साउनमा १ खर्ब ३१ अर्बको सामान आयात
2022-08-25 17:10:42cri
Share with:

चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना (साउन) मै आयातमा गिरावट आएको छ। यसले बाह्य क्षेत्रमा परेको दबाव केही कम हुनेछ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार साउनमा १ खर्ब ३१ अर्ब २८ करोड ६० लाख रुपैयाँ बराबरको आयात भएको अनलाइन खबरले लेखेको छ। यो गत आवको यसै महिनाको तुलनामा १२.९० प्रतिशत कम हो। गत आवको साउनमा १ खर्ब ५० अर्ब ७३ करोड रुपैयाँको आयात भएको थियो।

आयातसँगै निर्यातमा समेत यो महिनामा गिरावट आएको छ। विभागका अनुसार साउनमा मात्र १४ अर्ब ८० करोड ९७ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ। यो गत आवको यसै महिनाको तुलनामा २८.६८ प्रतिशत कम हो। गत आवमा साउनमा २० अर्ब ७६ करोड ५१ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो।

आयात र निर्यात दुवै घटेको यो महिना गत वर्षको साउनको तुलनामा वैदेशिक व्यापार खस्किएको छ। साउनमा कुल १ खर्ब ४६ अर्ब ९ करोड ५७ लाख रुपैयाँ बराबरको व्यापार भएको छ। यो गत आवको साउनको तुलनामा १४.८१ प्रतिशत कम हो। गत आवमा १ खर्ब ७१ अर्ब ४९ करोड रुपैयाँको वैदेशिक व्यापार भएको थियो।

व्यापार घाटा भने यो महिनामा १ खर्ब १६ अर्ब ४७ लाख रुपैयाँ बराबरको भएको छ। यो गत साउनको तुलनामा १०.३८ प्रतिशत कम हो। गत आवको साउनमा १ खर्ब २९ अर्ब ९६ करोड रुपैयाँ बराबर व्यापार घाटा थियो। अहिले १ सय रुपैयाँ बराबरको वैदेशिक व्यापार भएमा ८९.८६ प्रतिशत आयात र १०.१४ प्रतिशत निर्यातको हिस्सा रहेको छ। साउनमा नेपालले २५ अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थको आयात भएको छ। नेपालले औसत मासिक ३० अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थको आयात गर्दै आएको थियो।

साउनमा ५ अर्ब रुपैयाँ हाराहारी पेट्रोलियम पदार्थको आयात नै कम भएको छ। यसले समग्र आयात कम गर्न सहयोग पुगेको हो। साउनमा फलाम र स्टिलको आयातमा ११ अर्ब २३ करोड रुपैयाँ विदेशिएको छ। नेपालबाट सबैभन्दा धेरै वनस्पति तेलको निर्यात भएको छ। यस्तो निर्यात ५ अर्ब ४२ करोड रुपैयाँ बराबरको भएको तथ्यांकमा उल्लेख छ।