको चिनियाँ पक्षको आरोप छ।

रूस र युक्रेनबीच जारी युद्ध, शीतयुद्ध, प्रभुत्ववाद, गुटउपगुट सँगसँगै महामारी तथा महँगीले विश्वका मानिस पिल्सिँदै गएको अवस्थामा यो भ्रमणले विश्वलाई समेत थप चिन्तित बनाएको छ।

उसो त अमेरिकामै पनि पेलिसीको भ्रमणको आलोचना भइरहेको छ। अमेरिकी राजनीतिज्ञदेखि पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले समेत पेलोसीको भ्रमणको निन्दा गरेका छन्। अमेरिकी सरकारले पेलोसीको भ्रमणको सम्भावना रहेको भन्दै चीनलाई आश्वस्त तुल्याउँदै यस विषयलाई त्यति महत्त्व नदिनु भन्नु पनि सान्दर्भिक नदेखिएको चिनियाँ कूटनीतिज्ञहरूको बुझाइ छ। अमेरिकी मामिलासम्बन्धी जानकार चिनियाँ कूटनीतिज्ञको प्रश्न छ, 'कतै यो अमेरिकाको राजनीतिक प्रभावकारिता शिथिल हुँदै गएको संकेत त होइन?'

एक साताअघि  अमेरिकी राष्ट्रपति जो बाइडनसँगको टेलिफोन वार्तामा  चिनियाँ राष्ट्रपति सी चिनफिङले ताइवान मामिलामा चिनियाँ अडान स्पष्ट पारेका थिए। दुई घण्टा लामो टेलिफोन कुराकानीमा अमेरिकी राष्ट्रपति बाइडनले एक चीन भन्ने नीतिमा कुनै पनि परिवर्तन नभएको र नहुने भन्दै अमेरिकाले ताइवानको स्वतन्त्रतालाई समर्थन नगर्ने कुराको पुनर्पुष्टि गरेका थिए।

राष्ट्रपति सीले अमेरिकी राष्ट्रपति बाइडनलाई चिनियाँ सरकार तथा चिनियाँ जनताको राष्ट्रिय सार्वभौमिकता र प्रादेशिक अखण्डताको संरक्षण गर्ने संकल्प र बलियो शक्तिलाई कम आकलन नगर्न स्मरण गराएका थिए। ताइवान सम्बन्धमा चीनको सैद्धान्तिक अडानबारे प्रस्ट पार्दै सीले भनेका थिए, ‘आगोसँग खेल्न खोज्नेहरू जल्छन्।’

शक्तिशाली मुलुकका यी दुई नेताबीच कुराकानी भएको एक सातामै अमेरिकी उच्च अधिकारीको ताइवान भ्रमणले चीन आक्रोशित भएको हो।

चिनियाँ परराष्ट्र मन्त्रालयले पेलोसीले ताइवानको भ्रमण गरी एक मात्र चीनको सिद्धान्त तथा चीन र अमेरिकाबीचको तीनवटा संयुक्त विज्ञप्तिलाई गम्भीरताका साथ उल्लंघन गरेको आरोप लगाएको छ। यस्तै चीन-अमेरिका सम्बन्धको राजनीतिक आधार, चीनको सार्वभौमिकता तथा प्रादेशिक अक्षुण्णतामाथि गम्भीरता क्षति पुर्‍याउनुका साथै ताइवान 'जल डमरु' को शान्ति तथा स्थिरतालाई बिथोलेर ‘स्वतन्त्र ताइवान पक्षधर’ लाई गलत संकेत दिएको जनाएको छ।

चीनको राज्य परिषद्का सदस्य एवम् परराष्ट्रमन्त्री वाङ यीले पेलोसीले चीनको  गम्भीर विरोधलाई बेवास्ता गरेर ताइवान भ्रमण गरेको भन्दै निन्दा गरेका छन्। उनले यस कार्यले ‘एक चीन सिद्धान्त’ र अमेरिकाले द्वेषपूर्ण रूपमा चीनको सार्वभौमसत्ताको उल्लंघन गरेर राजनीतिक उक्साहट सिर्जना गरेको बताएका छन्।

वाङ यीले साङहाई सहयोग संगठनको विदेश मन्त्रीस्तरीय सम्मेलनमा सहभागितापछि उज्वेकिस्तानको भ्रमण क्रममा पत्रकारसँगको कुराकानीमा ताइवानबारे चिनियाँ अडानबारे स्पष्ट पारेका हुन्।

