चीनको पहिलो सामन्ती राज-वंश— छिन-2
2022-08-31 08:58:43cri
Share with:

चीनको एकीकरणका क्रममा छिंग राज-वंशको अर्को महत्वपूर्ण योगदान लिपीको एकीकरण हो। छिंग राज-वंशअघि हरेक राज्यका आ-आफ्नै लिपी थिए। ती लिपीको मूल रुप र लेख्ने तरीका उस्तै-उस्तै भए तापनि सँस्कृतिको प्रचार-प्रसार र आदान-प्रदानका लागि यो गतिरोध सावित भएको थियो। छिंग राज-वंशले चीनको एकीकरण गरेपछि छिंग राज-वंशमा उपयोगमा आइरहेको सानो खालको हान च अक्षरलाई राष्ट्रिय लिपीका रुपमा तोकिएको थियो। त्यसपछि चीनको हान च अक्षरको प्रगति नियमअनुसार हुनसकेको देखिन्छ। यो कुरा चिनियाँ इतिहासको स्थापना र सँस्कृतिको विकासका लागि ठूलो महत्वको रहेको छ। 

यसका अतिरिक्त, छिंग राज-वंशले राष्ट्रको नाप तौलको एकीकृत मापदण्ड तोकेको थियो। एकीकरणभन्दा अघि विभिन्न राज्यमा लागू रहेका नाप-तौलका एकाई फरक-फरक थिए, जसले गर्दा मुलुकको आर्थिक विकास गम्भीर रुपमा प्रभावित भएको थियो। यस कुरासित मेल खाने गरी छिंग राज-वंशका प्रथम सम्राटले मुद्रा र ऐन-कानूनमा पनि एकरुपता कायम गर्नुभयो। जसले गर्दा सिंगै राष्ट्रको आर्थिक विकासका लागि अवसर सिर्जना गरिएको मात्र नभई केन्द्रीय सरकारको स्थानलाई पनि बढी मजबूत पारिएको थियो।

वाक स्वतन्त्रताप्रतिको निरंकुशतालाई अझ मजबूत पार्नका लागि ईसा पूर्व 213 मा छिंग राज-वंशका प्रथम सम्राटले आफ्नो अधिकारको उपयोग गरी संकलन गरेका《छिंगको इतिहास》बाहेक अन्य राज्यका इतिहासका पुस्तकहरु र कन्फ्यूसियसका शास्त्रहरुलाई जलाउने आदेश दिनुभयो। र कुरा कहाँसम्म भने निजी रुपमा ती शास्त्रहरुको संकलन र प्रसार-प्रचारमा संलग्न व्यक्तिहरुलाई मार्ने आदेश पनि दिनुभयो। यसका साथै उत्तरी अल्पसंख्यक जातिको अतिक्रमणको प्रतिरोधका लागि प्रथम सम्राटले पहिले अन्य राज्यबाट निर्मित लामो पर्खालको मर्मत गरी पश्चिमी मरुभूमिदेखि पूर्वी समुद्रसम्मको पाँच हजार किलोमिटर लामो ग्रेट वालको निर्माण गर्ने आदेश दिनुभयो। प्रथम सम्राटले प्रशस्त जन-धनको उपयोग गरी लि शान् नामक समाधिस्थलको निर्माण गर्नलगाउनु भयो। त्यो नै हालको टेराकोटा सिपाही सहितको समाधिस्थल हो।
छिंग राज्यका प्रथम सम्राटले चीनको एकीकरण गरी चिनियाँ इतिहासमा लामो समयसम्म स-साना राज्यहरु विभाजित अवस्थामा रहेको परिस्थितिको अन्त्य गरी हान जाति प्रधान भएको बहु-जातीय शक्तिशाली सामन्ती साम्राज्यको स्थापना गर्नुभयो। त्यसबाट चिनियाँ इतिहासमा नयाँ अध्याय शुरु गर्‍यो।