एक वर्षमा ५ अर्बको विद्युतीय गाडी भित्रिँदा चीनबाट सबैभन्दा धेरै आयात
2022-08-15 16:09:18cri
Share with:

डिजेल तथा पेट्रोलबाट चल्ने सवारी साधन आयातमा रोक लगाएसँगै पछिल्लो समय विद्युतीय गाडी आयातमा वृद्धि भए पनि उत्साहजनक नतिजा देखिएको छैन । भन्सार विभागका अनुसार आव २०७८/७९ को तथ्याङ्कमा आयात प्रतिबन्धको असर विद्युतीय सवारीमा पनि परेको छ ।

तथ्याङ्कअनुसार सो आवमा सबैभन्दा धेरै विद्युतीय सवारी साधन चीनबाट भित्रिएका छन् । चीनबाट एक सय किलोवाटका एक सय ६७ र एक सय ५० देखि दुई सय किलोवाटसम्म क्षमताका ६ सय ९६ गरी ८ सय २३ गाडी नेपाल भित्रिएका छन् । चीनपछि भारतबाट धेरै विद्युतीय सवारी साधन नेपाल भित्रिएका छन् । भारतबाट सय किलोवाट क्षमताका ६ सय ९६, दक्षिण कोरियाबाट सय किलोवाट क्षमताका १ सय ३२ र फ्रान्सबाट एक सवारी साधन भित्रिएका छन् ।

यस्तै बेलायतबाट सयदेखि १ सय ५० किलोवाट क्षमताका १३, दक्षिण कोरियाबाट सयदेखि २ सय किलोवाट क्षमताका ५२, जापानबाट ७८, बेलायतबाट ४ गाडी नेपाल आएका छन् । बेलायतबाट दुई सयदेखि तीन सय किलोवाट क्षमताका चार र तीन सय किलोवाट क्षमताभन्दा माथिका दुई विद्युतीय सवारी साधन नेपाल भित्रिएका छन् । एक वर्षको अवधिमा विभिन्न देशबाट ५ अर्ब बढीका चार पांग्रे विद्युतीय सवारी साधन भित्रिएका छन् । विभागको विवरणअनुसार एक वर्षको अवधिमा विद्युतीय सवारी साधन आयातमा मात्रै ५ अर्ब ५ करोड ३२ लाख ५० हजार बराबर रकम बाहिरिएको छ ।

विद्युतीय सार्वजनिक सवारी साधनको पनि नेपालमा प्रयोग हुन थालेको छ । सरकारको समेत लगानीमा साझा यातायातले केही विद्युतीय सवारी साधन भित्र्याइसकेको छ। केही आउने क्रममा छन्। सुन्दर यातायातले चक्रपथमा विद्युतीय बस नै चलाइरहेको छ।त्यस्तै विपी राजमार्गमा विद्युतीय माइक्रोबस चलिरहेको राससमा खबर छ।