तिब्बतस्थित मानसरोवर तीर्थयात्रीका लागि टेण्ट निर्माण
2022-08-20 15:14:30cri
Share with:

लाप्चाबाट तिब्बतको मानसरोवर कैलाशको दर्शन गर्ने धार्मिक पर्यटकका लागि नाम्खा गाउँपालिका–१ को लेकधिंगामा क्याम्प खडा गरिएको छ। काठमाडौं हुँदै नेपालगञ्जबाट सिमकोट आउने धार्मिक पर्यटकहरु लेकधिंगासम्म पैदल मार्गबाट जाने भएपछि उक्त क्याम्प खडा गरिएको हो।

पर्यटक व्यवसायी विजय लामाले भदौ ६ गतेबाट मानसरोवर कैलाशको दर्शनका लागि पर्यटक आउन सुरु हुने भएपछि धिंगामा क्याम्प खडा गरिएको बताउनुभयो । उहाँले लेकधिंगामा एक सय जना पर्यटकहरु अट्ने गरी टेण्ट हालेर क्याम्प खडा गरिएको बताउनुभयो । सो क्षेत्र बास बस्ने अन्य विकल्प नभएपछि बाहिरबाटै टेण्ट लगेर क्याम्प खडा गर्नुपरेको हो ।

भदौ ६ गते ५० जनाको टोली सिमकोट आइपुग्नेछ भने सोही दिन पैदलमार्गबाट लेकधिंगा बास बस्न जानेछ। लेकधिंगाबाट तुम्लिङसम्म भने पर्यटकहरुका लागि हेलिकोप्टरको व्यवस्था गरिएको छ। यसका लागि भदौमा पाँच वटा हेलिकोप्टरहरु सिमकोट आइपुग्ने तयारी गरिएको छ। तुम्लिङबाट लाप्चासम्म भने गाडी प्रयोग गर्ने व्यवस्था गरिएको छ। त्यसका लागि सिमकोटमा भएका दशदेखि १२ वटा बोलेरो जीप बुक गरिएको छ।

मिति निश्चित नभए पनि अङ्ग्रेजी महिना सेप्टेम्बरमा भारतीय सद्गुरू आउने कार्यक्रम तय भएको उहाँले बताउनुभयो। उहाँसहित यसवर्ष एक हजारदेखि एक हजार ४०० सम्म धार्मिक पर्यटकले लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्नुहुनेछ। गतवर्ष भदौ महिनामै उहाँले लाप्चाबाट ५० जना पर्यटकसहित मानसरोवर कैलाशको दर्शन गर्नुभएको थियो। उहाँको यात्रापछि अन्य सात वटा भारतीय तथा अन्य धार्मिक पर्यटकले लाप्चाबाटै मानसरोवर कैलाशको दर्शन गर्नुभएको थियो । यसवर्ष सद्गुरूसहित धार्मिक पर्यटक धेरै आउने भए पनि केही दिन अगाडि प्रमुख जिल्ला अधिकारी सीता परियारले सडकको अवस्थाका बारेमा अनुगमन गर्नुभएको थियो। गोरखापत्र।