काठमाडौँ र पोखरा व्यस्त विमानस्थल
2022-08-18 16:06:50cri
Share with:

हाल सञ्चालनमा रहेका ३५ वटा विमानस्थलमध्ये आन्तरिक उडानतर्फ उपत्यकाबाहिरको सबैभन्दा बढी व्यस्त पोखरा विमानस्थल देखिएको छ । उडान सङ्ख्या र यात्रु ओहोरदोहोरका आधारमा पाँच वर्षयता सो विमानस्थल सबैभन्दा बढी व्यस्त देखिएको गोरखापत्र अनलाइनले जनाएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थको आन्तरिक टर्मिनलपछि पोखरा विमानस्थल सबैभन्दा व्यस्त हुँदै आएको छ। सन् २०१७ देखि सन् २०२१ को अवधिमा पोेखरा विमानस्थलमा एक लाख ४८ हजार ७४० उडान तथा अवरतण भएका छन् । सो अवधिमा पोखरा विमानस्थलबाट २५ लाख ६६ हजार २९९ यात्रुले हवाई सेवा प्राप्त गरेका छन् ।

उडान तथा अवतरणका आधारमा सोलुखम्बुको तेन्जिङ हिलारी (लुक्ला) विमानस्थल दोस्रो व्यस्त विमानस्थल देखिएको छ भने यात्रु ओहोरदोहोरको सङ्ख्याका आधारमा नेपालगञ्ज विमानस्थलले बढी सेवा प्रवाह गरेको देखिएको छ । पाँच वर्षको अवधिमा लुक्लामा एक लाख नौ हजार ६०४ उडानबाट छ लाख ५१ हजार ५६२ यात्रुले सेवा लिएका छन् । नेपालगञ्जमा ७१ हजार १२२ उडान तथा अवतरणबाट १९ लाख ७४ हजार ४२३ यात्रुले हवाई सेवा लिएका छन् । यो विमानस्थलबाट लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका मानिसले पनि सेवा लिने गरेका छन् ।

त्यसैगरी हुम्लाको सिमकोट विमानस्थल उडान तथा अवतरणमा तेस्रो व्यस्त विमानस्थल देखिएको छ । त्यहाँ ५३ हजार ६०७ उडान तथा अवतरण भएका छन् ।

विराटनगरमा पछिल्लो पाँच वर्षमा ४७ हजार ३१० उडान तथा अवतरणबाट २५ लाख ८५ हजार २१८ जना यात्रुले सेवा लिएका छन् । गौतम बुद्ध विमानस्थलबाट ३८ हजार ७७ उडान तथा अवतरणमार्फत १८ लाख ५३ हजार ६९० यात्रुले हवाई सेवा लिएका छन्। हाल सो विमानस्थलले अन्तर्राष्ट्रिय उडान पनि सुरु गरिसकेको छ ।