दशैँको मुखमा सामान रोकिएपछि नेपाली व्यवसायीहरू चिन्तित
2022-08-21 16:33:04cri
Share with:

नेपालीहरूको सबैभन्दा ठूला चाडपर्व दशैं-तिहार लगायतका चाडपर्वलाई लक्षित गरी नेपाली व्यवसायीले सामान मगाएका छन्। फुनु शेर्पाले चीनबाट ३ कन्टेनर स्याउ मगाएपनि सिगात्सेबाट एक सय किलोमिटर अघि करिब ४ करोड मूल्य बराबरको स्याउ बोकेका गाडी खासा र केरुङ छुटिने दोबाटो आइनपुग्दै बीच बाटोमै रोकिएका छन्। कोभिड–१९ महामारीका कारण  नेपाल–चीन स्थलमार्गको रसुवागढी र तातोपानी दुवै नाका एकाएक बन्द भएपछि ती गाडीहरु न अघि बढ्नु न पछि फर्कनुको अवस्थामा रहेका छन्। चीनतर्फ रहेका व्यवसायीहरुसँगको कुराकानीका क्रममा नाका खुल्ने कुनै औपचारिक जानकारी आएको छैन।

 

पहिलो पटक तीन दिनका लागि भनेर गरिएको लकडाउन विस्तारै लम्बिँदै गएको छ। ‘फलाम, लत्ता कपडा र मेशिनरीमा त समस्या नहोला तर फलफूल रोकिए पछि चिन्ता बढेको छ,’ फुनुको भनाइ छ, ‘यस अघि पनि कोरोनाको पहिलो लहरमा फलफूल बिग्रिएको थियो, यो पटक यस्तो नहोस् । सरकारले पहल थालोस् ।’

 

नेपाल हिमालयन सीमापार व्यापार संघकाअनुसार चीनतर्फ अहिले एकदेखि सवा अर्ब रुपैयाँ बराबरको दशैंका माल वस्तु लोड भएको कन्टेनर रोकिएका छन्। व्यवसायीहरुबाट लगत संकलन भइरहेका कारण अहिले करिब १५० हाराहारी कन्टेनर रोकिएको जानकारी आएको व्यवसायी मीनबहादुर श्रेष्ठले बताउनुभयो।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालकाअनुसार नाका सञ्चालनबारे कुनै पनि औपचारिक सूचना स्थानीय स्तरमा आएको छैन। कोरोना परीक्षणका क्रममा संक्रमण झनै बढेको भन्दै अनौपचारिक जानकारी आएको र तीन दिनका दरले लकडाउन बढाउँदै लगिएको पाइएको उहाँले बताउनुभयो।

रसुवागढी नाका सञ्चालनबारे पनि अन्योल कायमै रहेको छ। नाका खुल्नेबारे अहिलेसम्म चिनियाँ पक्षबाट कुनै जानकारी नआएको रसुवागढी भन्सारका प्रमुख डा.रामप्रसाद मैनालीले बताउनुभयो। सामान कति संख्यामा चीनतर्फ रोकिएको भन्नेबारे पनि यकिन जानकारी अझै नआइसकेको उहाँको भनाइ छ ।

 

तिब्बतस्थित नेपाली महावाणिज्य दूतावासबाट पनि यसबारे थप सूचना नआएको दुवै तर्फका भन्सार र जिल्ला प्रशासन कार्यालयहरुले जनाएका छन्।

 

यता, परराष्ट्र मन्त्रालयले भने चीनतर्फको नाकाबारे जानकारी नभएको बताएको छ । मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले अनलाइनखबरसँग भनिन्, ‘नाकाबारे जानकारी छैन्, पछि बुझेर भनौला।’

चीनको तिब्बत क्षेत्रमा कोरोना संक्रमण बढेको भन्दै २१ साउनदेखि रसुवागढी र २५ साउनदेखि तातोपानी नाका सिल गरेको थियो।

कोरोनाका कारण चीनले कडा मापदण्ड लागू गरेका कारण पछिल्लो तीन वर्षदेखि चीन–नेपालबीच स्थलमार्गबाट हुने प्यापार प्रभावित हुँदै गएको छ। तीन वर्षदेखि नेपालले स्थलमार्गबाट नेपाललाई वस्तु निर्यातमा रोक लगाएको छ भने आफ्नो वस्तु निर्यातमा पनि कोटा प्रणाली लागू गरिरहेको थियो।

यसैबीच नेपाल राष्ट्रिय व्यवसायी महासंघले तातोपानी र रसुवागढी नाकाको अवरोध खुलाउन सरकारलाई आग्रह गरेको छ। आइतबार महासंघका अध्यक्ष कुमार कार्कीले एक विज्ञप्ति जारी गर्दै कुटनीतिक पहल गरेर तत्काल नाका खुल्ने वातावरण बनाउन सरकारलाई आग्रह गरेको अनलाइनखबरमा समाचार छ।