दुवै खुट्टा गुमाएर पनि जसले सगरमाथाको शिखर चुमे, जिन्दगीमा हार नमान्ने सियाको कथा
2022-08-26 16:13:17cri
Share with:

   सन् २०२० को जनवरी ७ तारिख मङ्गलबार बेलुकी बेइजिङको सितानस्थित पान प्यासिफिक होटलमा नेपाली दूताबासले 'नेपाल भ्रमण वर्ष २०२०' को चिनियाँ संस्करण उद्घाटन समारोहको आयोजना गरेको थियो। (पछि कोरोना महामारीले गर्दा नेपालले 'नेपाल भ्रमण वर्ष २०२०' स्थगित गर्‍यो।) उक्त कार्यक्रममा दक्षिणी मोहोडाबाट सगरमाथा आरोहण गर्ने केही चिनियाँहरुले प्रस्तुति दिएका थिए। प्रस्तुति दिने मध्ये एकजना व्यक्ति देखेर म आश्चर्य चकित भएँ। किनकी उनका दुवै खुट्टा कृत्रिम थिए।

   पौढ देखिने ती व्यक्तिले आफ्ना दुवै खुट्टा सगरमाथा आरोहणका क्रममा नै गुमाएका रहेछन्। खुट्टा गुमाएको ४३ वर्षपछि ६९ वर्षको उमेरमा उनले सगरमाथाको आरोहण गरेको सुनाएपछि उनीसँग कुराकानी गरेर एउटा फिचर लेख्ने हुटहुटी त्यतिखेरै चलेको हो। भीडभाडमा कुरा गर्न अनुकूल भएन। समय पनि अभाव भयो र उनीसँग चिनापर्ची हुनै पाएन। म थकथकाएर फर्किएँ।

   उनका बारेमा बुझ्ने र केही लेख्ने थोको अढाइ वर्षपछि पूरा भएको छ। दुई साता अगाडि अर्थात् सन् २०२२ को अगष्ट ७ तारिख नेपाली दूताबासले दक्षिणी मोहोडा (नेपालपट्टि)बाट सगरमाथा आरोहण गर्ने चिनियाँहरुको सम्मानमा एक समारोह आयोजना गरेको रहेछ। मलाई पनि निमन्त्रण आयो। दूताबासकै सभाकक्षमा आयोजित उक्त कार्यक्रममा ती दुवै खुट्टा काटिएका व्यक्ति पनि आएका थिए। उनले आफ्नो अनुभव समेटेर छोटो र मिठो प्रस्तुति पनि दिए।

                                बेइजिङस्थित नेपाली दूताबासमा सम्मान ग्रहण गर्दै सिया पोयु


   कार्यक्रम सकिएपछि खाना खाँदै उनीसँग केही कुरा गर्ने अवसर मिल्यो। हामी वीच्याटमा पनि जोडियौँ। त्यही समय र पछि वीच्याटमा उनीसँग कुरा गरेपछि उनको बारेमा अचम्म लाग्दा कुराहरु थाहा भए। उनी हुन् ७३ वर्षीय सिया पोयु।

   सन् १९४९ मा छोङछिङमा जन्मिएका सिया पोयु सफल फुटबल खेलाडी थिए। एउटा सफल खेलाडी हुँदा हुँदै उनमा सगरमाथा आरोहण गर्ने रहर जाग्यो। सन् १९७५ मा जोसिलो २६ वर्षे खेलाडीको जाँगरका साथ उनी विश्वको सर्वोच्च शिखर नाप्न लम्किए। सगरमाथाको उत्तरी मोहोडाबाट उनको समूह अगाडि बढेको थियो।

   सामान्यतः हरेक व्यक्तिका लागि जुनसुकै हिमाल आरोहण आफैँमा चुनौतिपूर्ण कार्य हो। उच्च अक्षांशमा लेक लाग्ने, अक्सिजनको कमीले हुने थकावट, चारैतिर सेताम्मे हिउँको दृश्यबाट लाग्ने चक्कर, हिमालको भौगोलिक संरचनाको प्राविधिक जटिलता, सामूहिक कार्यको संयोजन, अत्यधिक चिसोका कारणले शारीरिक अङ्गको निस्क्रियता, लामो समय समस्यासँग जुद्धा आउने नैराश्य, शारीरिक दुर्बलता तथा मौसममा आकस्मिक परिवर्तन लगायतका समस्यासँग टट्कारो खट्न सक्ने व्यक्ति मात्र हिमाल आरोही हुनसक्छ। त्यसमाथि विश्वको सर्वोच्च शिखर चुम्नु थोरै व्यक्तिका लागि मात्र संभव कार्य हो।

