गौतमबुद्ध विमानस्थलबाट अब कार्गो पनि पठाइने
2022-08-27 16:44:31cri
Share with:

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो पटक कार्गो (सामान) विदेश पठाउने तयारी गरेको छ। कुवेतको जजिरा एयरलाइन्सले गत जेठ २ गतेबाट व्यावसायिक उडान थालेको थियो। यहाँ कार्गो उडानका लागि आवश्यक पूर्वाधार तयार रहेपनि निर्यात कम्पनीले चासो नदिँदा ढिलाइ भएको थियो।

अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार शनिबार बिहान जजिरा एयरलाइन्सले दुई टन कार्गो लैजान लागेको छ। सामान निर्यातका लागि विमानस्थलमा भन्सार, सुरक्षा जाँच लगायत आवश्यक पूर्वाधार तयार गरिएको कान्तिपुर अनलाइनले लेखेको छ। काठमाडौंस्थित हिमालेक्स ट्रेडर्सले पहिलोपटक आफ्ना उत्पादन राइजिङस्टार कार्गो प्रालिमार्फत फ्रान्स निर्यात गर्न लागेको हो। हिमालेक्स ट्रेडर्सका सञ्चालक प्रदीप सापकोटाले यो ट्रान्जिट कार्गो भएको बताउनुभयो।

‘कुवेत हुँदै सामान फ्रान्सको लियोन विमानस्थल पुर्‍याइने छ,’ सापकोटाले भन्नुभयो, ‘भैरहवा विमानस्थलबाट पनि कार्गो पठाउन सम्भव छ भन्ने देखाउन काठमाडौंबाट सामान ल्याएर पठाएका हौं।’ यहाँबाट कार्गो उडान सुरु भएको खबरपछि अन्य कम्पनीले निर्यातका लागि चासो दिने भएकाले विमानस्थलको प्रवर्द्धनका लागि आफूले पहल गरेको उहाँले बताउनुभयो। उहाँका अनुसार पहिलो पटक ऊनबाट निर्मित विभिन्न हस्तकलाजन्य सामान पठाइन लागेको छ। ‘निर्यातकर्ताले भैरहवा विमानस्थल प्रयोग गरुन् भन्ने उद्देश्य हो,’ राइजिङस्टार कार्गोका व्यवस्थापक जीवन पन्तले भन्नुभयो, ‘भैरहवास्थित विमानस्थलको प्रवर्द्धनका लागि हामी यहाँ आएका हौं।’

अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक गोविन्दप्रसाद दाहालले कार्गोका लागि यसअघि तयारी अवस्थामा रहे पनि सामान पठाउने कम्पनी (सिपर) सम्पर्कमा नआएकाले ढिलाइ भएको बताउनुभयो। ‘जजिराले सुरुवातमै रुची देखाएको थियो,’ उहाँले भन्नुभयो, ‘तर, निर्यातकर्ता नआएपछि ढिलो भयो।’ उहाँका अनुसार विमानस्थल सञ्चालनसँगै कार्गो उडानका लागि आवश्यक भन्सार, प्रहरी, बैंक, पारबहन तथा गोदाम लगायतको व्यवस्थाका लागि कार्यालय स्थापना भइसकेका छन्। अहिले निर्यातकर्ता कम्पनी जोडिएपछि आयात/निर्यातले पूर्णता पाएको उहाँले बताउनुभयो।