खाद्य सुरक्षाका लागि कृषि उत्पादन बढाउन आवश्यक
2022-08-19 15:40:26cri
Share with:

प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको खाद्य सुरक्षा सुनिश्चित गर्न कृषि उत्पादन बढाउनुपर्ने बताउनुभएको छ। राष्ट्रिय सुरक्षा परिषद्‍ तथा नेपाली सेनाद्वारा संयुक्त रूपमा आयोजना गरिएको ‘नेपालमा खाद्य सुरक्षा’ विषयक दुईदिने सेमिनारलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले खाद्य सुरक्षाको ग्यारेन्टी गर्न कृषिमा आत्मनिर्भर हुनुपर्ने बताउनुभयो। प्रधानमन्त्री देउवाले भन्नुभयो, “आन्तरिक र बाह्य कारणले मुलुकको खाद्य सुरक्षामा असर पर्न सक्छ । यसलाई कम गर्न उत्पादन बढाउनुको विकल्प छैन।” उहाँले कृषियोग्य उर्वर भूमिको तीव्र खण्डीकरणका कारण कृषि उत्पादनमा परेको नकारात्मक असरलाई रोक्नुपर्ने धारणाव्यक्त गर्नुभयो। उक्त खाद्य सुरक्षा विषयक सेमिनारको उद्घाटन बुधबार कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले गर्नुभएको थियो।

सो अवसरमा मन्त्री यादवले कृषि उत्पादनको प्रशस्त सम्भावना रहे पनि खाद्यान्न आयात बढ्दै जानु चिन्ताको विषय रहेको बताउँदै आयात कम गर्ने गरी आवश्यक नीति तथा योजना तर्जुमा गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। कार्यक्रममा प्रधानसेनापति तथा सुरक्षा निकायका उच्च अधिकारीसहित सरोकारवाला विभिन्न मन्त्रालय तथा विभागका पदाधिकारी र खाद्य सुरक्षासम्बन्धी विज्ञहरूको सहभागिता रहेको थियो।

नेपालमा करिब ६० प्रतिशत जनताको जीविकोपार्जन कृषिमा आधारित रहे पनि कृषि उत्पादनमा परनिर्भरता बढ्दै गएको र गहुँ कोदो, फापरजस्ता खाद्यान्नको उपभोग न्यून हुँदा चामलको आयात बढ्दै गएको पाइएको छ ।विश्वव्यापी खाद्य मापदण्दअनुरूप नेपालमा आवश्यक पौष्टिक आहारबाट अधिकांश नागरिक वञ्चित हुनुपरेको र झन्डै २१ प्रतिशत जनसङ्ख्या खाद्यान्न सङ्कटमा रहेको पाइएको छ।

गोरखापत्र अनलाइनका अनुसार कर्णाली प्रदेशलगायतका २६ दुर्गम जिल्लामा आवश्यक खाद्यान्न पुग्न नसकेको अध्ययनले देखाएको छ ।

सेमिनारमा सहभागीले परम्परागत कृषि प्रणालीले उत्पादन बढ्न नसक्दा खाद्यान्नमा परनिर्भरता बढ्दै गएको धारणा व्यक्त गर्नुभएको छ। कृषियोग्य जमिन बाँझो राख्ने र उर्वर भूमिमा भइरहेको बस्ती विस्तारले समेत कृषि उत्पादनमा प्रत्यक्ष असर पुगेको छ । मनसुनमा आधारित नेपालको कृषि प्रणाली र जलवायु परिवर्तनको असरका कारण खाद्यान्न उत्पादनमा उतारचढाव आउने गरेको छ । उत्पादित खाद्यान्नले उचित बजार नपाउने र भण्डारको उचित व्यवस्था हुन नसक्दा नेपालमा खाद्य असुरक्षा बढ्दै गएको पाइएको छ । 

विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारी, रुस–युक्रेन युद्ध, इन्धन आपूर्तिमा देखिएको समस्याको प्रत्यक्ष असर खाद्यान्न उत्पादन र ढुवानीमा पर्ने देखिएको छ।

विभिन्न मुलुकले खाद्य आयात, निर्यातमा अँगाल्दै आएको नीति परिवर्तनको असर नेपालको खाद्य सुरक्षामा समेत प्रभाव पर्न सक्ने भएकाले यसको असर कम गर्ने उद्देश्यले ‘नेपालमा खाद्य सुरक्षा’ सेमिनारको आयोजना गरिएको हो ।