   खेलाडीहरु साहसिक र चुनौतिपूर्ण जीवन जिउन चाहन्छन्। फुटबल खेलमा दैनिक साहस बटुलेर चुनौतिको सामना गरिरहेका सियाको मनमा अर्को चुनौति थप्ने हुटहुटी थपिएको थियो। उनको तीब्र चाहना र साहसलाई ख्याल गरेर चीनले सगरमाथा आरोहणको समूहमा उनको नामलाई समावेश गर्‍यो।

   जतिबेला उनी सगरमाथा आरोहणका लागि छनोट भए, त्यस समयमा चीनमा धेरै पेशेवर पर्वतारोहीहरू थिएनन्। चीन सरकारले पनि राष्ट्रको महत्त्वपूर्ण मिशनका लागि शारीरिक रूपमा सबैभन्दा फिट युवाहरूको समूह बनाएको थियो। चीनका केही हिमालमा आरोहणको तालिमपछि सिया आफ्नो समूहसँग विश्वको सर्वोच्च शिखर चढ्ने लक्ष्यमा अगाडि बढे।

                             चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ सियालाई सम्मान गर्दै


   आफ्नो समूहसँगै सिया ८ हजार ६ सय मिटरको उचाइमा पुगेका थिए। यो उचाइ शिखरबाट मात्र २५० मिटर कम थियो। आरोहणका क्रममा अचानक आएको मौसम परिवर्तनबाट उनीहरुको यात्रा रोकियो। दुई दिन र तीन रात चिनियाँ पर्वतारोहीहरू न माथि चढ्न सके न तल ओर्लन। माइनस २५ डिग्री सेल्सियस् तापक्रम सहँदै उनीहरु बीच बाटोमै अड्किए। सोही क्रममा सियाको टोलीका एकजना सदस्य चिसोका कारण नराम्रोसँग थला परे। त्यो बेला सियाले सगरमाथा आरोहणभन्दा साथीलाई बचाउन उचित ठाने। उनले आफूसँग भएको सुत्दा ओड्ने थैलो (स्लिपिङब्याग) साथीलाई दिए। माइनस २५ डिग्री सेल्सियस्‌को चिसोमा लामो समय रहँदा सियाका खुट्टाहरु निला भए। फलस्वरुप उनका दुवै खुट्टा काट्नु पर्‍यो।

   त्यो बेलाको क्षण सम्झदै सियाले भने 'म विश्वासै गर्न नसक्ने गरी दुःखी भएको थिएँ। त्यतिबेला मेरो पहिलो दुःख अब फुटबल खेल्न सक्दिन भन्ने थियो। जब म पेशामै फर्कन सक्दिन थिएँ भने मेरो भविष्य के हुन्छ भन्ने म आफैँलाई केही थाहा थिएन।'

   फुटबल खेलाडीका लागि दुईवटै खुट्टा गुमाउनु कति पीडादायी हुन्छ भन्ने कुराको अनुमान मात्र गर्न सकिन्छ। त्यसमाथि हिमाल आरोहण जस्तो कठिन कार्य रोजेका व्यक्तिका लागि उक्त प्रतिकूलता आफैँमा एउटा चलचित्रको कहानीभन्दा दर्दनाक थियो।

   उनले तत्कालीन आफ्नो पीडा बोल्दै भने 'मलाई लाग्यो कि अब सम्पूर्ण जीवन ह्वीलचेयरमा बिताउनु पर्नेछ। फेरि कहिल्यै फुटबल खेल्न सक्दिन। म २६ वर्षको मात्र थिएँ तर आफ्नो सम्पूर्ण जीवन ह्वीलचेयरमा बिताउने सोचेको थिएँ।'

   दुवै खट्टा गुमाएर पनि उनले हिम्मत हारेनन्। उनी ह्वीलचेयरमै कसरत गर्न थाले। विभिन्न खेलकूदको अभ्यास गर्न थाले। मान्छेको उर्जा नै उसको आत्मविश्वास हो। उनी हरेक बिहान ५ बजे उठ्न थाले अनि फिटनेस अभ्यास गर्न थाले। सिट-अप, पुश-अप र काँधमा तौल लिएर व्यायाम गर्ने उनको नियमित कसरत थियो। उनी बिस्तारै खेलमा फर्किए। शट-फुट, डिस्कस थ्रोइङ, बास्केटबल र टेबल टेनिसको प्रयास गरे। यो समयसम्म उनी व्हीलचेयरमै थिए।

                                         सिया पोयुसँग स्तम्भकार


   एक जर्मन विज्ञसँगको भेटले उनलाई जीवनलाई सामना गर्ने नयाँ साहस दियो। ती जर्मन विज्ञले सियालाई हिड्न सक्ने संभावना रहेको बताए। उनले सुरुमा त पत्याएका थिएनन्। भौतिक परीक्षणपछि जब स्टिलका कृत्रिम अंगको गुणस्तरले उनको शरीरलाई अनुमति दियो तब उनी फेरि उभिन सक्न भए। उभिन मात्र होइन ठमठमी हिँड्न पनि सके।

