वसन्त ऋतुमा नेपालबाट चौध हिमाल आरोहण
2022-08-14 15:35:19CRI
Share with:

वसन्त ऋतुमा ४५८ जनाले नेपालबाट विभिन्न हिमालको आरोहण गरेका छन्। यो सिजनमा हिमाल आरोहणका लागि नेपालसहित ७४ देशका १२३ समूहमा ९८६ जनाले अनुमति लिएका थिए। पर्यटन विभागका अनुसार आरोहणका लागि अनुमति लिएका २७ हिमालमध्ये यो वसन्त १४ हिमालमा मात्रै सफल आरोहण भएको छ। सरकारले अहिलेसम्म ४१४ हिमाल आरोहणका लागि खुला गरेको छ। उक्त १४ हिमालमध्ये सबैभन्दा बढी सगरमाथामा २४० जनाले आरोहण गरेका गोरखापत्र अनलाइनले लेखेको छ। 

त्यस्तैगरी ल्होत्सेमा ६७, मकालुमा ३८, कञ्चनजङ्घामा ३८, अमादब्लममा १८, धौलागिरिमा १७, अन्नपूर्ण पहिलोमा १५, थापा पिक (धुम्पस)मा सात, हिमलुङमा छ, फु खाङमा पाँच, खाङचुङमा दुई, सौलामा दुई, उर्कमाङमा दुई र सरीबुङमा एक जनाले सफल आरोहण गरेका हुन्। वसन्तयामको आरोहणका लागि सगरमाथामा मात्रै ७४ महिला र २५१ जना पुरुष गरी ३२५ जनाले आरोहण अनुमति लिएका थिए। 

हिमाल आरोहणबाट सरकारले यो याममा ५३ करोड ३५ लाख ३१ हजार ५३५ रूपियाँ दस्तुर सङ्कलन गरेको छ। सगरमाथा आरोहणमा जानेबाट मात्रै ४० करोड ७७ लाख रुपियाँ सङ्कलन भएको छ।

सरकारले विदेशीका लागि सगरमाथा आरोहण गर्न वसन्त ऋतुमा प्रतिव्यक्ति एक हजार एक सय, शरदमा पाँच हजार पाँच सय र अन्य सिजनमा दुई हजार ७५० अमेरिकी डलर शुल्क तोकेको छ। नेपालीका लागि भने वसन्त ऋतुमा प्रतिव्यक्ति ७५ हजार, शरदमा ३७ हजार पाँच सय र अन्य सिजनमा १८ हजार २५० रुपियाँ शुल्क तोेकको छ।

यस्तैगरी सगरमाथाबाहेक आठ हजार मिटरसम्मका अन्य हिमालमा विदेशी नागरिकलाई वसन्त ऋतुमा एक हजार आठ सय, शरदमा नौ सय र अन्य सिजनमा ४५० अमेरिकी डलर शुल्क लिने गरेको छ। नेपालीलाई भने यी हिमालमा क्रमशः १० हजार, पाँच हजार र २५ सय रुपियाँ रोयल्टी तोकिएको छ। आठ हजार मिटरमुनिका हिमालका लागि अझ कम रोयल्टी तिरेर हिमाल आरोहण गर्न सकिन्छ। 

यस वर्ष हिमाल आरोहण गर्न सबैभन्दा बढी अमेरिका, बेलायत, भारत, फ्रान्स, क्यानडा, अस्ट्रेलिया, रुस र चीनबाट आरोही नेपाल आएका थिए। पर्यटन विभागले आरोहणलाई मर्यादित बनाउन यस वर्ष १०५ जना सम्पर्क अधिकृतलाई खटाएको थियो। 

वैशाख २४ गते विश्व कीर्तिमानी आरोही कामिरिता शेर्पाको नेतृत्वमा नेपाली आरोहीले सगरमाथाको शिखरसम्म रोप फिक्सिङगर्न ११ जनाको टोली सगरमाथाको चुचुरोमा पुगेसँगै यो वर्षको आरोहण सुरु भएको थियो।