नेपाली प्राविधिक र जनशक्तिमा भुटानबाट निःशुल्क आँखा उपचारको 'ग्लोबल अभियान' सुरु
2022-08-18 16:05:40cri
Share with:

विपन्न एवं स्वास्थ्य पहुँचमा नपरेका जनसाधरणको निःशुल्क आँखा उपचार गर्नका लागि स्थापित तेज कोहली एण्ड रुइत फाउन्डेसनले भुटानमा आँखा शिविर सञ्चालन गर्दै आफ्नो सेवाको अन्तर्राष्ट्रिय अभियान सुरु गरेको छ।

तिलगंगा आँखा प्रतिष्ठान सम्बद्ध डा.सन्दुक रुइतको नेतृत्वमा नेतृत्वमा तिलगंगाका ७ र भुटानका स्थानीय चिकित्सकसहित २० जनाको टोलीले थिम्पू र वाङ्दी क्षेत्रका १९ सयभन्दा बढी आँखा बिरामीको परीक्षण गरेको थियो। फाउन्डेसनका सह–संस्थापक तेज कोहलीसमेत शिविर अनुगमनमा बेलायतबाट भुटान आएका थिए । तिलगंगा आँखा प्रतिष्ठानको प्राविधिक र जनशक्ति सहयोगसहित आँखा उपचारमा नेपालको प्रविधि तथा तिलगंगामा उत्पादित ‘इन्ट्राओकुलर लेन्स’को उपयोगिता प्रवद्र्धन गर्न भुटानको अन्र्तराष्ट्रिय अभियान सफल रहेको डा.रुइतले बताउनुभयो। यो अभियानअन्तर्गत भुटानमा मात्रै यो वर्ष १ हजार आँखा बिरामीको निःशुल्क उपचार गरिने उहाँले बताउनुभयो।

फाउन्डेसनको अन्तर्राष्ट्रिय अभियानअन्तर्गत आउने दिनमा तान्जानिया, इन्डोनेसिया, घाना, लाओस, क्याम्बोडिया, मंगोलिया, कोलम्बिया, उत्तर कोरियालगायतका मुलुकमा रहेका विपन्न तथा स्वास्थ्य पहुँचमा नरहेका जनसाधरणको आँखा उपचारमा निःशुल्क सहयोग गरिने भएको छ। फाउन्डेसनकै पहलमा गत ९ महिनामा नेपालभित्र २० हजारजति आँखा बिरामीको उपचार भैसकेको कान्तिपुरले लेखेको छ।

डा.रुइतका अनुसार अन्धोपनको मुख्य कारण मानिएको मोतिबिन्दु अझै पनि विश्वको कूल जनसंख्यामध्ये ९ करोडमा कायमै छ। यसमा पनि झन्डै २ तिहाइ नागरिक शल्यक्रिया पहुँचबाट बाहिर छन्। यसैका लागि सुरु भएको ‘ग्लोबल क्याम्पेन’को सुरुवात भुटानबाट थालिएको रुइतले जानकारी दिनुभयो।