एक मात्र चीनप्रति अन्तर्राष्ट्रिय जगत्‌को समान विचार रहेको अवस्थामा अमेरिकाका केही व्यक्तिले ताइवानलाई लिएर निरन्तर रूपमा चीनको सार्वभौमिकताको उल्लंघन गरेको आरोप उनले लगाएका छन्। उनले अमेरिकाले ताइवानलाई उथलपुथल पार्न चाहेको बताउँदै यसमा चिनियाँ जनताले कडा आक्रोश पोखेको बताए।

परराष्ट्रमन्त्री वाङ यीले ताइवान सम्बन्धमा अमेरिकाले विश्वासघात गरेको पनि आरोप लगाएका छन्। उनले यसबाट अमेरिकाले आफ्नै राष्ट्रिय इज्जतलाई थप ध्वस्त पार्ने पनि बताए। यसमा अन्तर्राष्ट्रिय समुदायबाट व्यापक विरोध भइरहेको पनि स्पष्ट पारे। 

उनले भने, ‘अमेरिकाले चीनको पुनःमिलनको महान् कार्यमा बाधा पुर्‍याउने कल्पना गर्नु हुँदैन। ताइवान चीनको अंग हो। पूर्ण राष्ट्रिय एकीकरणलाई साकार पार्नु ऐतिहासिक अपरिहार्यता हो। अमेरिकाले चीनको विकास र पुनःउत्थानलाई कमजोर बनाउने कल्पना नगरोस्।’

चीनले आफ्नै राष्ट्रिय परिस्थितिअनुरूप सही विकास मार्ग अपनाएको वाङको भनाइ छ। उनले भने, ‘चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा एक अर्ब ४० करोड चिनियाँ जनता चिनियाँ शैलीको आधुनिकीकरणतर्फ अघि बढिरहेका छन्। चीनको विकास र वृद्धिलाई कमजोर पार्ने र चीनको शान्तिपूर्ण उदयलाई कमजोर पार्ने प्रयास तथा ताइवानको मुद्दालाई भड्काउने काम पूर्ण रूपमा व्यर्थ छ।’

यस्तै अमेरिकाले ताइवान मुद्दालाई क्षेत्रीय रणनीतिमा समावेश गरी द्वन्द्व उक्साएको उनको आरोप छ। वाङले भने, ‘अमेरिकाले क्षेत्रीय विकासको प्रवृत्ति र एसिया प्रशान्त क्षेत्रका जनताको अपेक्षाविपरीत काम गरिरहेको छ। यो निकै खतरनाक र मूर्खतापूर्ण छ।’

कालो र सेतोलाई मनमानी ढंगले उल्ट्याउन सकिन्छ भन्ने अमेरिकाले कल्पना पनि गर्न नहुने उनले बताए। उनले भने, ‘चीनले क्षेत्रीय अखण्डताको रक्षा गर्दछ र देशको विभाजनको विरोध गर्दछ, जुन वैधानिक छ।’

चिनियाँ संविधानमा ताइवान जनगणतन्त्र चीनको हिस्सा भनी उल्लेख छ। यस्तै पृथक्‌ताविरोधी कानुन र राष्ट्रिय सुरक्षा कानुनमा पनि चीनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डता टुक्रयाउन नसकिने स्पष्ट व्यवस्था छ। राष्ट्रिय सार्वभौमसत्ता, एकता र क्षेत्रीय अखण्डताको रक्षा गर्नु ताइवानका जनतालगायत सबै चिनियाँ जनताको साझा दायित्व रहेको चिनियाँ अधिकारीहरू बताउँछन्।

चीनले राष्ट्रिय सार्वभौमिकता तथा प्रादेशिक अक्षुण्णता संरक्षणका लागि कस्तो कदम चाल्नेछ त्यो त आगामी दिनमा देखिँदै जानेछ। यद्यपि पेलोसीको भ्रमणले चीन, अमेरिका साथै विश्वलाई एउटा अन्योलतिर धकेलिदिएको छ।

नेपालले चीनसँग सन् १९५५ अगस्त १ मा दौत्य सम्बन्ध स्थापना गर्दै एक चीन नीतिलाई निरन्तर समर्थन गर्दै आएको छ। वर्तमान परिस्थितिमा नेपालले दुवै पक्षलाई संयमता अपनाउन तथा दुवैलाई एकसाथ ल्याउन सक्दो भूमिका खेल्नुपर्छ।

(हिमालप्रेसमा बिहीबार १९, साउन २०७९ मा प्रकाशित)