   अब उनले ह्वीलचेयरको सहयोग लिइरहनु परेन। उनी ह्वीलचेयर बिना नै खेलकूदमा भाग लिन थाले। उनको जीवन खुट्टा काटिनु अगाडिको जस्तै सामान्य अवस्थामा फर्कदै थियो। उनी हरेक दिन साइकलमा ३२ किलोमिटर यात्रा गर्थे। सप्ताहन्तमा पहाडहरूमा पैदल यात्रा गर्न जान्थे।

   सियामा सगरमाथा आरोहण गर्ने भूत फेरि सवार भयो। उनी विश्वको सर्वोच्च शिखरमा एकपटक पाइला राख्न चाहन्थे। भलौ उनका पाइला कृत्रिम हुन्। उनी सर्वोच्च शिखर चुम्न चाहन्थे। उनी यसकैको तयारीमा लागे। यो समय सन् १९९० को दसकको थियो।

   अचानक उनको स्वास्थ्यमा गडबड भयो। सुरुमा उनले त्यति ख्याल गरेका थिएनन्। जब समस्या अलिक बढ्यो तब उनी चिकित्सककहाँ पुगे। चिकित्सककहाँ पनि उनले पहिले आफ्नो स्वास्थ्यभन्दा पनि सगरमाथा आरोहण गर्ने इच्छा प्रकट गरे। परीक्षणपछि चिकित्सकले पहिले नरम भाषामा भने 'तिमी सगरमाथा आरोहण गर्ने सपनालाई त्यागिदेऊ।' सियाले आफ्नो ढिपी किन छोड्थे। उनले भने 'सगरमाथा आरोहण गर्नु मेरो जीवनको सपना हो। मैले अन्तिम साससम्म प्रयास गर्ने वाचा गरेको छु।'

   नरम बोल्दै गरेका चिकित्सकको मुखबाट कडा जवाफ निस्कियो। चिकित्सकले भने 'तिमीलाई लोम्फमा क्यान्सर भएको छ। तिमी सगरमाथा चढ्ने त होइन केही समयपछि उभिन पनि सक्दैनौ।'

   आफूलाई क्यान्सर भएको सङ्केत पाइसकेका थिए सियाले। धेरै चरणको परीक्षण हुँदा उनलाई थाहा थियो। चिकित्सकको भनाइपछि उनले पनि प्रतिवाद गरे 'मैले कहिल्यै हार मान्ने गरेको छैन।'

   नभन्दै सन् १९९६ मा उनले क्यान्सरलाई जिते। उनले क्यान्सर जित्न र सगरमाथा आरोहण गर्नका लागि आफ्नो घर र कार बेच्नु पर्‍यो। उनी आफ्नो सपना पूरा गर्नका लागि दिलोज्यान दिएर लागेका थिए। उनले अब दक्षिणी मोहोडाबाट सगरमाथा चढ्ने सोच बनाए। यस्तो सोच बनाउनुको पछाडि हिमाल आरोहणमा नेपाली शेर्पाको अनुभव र उनीहरुको सहयोगी बानी उनले राम्ररी थाहा पाएका थिए। त्यसकारण उनी दोस्रोपटक सगरमाथा आरोहण गर्नका लागि सन् २०१४ मा नेपाल पुगे। अनि शेर्पाका साथमा लागे सगरमाथा आरोहणमा।

                                       दूताबासको सम्मानपछि फोटो खिचाउँदै


   पहिलो प्रयासमा दुवै खुट्टा गुमाएका सियाका लागि क्यान्सर जित्नुभन्दा कठिन थियो सगरमाथा आरोहण। उनी आरोहणको क्रममा रहेको बेला खुम्बु आइसफलमा हिमपहिरो गयो र १६ जनाले ज्यान गुमाए। उनी आरोहण छोडेर फर्कन विवश भए। अर्को वर्ष उनी सरथमाथा आरोहणको निस्किए। यसपटक पनि उनको समय अनुकूल रहेन। नेपालमा गएको भूकम्पले उनको सपना भत्काइदियो। उनी थकथकाउँदै फर्किए।

   सन् २०१६ मा उनले चौथो प्रयास गरे। यसपटक उनी जसरी भए पनि शिखर चुम्ने ध्याउन्नमा थिए। उनको टिम सगरमाथा शिखरको १ सय मिटर नजिक पुगेको थियो। अभागीको खप्पर जता गयो त्यतै ठक्कर भने जस्तै भयो यो पटक पनि। अकस्मात हिउँको आँधी बेहेरी आयो। उनलाई आरोहणमा सहयोग गर्ने शेर्पाहरुले आरोहण रोकौँ भन्ने सुझाव दिए। उनका लागि जीवनभन्दा प्यारो थियो आरोहण। उनी कुनै हालतमा रोकिने पक्षमा थिएनन्।

