सिन्धुपाल्चोकमा बाढी, हेलम्बुको फाँट ढुबानमा
2022-08-28 15:48:47cri
Share with:

शनिबारदेखि परिरहेको अविरल वर्षाले सिन्धुपाल्चोक जिल्लाको विभिन्न स्थानमा क्षति पुर्याएको छ। भारी वर्षाको कारण नदीले ठाउँ–ठाउँमा धार परिवर्तन गर्दा मेलम्चीमा नदी नियन्त्रण तथा क्षति न्यूनीकरणका लागि गरिएका प्रयास असफल भएको राष्ट्रिय समाचार समितिले लेखेको छ।

बाढीले मेलम्ची, हेलम्बु, पाँचपोखरीलगायतका गाउँ–गाउँका सडक अवरुद्ध भएका छन्। अहिले हेलम्बुको खेतका फाँटबाट नदी बगिरहेको छ भने ठाउँ–ठाउँमा सडकैसडक खोला बगिरहेको छ।

यसले गर्दा यातायातका साधन बाटोमै अलपत्र परेका छन् । नजिकिएको तीजका कारण माइत हिँडेका चेली र अन्य सर्वसाधारणका कारण भरिभराउ रहेका यातायातका साधन बीच बाटोमै रोकिँदा यात्रुलाई सकस भइरहेको छ। मेलम्चीको सिमखेत, हेलम्बुको विभिन्न स्थान, पाँचपाखेरीको राम्चे, भोताङ र गुन्सालगायतका बाटो अहिले अवरुद्ध भएका छन्।

 मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ सहित पाँचपोखरी थाङ्पाल, हेलम्बु, इन्द्रावती गाउँपालिकाका अध्यक्ष क्रमशः टासी लामा, निमा ग्याल्जेन शेर्पा र झम्क नेपालले संयुक्त रुपमा  पहिरो, खहरे खोला, नदीतटीय तथा जोखिमयुक्त स्थानमा नबस्न र सावधानी अपनाउन आग्रह गर्नुभएको छ।

गत वर्ष आएको बाढीका कारण हेलम्बु, मेलम्ची, इन्द्रावतीका केही भेग र पाँचपोखरी थाङ्पाल गाउँपालिकाकाको नदीतटीय क्षेत्रमा करोडौँको क्षति गरेको थियो। यसकारण पनि धेरै मानिस विगत दोहोरिएला भन्ने पिरलोमा देखिन्छन्।