१६ भदौदेखि गौतमबुद्ध विमानस्थलमा जजिराको दैनिक उडान गर्ने
2022-08-25 17:09:05cri
Share with:

भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अब दैनिक अन्तर्राष्ट्रिय उडान हुने भएको छ। अहिले साताको तीन उडान गरिरहेको जजिरा एयरवेजले १ सेप्टेम्बर (१६ भदौ) देखि दैनिक एक उडान गरी सातामा उडान संख्या सात पुर्‍याउन लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनु भएको अनलाइन खबरले लेखेको छ। ‘गौतमबुद्धमा यात्रुको उपलब्धताबाट उहाँहरु उत्साहित हुनुहुन्छ,’ उहाँले भन्नुभयो, ‘सोही अनुसार उडान थप हुन लागेको हो।’

जजिराले गौतमबुद्ध विमानस्थलमा उडान गरिरहेको छ। जजिराले कुवेतबाट काठमाडौं र भैरहवा दुबै विमानस्थलमा नियमित उडान गरिरहेको छ। यो विमानस्थलमा अर्को महिनाबाट वीज एयरले आवुधावीबाट सिधा उडान गर्ने गरी अनुमति लिइसकेको छ। प्रवक्ता निरौलाका अनुसार अक्टोवरबाट भने सो कम्पनी भैरहवामा आउने छ। यी दुई बाहेक अन्य कम्पनी भने तत्काल पाइपलाइनमा छैनन्। नेपालको वर्षायाम सकिएपछि पर्यटकीय सिजन प्रारम्भ हुन्छ। त्यसपछि भने नयाँ कम्पनीहरु आकर्षित हुन सक्ने अपेक्षा प्राधिकरणका अधिकारीहरुको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरुले एयर चाइनालाई नेपालमा उडान बढाउन समेत आह्वान गरेका छन्। प्रवक्ता निरौलाका अनुसार चीनमा हिमालय एयरलाइन्सको उडानलाई प्रतिवन्ध लगाएसँगै नेपालबाट चीन जाने र चीनबाट नेपाल आउने यात्रु समस्यामा परेका छन्। सोहीकारण मौखिक रुपमा एयर चाइनालाई उडान थप्न आह्वान गरिएको हो। ‘यात्रु पर्याप्त भएकाले यहाँ उडान थप गर्नुहोस् भनी मौखिक आह्वान भएको छ’ उहाँले भन्नुभयो।

चीनमा नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले उडान बढाउन नसक्दा समेत यो रुटमा विदेशी एयरलाइन्सको भर पर्नुपर्ने बाध्यता रहेको छ। साविकमा भारतपछि धेरै पर्यटक आउने मुलुकमा चीन पर्छ। यस बाहेक अन्य कम्पनीबाट भने नेपाल उडानलाई कुनै अनुमति माग नभएको उहाँले जानकारी दिनुभयो।