हिमाल आरोहणबाट नेपालद्वारा ५३ करोड ३५ लाख राजस्व सङ्कलन
2022-08-24 16:06:58cri
Share with:

यस वर्षको वसन्तयाममा करिब साढे दुई सयले सगरमाथा आरोहण गरेका छन्। ३ सय २५ जनाले आरोहण अनुमति लिएकोमा २ सय ४० जनाले आरोहण पूरा गरेको पर्यटन विभागले जनाएको कारोबार अनलाइनले लेखेको छ।
विभागका शाखा अधिकृत दीपेन्द्र रेग्मीका अनुसार आरोहण दलका सरदार, गाइड तथा सहयोगी गरी ६ सय ५८ जनाले सगरमाथा आरोहण गरेको भए पनि आरोही भने २ सय ४० जनामात्रै छन्। यो सिजनको आरोहणमा ५३ देशका आरोही सहभागी थिए। आरोहीबाट सरकारलाई ४० करोड ८७ लाख रुपैयाँ रोयल्टी प्राप्त भएको छ। सगरमाथा आरोहण अनुमति लिन विदेशी नागरिकले प्रतिव्यक्ति ११ हजार अमेरिकी डलर रोयल्टी तिर्नुपर्ने व्यवस्था छ। नेपालीको हकमा भने प्रतिव्यक्ति ७५ हजार नेपाली रुपैयाँ तिरे पुग्छ। सगरमाथा आरोहणका लागि बढीमा १५ जनाको सम्म समूह बनाउन पाउने व्यवस्था रहेको विभागले जनाएको छ। विभागका अनुसार यस सिजनमा अमेरिकाका ४९, भारतीय २१, बेलायतका २७ जना नागरिकले आरोहण गरेका छन्।
वर्षको पहिलो आरोहण वैशाख २४ गते कामीरिता शेर्पासहितको ११ जना शेर्पाको टोलीले गरेको थियो। कामीरिताले २६ औं पटक सगरमाथा आरोहण गरेका हुन्। यही सिजनमा लाक्पा शेर्पाले १० औं पटक सगरमाथा चढ्ने पहिलो महिलाको कीर्तिमान कायम गरिन्। त्यसैगरी कतारी राजकुमारी आश्मा विन्त थानी अल–थानी सगरमाथा आरोहण गर्ने पहिलो अरबी महिला बनेकी थिइन्।
आरोही सानु शेर्पाले विश्वमा रहेका ८ हजार मिटरभन्दा माथिका १४ वटै हिमाल दोहोर्‍याएर (दोश्रोपटक) आरोहण गरी विश्व कीर्तिमान कायम गरेका छन्। सन् २००६ बाट आरोहण शुरु गरेका शेर्पाले दोहोर्‍याएर १४ हिमालको आरोहण पूरा गरे भने सन् २०२२ मा नै ६ वटा हिमालको आरोहण गरेका थिए। जारी सिजनमा सगरमाथा आरोहणका क्रममा गएका ३ जनाको मृत्यु भएको छ। जसमा २ नेपाली र १ विदेशी नागरिक रहेका छन्।