सिंहदरबारबाट ग्याँस हटाउने अभियान सुरु
2022-08-18 16:02:12cri
Share with:

मुलुकको केन्द्रीय प्रशासनिक केन्द्र सिंहदरबारबाट खाना पकाउने (एलपी) ग्यास हटाउने अभियान सुरु भएको छ ।

चालू आर्थिक वर्षको बजेटमा उल्लेख गरिएको सो कार्यक्रमअनुरूप पहिलो चरणमा अर्थ मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको क्यान्टिनबाट ग्यास हटाउन थालिएको हो । ऊर्जा मन्त्रालयमा रहेको न्यु कञ्चन चमेना गृह र अर्थ मन्त्रालयमा रहेको सीएमएस हस्पिटालिटी क्यान्टिनले पूर्ण रूपमा ग्यास सिलिन्डर हटाएका छन्। अरू क्यान्टिनमा भने ग्यासको प्रयोग भइरहेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले बुधबार अर्थ मन्त्रालयको क्यान्टिन निरीक्षण गर्दै ग्यास सिलिन्डर विस्थापित भए नभएको जानकारी लिनुभएको थियो। अर्थमा शतप्रतिशत विद्युतीय चुलो जडान गरी सिलिन्डर विस्थापित भएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्री शर्माले अर्थ मन्त्रालय मातहतका सिंहदरबारबाहिरका क्यान्टिनमा समेत सिलिन्डर हटाउन निर्देशन दिनुभएको छ।

अर्थ मन्त्रालयका प्रवक्ता फणीन्द्र निरौलाले अर्थ मन्त्रालयका सचिवालय, महाशाखा र चमेना गृहमा ग्यास हटाएर विद्युतीय चुलो प्रयोगमा ल्याएको बताउनुभयो ।

सरकारले चालू आर्थिक वर्षको बजेटमा साउन महिनाभित्र सिंहदरबारबाट ग्यास सिलिन्डर विस्थापित गर्ने घोषणा गरेको थियो । सरकारले ग्यासको खपत घटाउन विद्युतीय चुलो प्रयोगमा जोड दिएको छ ।  ऊर्जा मन्त्रालय परिसरमा रहेको न्यु कञ्चन चमेना गृहका सञ्चालन छत्र पनेरूले चार दिनदेखि बिजुली हिटरमा पकाउन थालिएको जानकारी दिनुभयो। अर्थ मन्त्रालयमा रहेको सीएमएस हस्पिटालिटी क्यान्टिनका सञ्चालक मानबहादुर भट्टले ग्यासको प्रयोग हटाइएको जानकारी दिनुभयो। गोरखापत्र।