नेपालमा विदेशी लगानी आएकोमध्ये ८६ प्रतिशत जलविद्युत्‌मा
2022-08-18 16:06:17cri
Share with:

गत आर्थिक वर्षमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मार्फत मुलुकमा १८ अर्ब ५६ करोड रुपैयाँ भित्रिएको छ । अघिल्लो आवको तुलनामा गत आवमा करिब ५ प्रतिशतले कम लगानी आएको हो । अघिल्लो आवमा १९ अर्ब ५१ करोड रुपैयाँ भित्रिएको थियो । गत आवमा जम्मा १९ अर्ब २१ करोड ८९ लाख ८१ हजार रुपैयाँ विदेशी लगानी भित्रिएको थियो । तर, सोही अवधिमा ६५ करोड ८६ लाख ७२ हजार विदेशी लगानी फिर्ता भएको छ । गत आवमा भित्रिएको विदेशी लगानीबाट बाहिरिएको रकम घटाएर राष्ट्र बैंकले कुल प्रत्यक्ष विदेशी लगानी गणना गरेको हो ।

गत आवका सबै महिनामा सामान्य रूपमा भए पनि विदेशी लगानी बढेको राष्ट्र बैंकको तथ्यांक छ । वर्षभरि अर्थतन्त्रका महत्त्वपूर्ण परिसूचक उच्च अंकले ऋणात्मक रहे पनि मासिक रूपमा विदेशी लगानी बढ्नुलाई अर्थ क्षेत्रमा चासोका साथ हेरिएको छ । तथ्यांकमा बढी देखिए पनि यथार्थमा (परिमाणमा) निकै कम मात्र लगानी आएकाले अर्थतन्त्रमा त्यसको योगदान नगण्य देखिएको अर्थविद्हरूले जनाएका छन् । खासगरी कोभिड–१९ संक्रमणपछि विश्वव्यापी रूपमै अर्थतन्त्र मन्दीको दिशामा रहेकाले धेरै मुलुकमा विदेशी लगानीमा कमी आएको छ । त्यसको प्रभाव नेपालमा पनि परेकाले अपेक्षित रूपमा विदेशी लगानी बढ्न नसकेको राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख प्रकाशकुमार श्रेष्ठले बताउनुभयो। ‘यद्यपि अरुण जलविद्युत् आयोजना, अपर कर्णालीलगायत परियोजनामा केही लगानी आएपछि गत वर्षका धेरै महिनामा विदेशी लगानी वृद्धिदर सकारात्मक देखिएको छ । तर, अघिल्लो वर्षको तुलनामा भने लगानी घटेको छ,’ उहाँले भन्नुभयो।

गत आवमा कुल विदेशी लगानीमध्ये सबैभन्दा धेरै ८८.५ प्रतिशत उद्योग क्षेत्रमा, ३.५ प्रतिशत सेवा क्षेत्रमा र ७.९ प्रतिशत अन्य क्षेत्रमा आएको छ ।

कान्तिपुर अनलाइनका अनुसार उद्योगमा आएको कुल विदेशी लगानीमध्ये ८६.२ प्रतिशत जलविद्युत् आयोजनामा छ । गत आवमा करिब ३० वटा कम्पनीमा विदेशी लगानी आएको देखिएको छ । अघिल्लो आवको तुलनामा गत आवमा अरुण तेस्रो जलविद्युत्, अपर कर्णाली जलविद्युत्लगायत आयोजनामा तुलनात्मक रूपमा बढी लगानी आएकाले धेरै लगानी उद्योग क्षेत्रमा आएको देखिएको राष्ट्र बैंकले जनाएको छ । जलविद्युत्पछि धेरै विदेशी लगानी आएको क्षेत्र होटल हो । गत आवमा सेवा क्षेत्रमा प्रवाह भएको विदेशी लगानीमध्ये होटल तथा रेस्टुरेन्टमा १.६ प्रतिशत, शिक्षामा ०.२ प्रतिशत, सूचना प्रविधिमा ०.९ प्रतिशत र स्वास्थ्य तथा सामाजिक सेवामा ०.८ प्रतिशत लगानी भएको राष्ट्र बैंकको तथ्यांक छ ।

विदेशी लगानी अपेक्षाभन्दा कम भएकाले विदेशी मुद्रा सञ्चिति वृद्धि र शोधनान्तर घाटा कम देखिने गरी योगदान नपुगेको राष्ट्र बैंकका उच्च अधिकारीहरू बताउँछन् । ‘विदेशी लगानीको आकार निकै कम हो । अघिल्लो आवका भदौ र असारबाहेक सबै महिनामा विदेशी लगानी घटेको थियो । तर, गत आवका सबै महिनामा बढेको छ ।

वार्षिक रूपमा तुलना गर्दा अघिल्लो आवमा आएको विदेशी लगानीको तुलनामा गत आवको विदेशी लगानी करिब ९५ करोड रुपैयाँले कम हो । पछिल्ला केही वर्षयता नेपाल भित्रिने विदेशी लगानीमध्ये अधिकांश हिस्सा जलविद्युत् आयोजनामा आउने गरेको राष्ट्र बैंकको विदेशी लगानी सर्वेक्षणले देखाएको छ ।

नेपालमा कुल लगानीमध्ये भारतको हिस्सा ३१.५ प्रतिशत छ । भारतपछि धेरै लगानी आउने राष्ट्र चीन हो । अघिल्लो आर्थिक वर्षसम्म चिनियाँ लगानीकर्ताबाट ३० अर्ब ९७ करोड रुपैयाँ लगानी भएको देखिन्छ । यो त्यतिबेलाको कुल विदेशी लगानीको करिब १५.६ प्रतिशत हो । चीनबाट आएको कुल लगानीमध्ये ४१.३ प्रतिशत उत्पादनमूलक, ५८.४ प्रतिशत बिजुली, ग्यास र ०.३ प्रतिशत अन्य क्षेत्रमा रहेको प्रतिवेदनले देखाउँछ।