   उक्त क्षणको स्मरण गर्दै सियाले भने 'यदि म एक्लै भएको भए कदापि रोकिन्न थिएँ। त्यो मेरो ४० वर्षदेखिको सपना साकार गराउने क्षण थियो। तर मैले पछाडि फर्केर हेर्दा, पाँच शेर्पाहरूको अनुहारमा देखेँ। तिनीहरूका परिवारहरू सम्झिएँ। म अगाडि बढ्दा उनीहरु पनि बढ्नुपर्थ्यो। मैले त ज्यान बाजीमा थापिसकेको थिएँ। मलाई कुनै प्रवाह थिएन। तर मसँगै रहेका ती पाँचजना शेर्पाको पनि ज्यान जान सक्थ्यो। उनीहरुको परिवारको बिल्लिबाठ हुन्थ्यो। त्यसैले मैले पछाडि फर्कने निर्णय गरेँ।'

   उनले सगरमाथासँग चारपटक हारिसकेका थिए। उनको इच्छा एकपटक सगरमाथाको शिखर चुम्ने थियो। सके जिउँदै फर्कन्छु नभए त्यहीँ प्राण जान्छ भन्ने सोचेका उनी पाँचौँ पटक सगरमाथा आरोहणको योजना बनाउँदै थिए। सन् २०१७ को अन्त्यमा आरोहणका क्रममा बढ्दो दुर्घटनालाई रोक्न नेपाल पर्यटन बोर्डले दुईवटै खुट्टा काटिएकाहरूलाई आरोहणमा प्रतिबन्ध लगाउने नीति ल्यायो।

                                          नेपालीहरुसँग कुरा गर्दै सिया पोयु


   नेपालले ल्याएको उक्त नीति सियाको सपना उडाउने भयङ्खर आँधी जस्तो भयो। त्यस्तै आँधीसँग सगरमाथाको आरोहणका क्रममा उनले बारम्बार झम्काभेट गरिसकेका थिए। संयोगवश नेपालको सर्वोच्च अदालतले उक्त प्रतिबन्धलाई उल्टाइदियो। त्यो बेला सिया यति खुशी भए कि उनी साँच्चै सगरमाथा आरोहण गरेजस्तै रमाए। तर आरोहणको काम त बाँकी नै थियो।

   सन् २०१८ मा सिया पाँचौँ पटक आत्मविश्वासको भारी बोकेर सगरमाथा आरोहणमा निस्किए। अविश्वसनीय परिश्रमपछि उनी अन्ततः ६९ वर्षको उमेरमा सगरमाथाको चुचुरोमा पुगे। त्यतिमात्र होइन उनले नै दुवै खुट्टा काटिएर पनि दक्षिणी मोहोडाबाट विश्वको सर्वोच्च शिखरमा पुग्ने पहिलो व्यक्तिको नाम गिनिजबुकमा लेखाए।

   त्यो क्षणलाई सम्झदै उनी भन्छन् 'आखिरमा, सगरमाथाले मलाई स्वीकार गरेरै छोड्यो। ४३ वर्षपछि म शिखरमा पुग्न सफल भएँ। यो नै मेरो जीवनको सबैभन्दा ठूलो सपना थियो जुन पूरा गरेँ।'

   दुवै खुट्टा गुमाएर पनि सगरमाथामै लम्किरहँदा धेरैले उनलाई पागल भनेका थिए। उनको चाहिँ ध्येय नै हिमाल आरोहण रहेको छ। सगरमाथापछि उनले माउन्ट एल्ब्रस पनि आरोहण गरिसकेका छन्। अब उनले विश्वका सातै महादेशका उच्च शिखर आरोहण गर्ने योजना बनाएका छन्।

   कुराकानीको अन्तिममा उनले भनेको घतलाग्दो कुरा उद्दरण गर्न मन लाग्यो। उनले यही कुरा पहिलेका अन्य अन्तर्वार्तामा पनि भनेका छन्। उनले भने 'सेवा निर्वृत्त भएपछि कोही बल्छी खेल्न खोलामा जान्छन्, कोही तास खेल्छन्, कोही केही पनि गर्दैनन्। म चाहिँ हिमाल आरोहण गर्छु।'

                  नेपाली दूताबासका सैनिक सहचारी मोहन क्षेत्री र स्तम्भकारको बीचमा सिया


साभारः नेपाल भ्युज अनलाइन।